बोल्न डराउने विन्दुकुमारी चार ठाउँमा पदाधिकारी बनिन

समताखबर
  १४ पुष २०७४, शुक्रबार ०६:४८

बैजनाथ–८, बेलडाँडीकी विन्दुकुमारी सुनार ७ वर्षअघिसम्म बाहिरका व्यक्तिसँग बोल्न डराउनु हुन्थ्यो । घर परिवार भन्दा बाहिर निस्किनु भएको थिएन ।

गाउँमा चाँदनी दलित महिला समूह गठन भएपछि सुनार त्यसमा बस्नुभयो । पछि बेलडाँडीमै संघर्ष दलित महिला समूह गठन हुँदा सुनार अध्यक्ष हुनुहुभयो । समूहमा बसेपछि सुनारले विभिन्न तालिममा भाग लिनुभयो । अधिकारका सवालहरु पहिचान गर्नुभयो । विभिन्न समिति संरचनाहरुमा बसेर आफ्नो र समुदायको हक अधिकारका लागि लड्न सिक्नुभयो ।

सुनार यतिबेला संघर्ष दलित महिला समूहको अध्यक्षसँगै स्थानीय भगवती माविको विद्यालय व्यवस्थापन समितिको सदस्य, भगवती सामुदायिक वन उपभोक्ता समितिको सदस्य र त्रिपुरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । आठ कक्षा पढेकी सुनारले यतिबेला गाउँमा हुने छुवाछुत विभेद, घरेलु हिंसाहरु झैझगडाहरु मिलाउने काम गर्नुहुन्छ । ‘घर झगडाका धेरै घटनाहरु आउँछन्, हामीले मिलाएर पठाइदिन्छौं, सुनारले भन्नुभयो ।

बाहिर बोल्नै नसक्ने सुनारले यतिबेला गाउँपालिकामा ‘पर्पोजल’ हालेर विभिन्न तालिमहरु गरिरहनु भएको छ । दलित महिलाहरुलाई संगठित गरेर हक अधिकारका साथै सीपमूलक तथा आयआर्जनका गतिविधि गरिरहनु भएको छ । ‘धेरै ठाउँमा बसेको छु । घरको काम पनि मिलाउनु पर्छ, सुनारले भन्नुभयो । संघर्ष दलित महिला समूहमा ३० जना आवद्ध छन् ।

चाँदनी दलित महिला समूह, चौफेरीकी अध्यक्ष खिमसरा विकले समूहमा बसेपछि नेतृत्व विकास भएको बताउनुभयो । ‘बाहिर बोल्नै सक्दैनथे, अहिले बोल्न सक्ने भएको छु, अध्यक्ष विकले भन्नुभयो, अहिले वडा कार्यालयमा गएर आफ्नो समूहका लागि बजेट छुट्याउन माग गरेका छौं ।’ उहाँले स्थानीय निकायबाट पैसा ल्याएर मैनबत्ती, कडाई तालिम सञ्चालन गरेको बताउनुभयो ।

बैजनाथको पिपिरीमा रहेको लक्ष्मी दलित महिला समूह, खजुरा–५, उढरापुरको सगरमाथा दलित महिला समूहले पनि नियमित बचत गर्नेदेखि स्थानीय निकायमा बजेट मागेर सीप र आयआर्जनमूलक गतिविधि गर्न अघि सरेका छन् । तराईका दलित महिलाहरु सम्मिलित रहेको सगरमाथा दलित महिला समूहकी अध्यक्ष सरस्वती पासीले बालविवाह, नागरिकता, घरेलु हिंसाविरुद्धमा गतिविधि गरिरहेको बताउनुभयो ।

दलित महिलालाई यसरी अगाडि ल्याउन भने दलित महिला संघ (फेडो) ले मिहिनेत गरेको छ । पछिल्लो समयमा फेडोले यी चार समूहका दश÷दश जना महिलालाई बाख्रा प्रदान गरेको छ । फेडोकी अध्यक्ष निर्मला सुनारले नेतृत्व विकास, आर्थिक सशक्तिकरण, तालिम र राज्यका हरेक निकायमा समान सहभागिताका लागि गतिविधि गरिरहेको बताउनुभयो । फेडोले जिल्लाभरमा ५३ वटा यस्ता महिला समूह बनाएको छ । तीन वटा गाउँपालिका स्तरीय सञ्जाल बनाएको छ ।

सात जना जनप्रतिनिधि

समूहमा बसेर सशक्तिकरण र हक अधिकारका सवाल बुझेका महिलाहरु स्थानीय निकायको चुनावमा पनि अगाडि आएका छन् ।

बाँकेमा सात जना दलित महिला स्थानीय निकायमा जनप्रतिनिधि बनेका छन् । आठ जनाले चुनाव हारेका छन् । ‘हाम्रै समूहमा बसेर क्षमतावान बनेका सात जना महिलाले स्थानीय निकायमा चुनावमा जितेका छन्, फेडोकी अध्यक्ष सुनारले भन्नुभयो, आठ जना चुनाव लडेर पराजित भएका छन् ।’

आफ्नो हक अधिकारका लागि आफै अगाडि बढ्नु पर्छ भन्ने कुरा समूहमा बसेर महिलाले सिकेका छन् । लक्ष्मी दलित महिला समूहकी सदस्य कुश्मा सुनारले वडा सदस्य जित्न नसक्दा आफूले सोचेका कुरा पूरा गर्न नसकेको बताउनुभयो । ऐलानी जग्गामा बस्ने पिपिरीका दलितले भोगेका विविध समस्या समाधान गर्न कुश्मा राजनीतिमा अगाडि आउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *