स्वस्थ र तनावमुक्त जीवनका लागि योग, साधकहरू भन्छन्, ‘बुझेर गरौँ’

काठमाडौं,माघ १०

योग  व्यायाम भन्दा साधना हो भन्छन्, यसका साधकहरू। योगले शरीरका समस्त अंगप्रत्यंग र हरेक ग्रन्थीको व्यायाम हुन्छ अनि अंगप्रत्यंगले सही रूपमा काम गर्न थाल्छन्। नियमित रूपमा योगको साधना गर्नाले रोगसँग लड्ने शक्ति बढाउँछ। फलस्वरूप मानिस निरोगी बन्छ । योगको महत्त्वबारे डा.चिन्तामणि गौतमसँग कुराकानी गरी तयार पारिएको सामग्री–

के हो योग ?

सजिलो भाषामा भन्दा मनलाई शरीरसँग जोड्नु। मनलाई आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो। योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ। युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो। यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माका बीचमा संयोग स्थापित गर्नु नै योग हो। अंगप्रत्यंगको आसनभन्दा अघि बढेर आफ्नो चैतन्य खोज्नु हो। विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु आत्म साक्षात्कार गर्नु नै योग हो।

हामी सबै मनुष्य भित्र आत्मा छ। त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो। संसारमा ८४ लाख प्रकारका जीवन छन् जुन बेलामा आत्माहरूको सृष्टि भए। त्यसपछि ती आत्मालाई शरीरमा पुर्‌याइए। जब ती आत्मा शरीरमा गए, बन्धनमा भए। त्यसैले मान्छेको जीवन एक मात्र यस्तो माध्यम हो, जसमा ती सबै बन्धनलाई तोडेर आत्मालाई मोक्षतिर लैजान सकिन्छ। कर्मको विकारले आत्मा घेरिएको हुन्छ। यस्तो बेलामा विकारलाई हटाउने र आत्मालाई खुल्ला गराउने याेग मात्र साधन हो।

खुल्ला भएको आत्मा नै परमात्मासँग गएर मिल्छ। वास्तवमा जीवनको उद्देश्य नै यही हो। त्यसैले ८४ लाख मध्ये मानिसको जुनी एक उत्कृष्ट अवसर हो। त्यसकारण योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारहरूलाइ हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो।  त्यसैले योग भनेको जोडिनु हो। शरीर तन्दुरुस्त बनाउन र अनेक रोगब्याधिबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन्।

चिन्ता तथा मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेका छन्। योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोगब्याधिबाट त बच्न सकिने भयो।  योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण छ, योगको आध्यात्मिक पक्ष। प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रह्माण्डको समग्रता बुझ्नु र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय हो। हिन्दू धर्मग्रन्थमा योग तथा साधनाका अध्यायहरू प्रस्तुत गरिएका छन्।

हिमालय र त्यस भेगसँग जोडिएका क्षेत्रमा योगको प्रादुर्भाव भएको हो। योग हाम्रो जीवनशैलीको अंग बन्यो। ऋषिमुनि एवम् अनेक साधुहरूले समाजमा योगको महत्त्वलाई फैलाउन थाले। योगका प्रकार– उपनिवेशहरूमा हजारौं योग अभ्यास गरिएको छ। तर शारीरिक अभ्यासहरूमा हठयोग र अष्टा‌गयोग धेरै प्रचलित छ। जसमा आसन र प्राणायामहरूको धेरै व्याखा गरिएको छ। जसले शरिर र मनलाई शुद्ध बनाएर ध्यानतिर लैजाने काम गर्छ।

श्रीमद्भागवत गीतामामा भने १८ प्रकारको  योगको व्याख्या गरिएको छ। गीतामा १८ मध्ये प्रत्येक अध्याय एक–एक योगको नाममा समर्पण गरिएको छ। त्यसैले १८ वटा योग त गीताले मात्र उल्लेख गरेको छ। अहिले हजारौं उपनिषद् छ भन्ने गरिन्छ। २ सय १८ वटा उपनिषदमात्र लिखित प्रमाणमा छन्। ३२ वटा उपनिषदले योगको बारेमा व्याख्या गरेका छन्।  त्यसैले सामान्य मानिसले चिन्ने भनेको अष्टा‌ंग योग, ज्ञान योग,कर्म योग, भक्ति योग, सन्यास योग, कुण्डलिनी योग, कर्मसन्यास योग लागायतका योग छन्। तर हाम्रो समाजमा अहिले मानिसले चिन्ने योग भनेको आसन योग हो। तर यो वास्तवमा योग होइन।

अष्टांग योगमा आठ वटा अंग हुन्छन्। यम, (सामाजिक अनुसाशन) नियम (व्यक्तिगत अनुसाशन) आशन (शारीरिक अनुसाशन) प्राणायम ( प्राण शक्तिलाई नियन्त्रण गर्नु) अर्को हो प्रत्याहार जसले हाम्रो शरीरमा रहेका ज्ञानेन्द्रियहरूलाई  बाहिर जानबाट रोक्छ। जसले हाम्रो मनलाई भित्रै राख्न सकोस्। अर्को हो धारणा, ध्यान र समाधि यो अष्टांग योग हो। आधुनिक समाजमा चलेको योग भनेको बिहान बलुका घर वा योगशालामा गएर गरिने आसन नै योग हो। तर यो वास्तवमा योग होइन। के छन् त योगका फाइदा? धेरैजसो मानिसका लागि आज योग विद्या केवल केही आसनहरूको संग्रहमात्र हो, जसको माध्यमबाट हामी शरीर स्वास्थ्य बनाइराख्न चाहन्छौं।

ध्यानक्रियाहरूको मद्दतले हामी केही मानसिक विग्रहको उपचार पनि खोजी गर्छौं। त्यसैले योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ। तर सही तरिकाले नगरिएको योगले हामीलाई फाइदा भन्दा बेफाइदा गर्छ। तर उपयुक्त तरिकाले योग गर्न सकेका सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ। रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ।

बुढेसकालमा पनि जवान झै स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ।, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ। प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ। नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्ने (ब्याक पेन) को समस्या कम गर्छ।

महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेट भित्रको बच्चालाई समेत फाइदा हुन्छ। ३\४ वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ । कसरी गर्ने योग? ‍ सके सम्म विहानको समयमा योग गर्ने गर्नु पर्छ।  अझ घाम झुल्नु भन्दा अगाडिको एक घण्टा र घाम झुल्किएपछिको एक घण्टा पछाडी योगका लागि उत्तम समय हो।  यदि यो समयमा पनि योग गर्न सकिएन भने  घाम अस्ताउनुभन्दा आधा घण्टाअघि  र घाम अस्ताएको आधा घण्टापछि पनि उपयुक्त समय हो।

सकभर मध्य दिनमा योग गर्नु हुदैन। सिधै घाम पर्ने ठाउँमा पनि योग गर्नु हुदैन। खाना खाइसकेपछिको दुई देखि तीन घण्टासम्म पनि योग गर्नु हुँदैन। यो बिचमा गर्दा पाचन प्रक्रिया बिग्रिएर अरु समस्या आउन सक्छ। योग स्वच्छ वातावरण भएको ठाउँमा गर्नु पर्छ। भान्छाकोठा वा धेरै होहल्ला हुने ठाउँमा पनि योग गर्नु त्यति राम्रो मानिँदैन।

योगाभ्यास सकेसम्म नुहाएर गर्नु उत्तम हुन्छ। यो त योग गर्नु पुर्व ध्यान कुरा हो भने योग सुरु गर्दा सबै भन्दा पहिले ध्यानबाट सुरु गर्नु पर्छ। त्यसपछि शरीरलाई तताउने खालका अभ्यास गर्नु पर्छ। र विस्तारै अन्य अभ्यास गर्दै जानुपर्छ। योग गर्दा ध्यान दिनु पर्ने पक्ष– आजभोलि धेरैले रोग लागि सकेपछि मात्र योगाभ्यास गर्ने गरेको पाइन्छ। वास्तवमा योग भनेको रोग लाग्नुभन्दा नलाग्दै स्वस्थ अवस्था देखि नै सुरु गर्नु पर्छ। तर योग गर्दा ध्यान दिनुपर्ने केही कुरा छन्।  १० वर्षसम्मका बालबालिकालाई योगको आसन गराउँदा विशेष ध्यान दिनु पर्छ। यो उमेरका बालबालिकाको हड्डी एकदम नरम हुन्छन्। यस्तो बलामा योगका केही आसनहरूले हड्डी बाङ्गिने सम्भावना हुन्छ। त्यसैले पनि बालबालिकालाई योग गराउँदा ध्यान दिनु पर्छ।

महिलाहरूले  महिनावारी भएको बेलामा योग गर्दा विशेष ध्यान दिनु पर्छ। यस्तो बेलामा शरीरलाई झड्का दिने खालका अभ्यास, टाउको तल, खुट्टा माथि  गर्नुपर्ने खालका आसन गर्नु हुँदैन। तनावमा भएको बेलामा पनि योग गर्नु उपयुक्त हुँदैन। तर यस्तो बेलामा ध्यान गर्नु राम्रो हुन्छ। तर तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुखाउने,जस्ता समस्याहरू देखा पर्न सक्छ। यस्तै महिलाहरूले गर्भवती भएको बेलामा योग गर्दा विशेष ध्यान दिनुपर्छ।

गर्भ रहेको पहिलो तीन महिना र अन्तिमको तीन महिना विशेष ध्यान दिनु आवश्यक हुन्छ। गर्भवती महिलाले नाडीशोधन, चन्दभेदन, शितली प्राणायाम जस्ता अभ्यास गर्नु राम्रो हुन्छ। यसले नशाहरूलाई सफा गरी रक्तसञ्चार गर्ने,शरीरलाई हल्का र शान्त राख्न सहयोग गर्छ। गर्भवती महिलाले पेटलाई दबाब दिने खालका आसनहरू गर्नु हुँदैन। यसले बच्चालाई असर गर्ने सम्भावना हुन्छ।

उच्चरक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएकाहरूले पनि योग गर्दा ध्यान दिनु पर्छ। यस्ता मानिसहरूले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्ने खालका योग अभ्यासहरू गर्नु हुँदैन। जस्तै प्रेसर भएकाहरूले कपालभाँती गर्दा ध्यान दिनुपर्छ। यस्तै चक्रासन गर्दा ध्यान दिनुपर्छ। यसले मुटुमा अलि प्रेसर दिने हुँदा मुटुलाई असर गर्छ। खसोखासबाट

प्रकाशित १० माघ २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *