जल तथा मौसम विज्ञान विभागद्वारा वातावरणमैत्री भवन बनाउँदै

समताखबर
  ९ माघ २०७४, मंगलवार ०८:१९

९ माघ,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गर्ने भएको छ ।

विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने बताएको छ ।

मौसमी सूचना प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन अत्याधुनिक भवन चार रोपनी क्षेत्रफलमा निर्माण भइरहेको भवनमा बढी भन्दा बढी सौर्य ऊर्जा प्रयोग गरिने बताइएको छ ।

एयर टनेलिङको व्यवस्था गरिने हुँदा भवनको प्रत्येक कोठाको तापक्रम एउटै हुने बताइएको छ ।

सामान्यतः वायुमण्डलमा तापक्रमको घटबढ असाध्यै धेरै हुन्छ । जमिनको पाँच–दश मिटर तलतिर जाँदा तापक्रमको भेरिएसन बिहान, दिउँसो र राति त्यति धेरै हुँदैन ।

यहाँको हावा धेरै तातो पनि नहुने, धेरै चिसो पनि नहुने हुँदा हावा माथि पठाउँदा कोठाको तापक्रम बाहिरको जस्तो नभएर चिसोमा तातो र तातोमा चिसो हुन्छ । यसले एयर कण्डिसन (एसी) लगाउन नपर्ने हुँदा ऊर्जा बचत हुने भएकाले वातावरणमैत्री भनिएको हो ।

भवनमा सूचना प्रवाह गर्न अत्याधुनिक मौसमी टिभी स्टुडियो, मौसमी उपकरण गुणस्तर मापनको प्रयोगशालालगायत थुप्रै प्रयोगशालाहरु रहनेछ ।

विभागका अनुसार हाल भवनको करिब ४० प्रतिशत काम सकिएको दशतले र पाँचतले दुई भवनमध्ये पाँचतले भवन ढलान भइसकेको र एक वर्षअघि शुरु भएको भवन निर्माण अबको करिब एक वर्षभित्रै सकिने बताइएको छ ।

नेपाली ठेकेदार कम्पनीबाटै निर्माण भइरहेको भवनको कूल लागत मूल्यअभिवृद्धि करसहित ३८ करोड रहेको छ ।

भवन निर्माणपछि कामपा–१ नागपोखरीको केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखालाई बबरमहलमै सारेपछि मौसमी गतिविधिसम्बन्धी सबै काम यहीबाटै हनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *