
केआई सिंह गाउँपालिका ४ कारीगाउँकी २२ बर्षिय मिना कार्की छोटो समयमा जिल्लामै सफल महिला कृषकको रुपमा चिनिदै आएकी छन् । सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रमको सहयोगमा गतबर्ष देखि ब्यवसायीक रुपमा बेमौसमी तरकारी खेती सुरु गरेकी उनले अहिले तरकारी बिक्रि गरेर मनग्गे आम्दानी गरेकी छन् ।
तीन रोपनी भाडाको जग्गामा तरकारी खेती थालेकी उनले अहिले एक बर्ष यता गाउँमै बसेर तरकारी खेतीबाट एकै मौसममा २० हजार रुपैयाँ आम्दानी गरेकी छन् । मिनाका श्रीमान गणेश कार्कीले तरकारी खेतीमा सघाउदै आएका छन् । गणेशले ०६९ सालदेखि थोरै जग्गामा तरकारी लगाउदै आएका थिए । अहिले तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि ब्यवसायीक रुपमा तरकारी खेती थालेको मिना बताउछिन् ।
थोरै जग्गामा फलाएको तरकारी नजिकैको वायल बजारमा धमाधम बिक्रि हुन थालेपछि गत बर्षदेखी तीन रोपनी जग्गा भाडामा लिएर मिनाले तरकारी खेती सुरु गरेकी हुन् । अहिले उनको बारीमा काउली,बन्दा र मुला प्रसस्त फलेका छन् । टमाटर लटरम्म फलेको देख्न सकिन्छ । बारीमा प्याज,धनिया र लसुन पनि लगाइएको छ । भाजी,मेथी,पालुङो र चम्सुरका हरियो सागहरु प्रसस्त फलेका छन् ।
०६८ सालमा मिनाको गणेश कार्कीसंग १७ बर्षको उमेरमा विवाह भएको थियो । बिवाहपछि गणेश बिवाह गर्दा लागेको ऋण तिर्न भनी रोजगारीका लागि भारतको पंजाब गएका थिए । पंजाबमा राम्रो काम नपाएर एक बर्षपछि घर फर्किएका गणेशले सुरुका दिनमा घर अघिल्तिरको थोरै जग्गामा २५ रुपैयाँको काउलीको बेर्ना किनेर लगाएको मिनाले बताईन् । बिवाहपछि “हाम्रो आर्थिक अबस्था साह्ै कमजोर थियो,खेती लाउने जग्गा थिएन । जिवन गुजारा चलाउन मुस्किल परेपछि श्रीमान रोजगारीका लागि ईन्डीया जानु परेको मिनाले आफ्नो बिगतका दिन कोट्याईन् ।
पंजाबको लुधियानामा ३२ बर्षदेखी चौकीदारी गर्दै आएका ससुराले तैले गर्न सक्ने यहाँ काम पाउन गारो छ, तैले भने जस्तो काम गर्न सक्दैनै भनेर घर फर्काइ दिएपछि थोरै जग्गामा तरकारी लगाउन सुरु गरेको उनले बताईन् । गाउँमा बेरोजगार भएर बस्नुभन्दा खेर गएको जमिनमा तरकारी उत्पादन गर्ने हामी श्रीमान श्रीमतीबीचको सल्लाह अनुसार गाउँबाटै २५ रुपैयाँको काउलीको बेर्ना किनेर लगायौं मेहनत गरेर काउली राम्रो फलायौं र वायल बजारमा १७ सय रुपैयाँको बिक्रि ग¥यौ । मिनाले सुरुवाती दिनको अनुभव सुनाईन् ।
भर्खरै सडक पुगेपछि वायल बजार बनेको थियो त्यतिवेला गाउँमा कसैलेनी तरकारी लगाउदैनथे आफुहरुलेनै पहिलो पटक तरकारी लगाउन सुरु गरेको गणेश बताउँछन् । मिनाका श्रीमान भारतबाट फर्किएपछि गाउँघरमा उनले काठको काम शुरु गरेका थिए । आफु काठको काममा ब्यस्त रहेपछि उनले मिनालाई कृषक समुहमा आवद्ध हुन प्रेरीत गरेका थिए । कृषक समुहमा आवद्ध भई स्थानीय अधिकार कार्यक्रम अन्र्तगत सुरु गरिएको एकघर एक करेशाबारी अभियानमा संलग्न मिनाले ब्यवसायीक तरकारी खेती सुरु गरेकी हुन् ।
गाउँ नजिकैको श्री झिमेमालिका उच्च मा.बि.बाट आठ बर्षअघि आईएडसम्मको अध्ययन पुरा गरेर बेरोजगार बनेका गणेश तरकारी खेती गरेर गाउँमै स्वरोजगार बनेका छन् । घरमै बसेर कमाई गर्दा आफै दंग परेका छन् । तरकारी खेती गरेको एक बर्षमै घरमै बसेर कमाईयो,उनले भने,नसोचेको सफलता पाईयो । माटोमा नंग्रा खियाउन सके बारीमै पैसा फलाउन सकिने उनले बताए । यो मौसममा उनको खेतैभरी टमाटर,काउली,बन्दा,प्याज,मुला,भाजी लगाएतका तरकारी प्रसस्त फलेको छ ।
थोरै जग्गामा लगाएको तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले तीन रोपनीमा लगाएका छन् । कार्तिकमा लगाएको तरकारी मंसिरको दोश्रोसातादेखी फल्न शुरु भएको हो । अहिले सम्म मंसिर महिनायता मात्र ३ हजारको टमाटर बिक्रि गरी सकेको उनले जानकारी दिए । फागुन महिनासम्म फलीरहने भएकाले यो मौसममा ३० हजारसम्म आम्दानी हुने अनुमान उनको छ ।
धेरै टिप्न बाकी छ ५ हजार पुग्छ होला उनले भने,गत बर्ष १० हजार नाघेको थियो । गत बर्षको तुलनामा यस बर्ष तरकारीको मुल्य समेत दोब्बर बृद्धि भएको छ । उत्पादन र मुल्य दुबै बढेकाले आम्दानी बढ्ने उनले दाबी गरे । गत बर्ष प्रति किलो ३० मा बेच्ने गरेको फुल काउलीको मुल्य अहिले ४० देखी ५० रुपैयामा बिक्रि भएको उनले सुनाए । थोरै लगानी र श्रममै धेरै आम्दानी हुने भएकाले पनि यो खेतीतर्फ आकर्षित भएको समेत मिनाले बताईन् ।
उनले बाह्रै महिना तरकारी खेती गर्छन् । पहिला स्थानीय अधिकार कार्यक्रमले एक घर एक करेसाशारी अभियान सुरु गरेर तरकारीका बिउ,बिजन र तरकारी खेती तालिम उपलब्ध गराएको थियो अहिले द महिला नेटवर्क परियोजनाले तरकारी खेती गर्न सहयोग गरेपछि सफल तरकारी उत्पादन गर्ने किसान बनाएको मिनाले बताईन् । अहिले मासिक ७ देखी ८ हजारको हाराहारीमा आम्दानी हुने मिनाका श्रीमान गणेशले बताए । आम्दानीबाट छोरीलाई वायलस्थित वायल पब्लिक एकेडेमीमा नर्सरीमा पढाएर बचत समेत गरेका छन् ।
एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपालद्धारा २०१७ जुलाई १ देखी केआईसिंह गाउँपालिका ४ दुर्गामाडौंमा द महिला नेटवर्क परियोजना पनि संचालन हुदै आएको छ । सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत कारीगाउँमा गठन गरिएको लालीगुराँस रिफ्लेक्ट सर्कल र हरियाली कृषक समुहमा आवद्ध मिना कार्की अहिले द महिला नेटवर्क परयोजनाले गठन गरेको प्रगती महिला समूहमा आबद्ध छिन् । समूहमा १७ जना दलित महिला र १७ जना अन्य महिला आबद्ध छन् ।
मिना र गणेश दुबै जनाले स्थानिय अधिकार कायर्यक्रमबाट दुईपटक सिलगढीमा एक पटक गाउँमै तरकारी खेती तालिम प्राप्त गरेका छन् । मिनाका श्रीमान गणेश गत बर्ष भदौ महिनामा कृषक समूहको सम्मेलनमा नेपालगंजमा सहभागी भएका थिए ।
एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्र्तगत एकघर एक करेशावारी अभियान संचालन गरि तरकारी खेती तालिम,उन्नत जातका तरकारीका बिउहरु र प्लाष्टिक पोखरी,प्लाष्टिक टर्णेल सहयोग गरिएको स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम प्रबन्धक महेश परियारले बताए । परियारले स्थानीय अधिकार कार्यक्रम र द महिला नेटवर्क परियोजना संयुक्त रुपमा हेर्दै आएका छन् ।
Leave a Reply