
प्रेस सेन्टर नेपालले बितेका वरिष्ठ पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । शुक्रबार बसेको सेन्टरको सचिवालय बैठकले ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको हो ।
सेन्टरले उक्त पुरस्कार संगठनको १४ औं स्थापना दिवसको अवसरमा एकजना वरिष्ठ पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले माघ १५ गते तीन कुनेस्थित सिद्धार्थ कटेजमा अन्य संगठनहरुसँग एकता तथा जलपान समारोह गरेर स्थापना दिवस मनाउने निर्णय गरेको बैठकपछि सेन्टरका महासचिव विष्णु सापकोटाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
१० हजार राशी रहेको पुरस्कार छनौटका लागि सेन्टरका उपाध्यक्ष बलराम थापाको संयोजकत्वमा कमल गीरि, मनोज घर्तीमगर, मनिषा श्रेष्ठ र बबिता पौडेल सदस्य रहेका ५ सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार शक्ति लम्सालको ७९ वर्षको उमेरमा २५ कात्तिक २०७२ मा निधन भएको थियो । त्यस्तै, वरिष्ठ पत्रकार तारा न्यौपानेको ५६ वर्षको उमेरमा २६ पुस २०६८ मा निधन भएको थियो । उनीहरुले आफ्नो जीवनको अन्तिम क्षणसम्म जनपक्षीय पत्रकारितामा योगदान दिएका थिए ।
स्थापना दिवस भव्य रुपमा मनाउने
सेन्टरले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । स्थापना दिवसकै दिन नेपाल प्रेस सोसाईटीलगायतका संगठनहरुसँग संगठनात्मक एकता घोषणा गर्ने निर्णय गरिएको महासचिव सापकोटाले जानकारी दिए ।
‘प्रेस सेन्टर नेपाल, नेपाल प्रेस सोसाईटीलगायतका संगठनहरुबीचको संगठनात्मक एकता प्रक्रियालाई पूर्णता दिन संगठनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एकता घोषणा गर्ने निर्णय गरियो’, विज्ञप्तीमा भनिएको छ ।
सापकोटाले काठमाडौंमा केन्द्रिकृत रुपमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा १५ गते विहान ८ बजे तीनकुनेस्थित सिद्धार्थ कटेजमा कार्यक्रम गरिने जानकारी दिए । सोही अवसरमा सेन्टरको महिला विभागले भेला प्रशिक्षण तथा सम्मान कार्यक्रम राखेको छ ।
सेन्टरले जिल्ला तथा स्थानीय तहमा रहेका संगठनहरुलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउन निर्देशन समेत दिएको छ ।
Leave a Reply