ल्याण्डफिल साईडको डिपिआर सार्वजनिक

झलक पाली डोटी पुष १६

डोटीको पूरानो नगरपालीका दिपायल सिलगढी नगरपालीकाको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल साईडका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ । वि.सं. २०३९ सालमा स्थापना भएको नगरपालीकाको गत जेठ २०७४ देखि काम थालिएको डिपिआर आईतबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदन अनुसार १३ हजार क्युमेक फोहोर व्यवस्थापन गर्न मिल्ने र उक्त ल्याण्डफिल साईट निर्माणका लागि ८ करोड ५९ लाख ८८ हजार ३ सय बराबर लगानी आवश्यक पर्ने द नेस्ट कन्सल्ट्यान्सी काठमाण्डौका कन्सल्ट्यान्ट सन्तोष खनालद्वारा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ । नगरपालीकाको वडा नं. ५ मा रहेको परिभ्वाँ कोलगाडे सामुदायिक वन क्षेत्रमा ल्याण्डफिल साईड निर्माण गर्ने गरी डिपिआर तयार पारिएको हो ।

नगरपालीकाले केहि वर्ष यता ल्याण्डफिल साईड निर्माणका लागि तयारी थालेता पनि कहिल्यै स्थानीय बासिन्दाको अवरोध त कहिल्यै प्राविधिक एवं कानुनी प्रक्रिया पूरा नहुँदा कामले गति लिन सकेको छैन । डिपिआर प्रतिवेदन सार्वजनिक भईरहँदा पनि स्थानीयबासिन्दाहरुले असहमती जनाएका छन् ।

ल्याण्डफिल साईड बनाउनका लागि करीब तीन वर्ष पहिले नगरपालीका र स्थानीयबासीबिच भएको समझदारी अनुसार नगरपालीका अनुत्तरदायी भएकाले अब सो क्षेत्रमा ल्याण्डफिल साईट बनाउन नदिने सो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम भण्डारीले बताए । उनले भने –‘ डिपिआर तयार पार्दा पनि हामीलाई कुनै जानकारी दिईएन र पूर्ववत सहमती अनुसार नगरपालीकाले कुनै काम नगरेकाले अब स्थानीयबासीहरु यस कामको विपक्षमा छौं ।’
तर नगरपालीकाका निमित्त प्रशासकीय प्रमूख भोजराज शर्माले कानुनी रुपमा ल्याण्डफिल साईडको निर्माण प्रक्रिया धेरै अगाडी बढीसकेकाले स्थानीयबासीसँग सहयोगका लागि आग्रह गरे । उनले भने–‘डिपिआर तयार गरेपछि तपाईहरुसँग समन्वय गरेर राय सुझाव लिईरहेका छौं, यसपछि वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गरिन्छ र तपाईहरुका माग संवोधनका लागि नगरपालीका तयार छ । तर तपाईंहरुले ल्याण्डफिल साईट बनाउन सघाउनु पर्छ ।’

२०७२ चैत्र १३ मा स्थानीयबासी एवं सामुदायिक वनका उपभोक्ताहरु र नगरपालीकाबिच १३ बुँदे समझदारी भएको थियो । समुदायले राखेका शर्तहरुमा स्वास्थ्य क्लिनिक सञ्चालन, खानेपानी, विद्यालय व्यवस्थापन, वडाभित्र रहेका सडक सूचारु, स्थानीयलाई रोजगारी, ल्याण्डफिल साईट दुर्गन्ध रहित र तारबारको व्यवस्था, ल्याण्डफिल साईट व्यवस्थापनमा स्थानीयलाई अवसर, स्थानीयलाई आयआर्जनमूलक काममा सहभागिता गराउनुपर्ने, नगरपालीकालाई आवश्यक परेमा सँस्थाकै नाममा ल्याण्डफिल साईटको जग्गा खरिद गर्नुपर्ने र समयान्तर पछि ल्याण्डफिल साईट व्यवस्थापन गर्न अप्ठेरो भएमा स्थानीयको सल्लाह बमोजिम गरिनुपर्ने लगाएतका माग रहेको नगरपालीकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । तर यि कुनै पनि माग पूरा नगरेकाले स्थानीय बासिन्दाले विरोध गर्ने स्थानीय डम्बर भण्डारीले बताए ।

यदपी नगरपालीको सो वडाका अध्यक्ष मदन भण्डारीले बागठाँटा बजगाउँ क्षेत्रमा वडाबाट साढे ४ लाख लगानी भईसकेको र पुनः सडकका लागि नगरपालीकाबाट बजेट निकासाको तयारीमा रहेकाले स्थानीयबासीलाई बजेटमा विभेद नगरिएको बताए । साथै ल्याण्डफिल साईटको निर्माणका लागि आवश्यक सहयोग गर्न पनि उनले आग्रह गरे । यदी सो क्षेत्रमा ल्याण्डफिल साईड निर्माण गर्न नदिईएमा वडासभाबाट विकल्प समेत खोजिएकाले सोहि वडाको जाखले भन्ने क्षेत्रमा निर्माण प्रक्रिया अगाडी बढाईने भण्डारीले बताए ।

नगरपालीकाले भने डिपिआर सहित आवश्यक प्रक्रिया पूरा गरी बजेटका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा माग पेश गर्ने बताएको छ । यस अगावै बजेट माग भएकोमा मन्त्रालयले डिपिआर लगाएतका अन्य प्रक्रिया पूरा गर्न भन्दै गएको जेठ २१ गते नगरपालीकालाई पत्र पठाएको थियो ।

मन्त्रालयको आग्रह बमोजिम आवश्यक प्रक्रिया अगाडी बढाईएको र आफु हालसालै मात्रै निर्वाचित भएकाले स्थानीयका एकएक माग संवोधन गर्न आफु तयार रहेको नगर प्रमूख मञ्जु मलासीले प्रतिबद्धता जनाईन् । उनले भनिन्–‘विगतमा के भएको थियो हामीलाई जानकारी छैन, हामी निर्वाचित भईसकेपछि नगरपालीकाका हरेक वडामा १ करोड ८ लाखका दरले बजेट विनियोजन गरेका छौं । बाँकी नगरपालीका स्तरको बजेट पनि हामी त्यस क्षेत्रमा लगानी लगाउन तयार छौं ।’
यद्यपी स्थानीबासीहरुले भने कुनै हालतमा नगरपालीकालाई सो क्षेत्रमा ल्याण्डफिल साईड बनाउन नदिने अठोट गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *