पानी पारीदिन भन्दै भगवतीको पूजा !

समताखबर
  २३ पुष २०७४, आईतवार ०४:३२

लामो समयदेखि पानी नपरेपछि डोटीको जोरायल गाउँपालीका ४ बाँजिलेकका बासिन्दाले पानी पारिदिन भन्दै भगवतीको पूजा गरेका छन् ।
वर्षा नहुँदा मुहान सुकेर खानेपानी अभाव हुनुका साथै लगाएको बालीनाली समेत सुक्न थालेपछि परम्परागत विश्वास अनुसार बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरेका हुन् ।

करिब ६५ घरधुरी रहेको उक्त गाउँ भौगोलिक रुपमा डाँडाको बस्ति हो । उक्त गाउँमा खानेपानीको योजना रहेता पनि खडेरीका कारण मुहान सुक्दै गएपछि खानेपानी नै अपुग हुन थालेको र गाउँबाट करिब १ घण्टा तलबाट पानी बोकेर खानुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा एवं शिक्षक भोजबहादुर थापाले बताए ।

उनले भने–‘गाउँ समाजको कुरा हो, वर्षा रोकिएको लामो समय भयो, गाउँमा खानेपानी र खेतीपातीका लागि समस्या देखियो । परम्परागत विश्वास अनुसार गाउँमा सबैले भगवतीको पूजा गर्ने सल्लाह भएर पञ्चमीको तिथिमा पूजा गरिएको हो ।’ पहिलेका दिनहरुमा भगवती पूजामा बाख्राका पाठी र कुखुराका चल्लाले पूजा गरिंदै आएकोमा आजकाल भने बोका काटेरै पूजा गर्न थालिएको थापाले बताए ।

विगतका वर्षहरुमा पनि सुख्खा मौसममा भगवती पूजा गर्ने गरिएको र पूजा गरिरहेकै बेलामा पानी पर्ने गरेकाले स्थानीयमा विश्वास कायम रहि आएको बुढापाकाहरुको भनाई छ । पानी नपरेका कारण अहिले मूख्य गरेर गहुँ बाली र त्यसका साथै अन्य सबै बालीनालीमासमस्या भईरहेको तथा अब फलफूलको फुल्ने बेला भएकाले फलफुलका लागि पनि सिंचाईं समस्या देखिने जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले बताए ।

उनले भने–‘गहुँबाली र अन्य बालीनालीमा हालसम्म शित र पूरानो चिस्यानले काम गरेको थियो, अब तत्काल पानी परेन भने झनै समस्या हुने देखिन्छ । जिल्लाका बेशी क्षेत्रभन्दा माथिल्लो भेगमा बढी समस्या हुन्छ ।’ यस वर्ष मनसुनी वर्षा सकिएपश्चात गत कार्तिक पहिलो साता परेको हल्का पानीले केहि राहत भएता पनि त्यस यता पानी परेको छैन । वर्षा नभएर खडेरी पर्दा विभिन्न क्षेत्रमा महादेव र भगवतीको पूजा गर्ने गरिएको यो नौलो खबर भने होईन ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *