सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजीबाट गरिने

भक्तपुर,पुस २९

सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ ।

शुक्रबार साँझ नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्रो नगरसभाले सो निर्णय गरेको हो । नगरसभापछि नगरप्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजी माध्यमबाट गर्ने गराउने निर्णय भएको बताए । ‘शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म अनिवार्यरुपमा अंग्रजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिने छ,’ उनले भने, ‘नगरपालिकाले आगामी शैक्षिक सत्र २०७८ सम्ममा कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउन शुरु गर्नेछ ।’

नगरसभाले भवन निर्माण मापदण्ड, सडकको क्षेत्राधिकारसहितको आधारभूत निर्माण मापदण्ड २०७२ र शहरी वातावरण व्यवस्थापन गर्न नगर प्रहरी सञ्चालन गर्ने निर्णय पनि गरेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जानकारी दिए ।

नगरपालिकाले उपप्रमुख जुना बस्नेतको संयोजकत्वमा विनय महत र राजु लोबन्जार रहेको न्यायिक समिति गठन गरेको छ । खेलकुदको विकास र विपद् व्यवस्थापन गर्न अनुदान तथा आर्थिक सहायता निर्देशिका पारित गरिएको छ ।
खबरडबलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *