प्रौढ कक्षामा अक्षर चिनेपछि विद्यालय भर्ना भएकी नजबुल खान यतिबेला स्नातक पढ्दै छिन्

 राज सरगम,माघ १३

सत्र वर्षको उमेरमा नजबुल खानले चार कक्षामा नाम लेखाइन् । प्रौढ कक्षामा अक्षर चिनेपछि उनी विद्यालय भर्ना भएकी हुन् । यतिबेला उनी स्नातक पढ्दै छिन् ।

यतिबेलाकी महिला अधिकारकर्मी हुन् नजबुल खान । राष्ट्रिय अभियन्ताको रूपमा उनी सक्रिय छन् । मुस्लिम समुदायमा जन्मिएकी नजबुलको बाल्यकाल गरिबीमै बित्यो । पढ्ने लेख्ने उमेरमा उनी शिक्षाबाट बञ्चित भइन् । उदयपुर स्थायी घर भएकी नजबुल मुस्लिम भए पनि बुर्काको विरुद्ध उभिएकी छन् । बुर्का हटाउनुपर्छ भन्ने लडाइँमा छिन् । मधेसी मूलकी नजबुल नेपालकै पहिलो मुस्लिम समुदायकी ट्याम्पु चालक पनि हुन् ।

उनको बाल्यकाल दुखद् र संघर्षपूर्ण रह्यो । होचो कद र टिपटप लगाउन रुचाउने नजबुलको आवाज ६२÷६३ को आन्दोलनले खोसिदियो । अचेल उनी बोल्दा स्पष्ट बुझिन्न । धेरै खर्च गरिन् आवाज फर्काउन तर नियतिले उनलाई आवाज दिएन । संघर्षपूर्ण यात्रामा हिँडेकी नजबुल बाल्यकालमा कस्ता खेलमा रमाउँथिन होली ?

नजबुलिया खैं !
साथीहरू उनलाई खोज्दै आउथें । उनी भित्रबाट फुत्त निस्किएर साथीहरूसँगै बाख्रा खोल्थिन । जंगल जान्थिन् । त्यहाँ साथीसँगै मिलेर पुतली बनाएर खल्थिन् । पुतलीको लगनगाँठो बाँधेर माटोको भोज पातपातमा खान्थिन् । सबै साथीका बाख्रा मिलाएर तीस चालिस पुग्थे । तिनै बाख्रा र बोकाहरू बीच बिहे गराइदिने, मीत लगाइदिने गर्थिन्, नजबुल ।

कहिले ‘गिल्ली–डण्डा खेलिन् । दाइभाइसँग गिल्ली—डण्डा खेल्दा भने उनले पिटाइ खाइन् । हातबाट डण्डा खोसेर उनैलाई पिटे उनका दाजुले । कारण गिल्ली–डण्डा केटाहरूले मात्रै खोल्ने खेल भनिन्थ्यो । उनले गुच्चा खेलिन । त्यो पनि लुकीलुकी केटासाथीहरूसँग । तर जहाँ पनि उनैका दाजुभाइले उनलाई खेल्न दिएनन् । उनले खेलेको देख्यो कि उनलाई हप्काएर या पिटेर घर पठाइन्थ्यो ।

घर आउने बित्तिकै आमाले उनलाई काउली र खुर्सानीको ‘पौदा’मा पानी हाल्न लगाउँथिन् । कि भने उनलाई मसला पिस्न लगाइन्थ्यो । तराइतिर मसला खुर्सानी उसैपनि बढी रुचाइन्छ । पिसेजस्तो गर्थिन्, अदकल्चो हुन्थ्यो । नजबुल बालापनमा मसला पिसेको सम्झ्दै भन्छिन्, ‘कहिले मसिनो पिस्न सकिनँ, मसला ।’

बालसखीले पिटेको पल !
बालसखी माला चौधरीले उनलाई ‘भक्कु’ पिटेको याद छ । उदयपुरको त्रियुगा नदी । ‘फेमश’ नदी होे त्रियुगा । त्रियुगा नगरपालिका यही नदीको नामले राखिएको छ । उनी त्यो नदी किनारमा बाख्रा चराउन जान्थिन्, ‘सखी’हरूसँग । माला नामकी साथीसँग उनी खुब रमाउँथिन् । आत्मिय साथी थिइन उनी, नजबुलकी । उनीसँगै सोना, सावित्रीसँग बाख्रा चराउँदै नदी किनारमा रम्नु दैनिकजसो जान्थिन् ।

बर्खायाम थियो । नदीमा बाढी आएरहेको रहेछ । बाढीमा महिलाको लास बगेर आयो । नदीदेखि गाउँसम्म हल्ला चल्यो । सबैभन्दा पहिला बाख्रा गोठालाहरू पुगे । नजबुल पनि पुगिन् । नग्न लास देखेर उनका साथीहरू डराएछन् । लास हेर्न डराएर साथीहरू फर्किन हतारिए । तर नजबुलले भने त्यो नग्न लासलाई छोप्न अनेक पातहरू खोजिन् । ढाक्न थालिन् । उनको हिम्मत देखेर साथीहरू नै अचम्भित भए । पातले लास छोप्ने क्रममा नजबुलले लास समेत छोइन् ।

 साथीहरूले उनलाई छोडेर हिंडे । उनी धेरैबेरपछि फर्किदा साथीहरू रिसाएर बसेको रहेछन् । मालालगायत साथीहरूले मिलेर उनलाई बेस्सरी कुटेछन् । उनी त्यो पल याद गर्दै भन्छिन, ‘लास छोएर किन आइस भनेर कुटेका थिए ।’

सोल्टीको हेराइ
उनको बालापानमा उनलाई मायाले हेर्ने मान्छे पनि थियो । दश बर्षको उमेरमै । किशोर प्रवेशको क्रम सुरु हुँदा । उनलाई माया गरेर हेर्ने उनकै सोल्टी थियो । सोल्टी, आफ्नै भाउजुको भाइ । जो महिना, दुईमहिनामा लहानबाट उदयपुर हप्तादिन बस्न आउँथ्यो । सोल्टीले उनलाई मन पराएको त्यो बेला उनैले भेउ पाइनन् । आज बुझ्ने भएपछि त्यो पल सम्झेर पनि उनी मस्किन्छन् ।

सोल्टीको ‘मनखानी’ थियो । नजबुलको आँखामा एकोहोरो हेथ्र्यो । नजबुलको हरेक दैनिकी नियाल्थ्यो । नजबुलले कहिल्यै सोल्टीको हेराइलाई वास्ता गरिनन् । उनीहरू कहिलेकाँही सँगै खेल्थे । खेलमा प्रायः गिल्ली–डण्डा, गुच्चा हुन्थ्यो । सँगैको साथी सोल्टीलाई कहिले पनि प्रेम—प्रस्ताव हान्ने मौका दिइनन् । उनी मुसुमुसु हाँस्दै भन्छिन्, ‘प्रेम नचिन्ने उमेरमै प्रेम गथ्र्यो सोल्टीले ।’ नजबुल कुर्तासुरुवाल लाउँथिन । ‘चुनरी’ काँधमा हाल्थिन् । सोल्टीसँग बजार जान्थिन् । प्रायः उनीहरू खेल्दा पनि झगडा गर्थे ।

भाइको सर्ट
ठूली भाउजुको किराना पसल थियो । चकलटेको मोह उनका साथीहरूलाई पनि हुन्थ्यो । चकलेट चोरेर उनीहरू धानबारीतिर दगुर्थे । लुकीलुकी खान्थें । कहिलेकाही चकलेट हराउँथे । साथीसाथीमा आरोप–प्रत्यारोप लगाउँथे । आपसमा झगडा गर्थे ।

साथी सोनाको घरमा धान बढी हुन्थ्यो । धान चोरेर बेच्थे उनीहरू । त्यसबाट आएको पैसाले ‘मुरइ र जेरी’ किन्थे । चोर्नु र लुकाउनुसँगै नजबुलको बालापन बडो उपद्रमा बित्यो । गाउँमा सडक आयो । गाउँमा पहिलोपटक टेक्टर गुड्यो । टेक्टर हेर्ने रहरले बालसखीसहित उनीहरू त्यसतै कुदे । त्यसैदिन नजबुलले भाइको नयाँ सर्ट लगाएकी थिइन् । उनलाई भाइको सर्ट ‘फिटिङ’ भएको थियो । कसैलाई थाहै नदिइ भाइको सर्ट लगाएर खेल्न गएकी थिइन्, उनी ।

साथीहरूको लहलहैमा उनी टेक्टरमा झुन्डिन् । उट्पट्याङसँगै टेक्टरमा झुन्डिएको खुशीमा उनीहरू चिच्याए । अचानक नजबुलको हात फुत्कियो । उनी भुँइमा पछारिइन् । हात फ्याट्ट भाँचियो । भाइको नयाँ सर्ट छेडेर उनको कुहिनाको हड्डी बाहिरै निस्कियो । उनी रोइन् । साथीहरूले उनलाई घर लिएर गए । घरमा माया र हप्काइ दुबै पाइन् । उनी त्यो क्षण सम्झिन्छिन्, ‘बाले मलाई अञ्चल अस्पताल गाइघाट लिएर जानुभयो ।’
मसलापानी
तराईतिर अझै पनि धेरै गाउँघरमा चर्पी हुँदैन । झन नजबुलको बालापनमा त वन तथा बुट्यान नै चर्पी थियो । थप अप्ठ्यारो थियो छोरीचेलीलाई ट््वाइलेट जान । महिला बिहानै भालेको डाँकोसँगै चर्पी बस्न जान्थे । नजबुलको गाउँको अवस्था पनि यस्तै थियो । ‘ग्रुप ट्वाइलेट’ जाने बानी बसिसकेको थियो, नजबुलको पनि । रमाइलो त नयाँ दुलही भित्रिँदा हुन्थ्यो । नजबुलका माइला दाइले भाउजु ल्याए । नयाँ भाउजुलाई गाइड गर्दै नजबुल ट्वाइलेट गइन् । कति त नयाँ दुलहीसँग ट्वाइलेट जान हानथाप नै गर्थे । नजबुल लजाउँदै भन्छिन, ‘साह्रै उट्पट्याङ गरेँ नयाँ भाउजुसँग ।’

नयाँ भाउजु भित्रिँदाका दिनमा खोलो पनि सुक्ने सिजन थियो । तर ट्वाइलेट तिनै खोलाका बुट्यानमा छेलिएर गर्थे । प्रायः घर फर्किएर लुकेर दिशा धुने चलन थियो । त्यसदिन नयाँ भाउजुसँगै फर्किइन् । भाउजुले पानी मागिन् । उनले भाडाको पानी दिइन् । पानी दिएको केहीछिनमै घरभरि हल्ला चल्यो, ‘नयाँ दुलहीलाई पोल्यो ।’

नयाँ भाउजुले दाइलाई, दाइले आमालाई, आमाले सोधपुछ गरिन् सबैलाई । अन्तिममा कुरो नजबुलमा पुगेर रोकियो । भाँडाको पानीमा मसला खुर्सानी पिसेको झोल मिसिएको थियो । नजबुलले त्यही पानी भाउजुलाई दिएकी थिइन् । जानीजानी दिएको पानीले पछि उनैलाई पोल्यो । आमा रिसाएर उनलाई भक्कु कुटिछन् । नजबुल आफ्नै बालापनको बदमासी सम्झँदै भन्छिन्, ‘मसला पानी दिएर नयाँ भाउजुलाई बेस्सरी रुवाएँ ।’ जनतापोष्टबाट

प्रकाशित १३ माघ २०७४, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *