सूचना तथा सञ्चार मन्त्रालयको प्रगति सन्तोषजनक

समताखबर
  १३ पुष २०७४, बिहीबार १०:३९

सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध निकायले चालू आवको पहिलो चौमासिक समीक्षा सन्तोषजनक प्रगति गरेका छन् ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको प्रगति विवरणअनुसार चालू, पूँजीगत खर्च र भौतिक प्रगतिमा सन्तोषजनक नतिजा देखिएको हो ।

सञ्चार मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी कसरी बढीभन्दा बढी उपलब्धि हासिल गर्ने भन्नेतर्फ सबै निकायको ध्यान जानुपर्ने खाँचो औँल्याए ।

सञ्चार मन्त्रालयको समग्र प्रगति प्रथम चौमासिक विनियोजनमा खर्च चालू ८४.२९ र पूँजीगततर्फ २९.३५ प्रतिशत प्रगति भएको छ ।

प्रथम चौमासिकको कूल वित्तीय प्रगति ८०.९३ र वार्षिक बजेट विनियोजनमा कूल वित्तीय प्रगति २७.११ प्रतिशत रहेको छ । अधिकांश निकायले ठूला परियोजना सञ्चालनका लागि पूँजीगततर्फ केही कम खर्च भएको मन्त्रालयले जनाएको छ ।

प्रथम चौमासिकको अवधिमा विनियोजित बजेटको प्रगति हेर्दा राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल नेपाल र रेडियो प्रचार सेवा विकास समितिले शतप्रतिशत प्रगति गरेका छन् ।

राष्ट्रिय सूचना आयोग, क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयले ८२ देखि ९७ प्रतिशत प्रगति गरेका छन् । सूचना विभाग, मुद्रण विभाग, हुलाक सेवा विभाग र गोश्वारा हुलाक कार्यालयले समग्रमा ६० प्रतिशत प्रगति गरेको पाइएको छ ।

नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरणले ठूला आयोजना सञ्चालनको प्रक्रियामा रहेकाले खर्च प्रगति देखिएको छैन ।
बैठकलाई सम्बोधन गर्दै सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सूचना र सञ्चारको विकास कसरी गर्ने भन्ने मन्त्रालय र सम्बद्ध निकायको मूल उद्देश्य रहेकाले चालू आवका योजना कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिए ।

उद्देश्य र लक्ष्यअनुरुप तय गरिएको बजेट कार्यक्रमलाई परिणाममुखी बनाई जनताको सेवामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्न आग्रह गरे ।

राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान र रेडियो नेपालबाट विद्युतीय अभिलेख तयार गर्ने कार्य भइरहेको, ब्रोडब्याण्ड नीति पारित भई गुरुयोजनाको मस्यौदा स्वीकृत भएको र चलचित्र नीति कार्ययोजना मस्यौदा स्वीकृत भएको र सूचना तथा सञ्चार प्रविधि नीतिको कार्ययोजना बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *