अब क्यान्सरको उपचार गर्न विदेश जानु पर्दैन

काठमाडौं,माघ १९

नेपालमा क्यान्सर रोग उपचारको लागि सरकारी तथा निजी स्तरमा थुप्रै अस्पताल खुलेका छन् । अत्याधुनिक मेशिनसहित खुलेका यस्ता अस्पतालले केही वर्ष अघिसम्म क्यान्सर उपचारको लागि विदेश धाउनुपर्ने बाध्यता हटाएका छन् ।

देशको जेठो अस्पतालका रुपमा रहेको वीर अस्पताल, भक्तपुर अस्पताल, भरतपुर स्थित क्यान्सर अस्पताल, पोखराको मणिपाल अस्पतालमा क्यान्सर उपचारमा आवश्यक रेडियोलोजी सहितको सेवा उपलब्ध छ भने भर्खरै भक्तपुरमा खुलेको काठमाडौं क्यान्सर अस्पतालमा पनि क्यान्सर सम्बन्धी सबै परीक्षण र उपचार हुँदै आएको छ ।

क्यान्सर उपचारको क्षेत्रमा नविन प्रविधिहरू भित्रि रहेका छन् । अत्याधुनिक उपकरण सहितको उपचार सेवा दिन नेपालमा निजी स्तरमा खोलिएका अस्पतालहरू सक्षम भइसकेका छन् । केहीबर्ष अघिसम्म डरलाग्दो रोगको रुपमा लिइने क्यान्सर अहिले सर्वसुलभ उपचारका कारण निको हुने रोगका रुपमा जनविश्वास पलाएको छ ।  त्रिवि टिचिङ अस्पतालमा क्यान्सर रोगको उपचार हुन थालेको धेरै बर्ष भइसक्यो । बानेश्वर स्थित निजामती अस्पतालमा पनि क्यान्सरको उपचार शुरु भएको छ । निजामती अस्पतालमै पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेर रक्त क्यान्सरको सफल उपचार भइसकेको छ ।

१० वर्षमा दुई हजार अल्ट्रासाउण्ड भित्रिए

पहिल्लो १० बर्षयता नेपालमा दुई हजारभन्दा बढी अल्ट्रासाउण्ड मेशिन भित्रिएको तथ्यांक छ । क्यान्सर लगायतका रोग पहिचानका लागि आवश्यक पर्ने सिटी स्क्यान मेशिन पनि देशका प्रमुख शहरमा स्थापना भइसकेका छन् ।

ललितपुर, विराटनगर, पोखरा, भरतपुर र भक्तपुर लगायतका शहरमा क्यान्सरको उपचार गर्ने विशेषज्ञ अस्पताल खोलिनु राम्रो संकेत हो ।  सुर्या डायग्नोष्टिकले पेट स्क्यान मेशिनमार्फत उपचार थालेको छ । तर, फ्लुडिअक्सीग्लुकोज औषधि भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । एक बिरामीलाई पाँच एमएल चाहिने यो औषधिको हाफ लाइफ दुई घण्टासम्म मात्रै हुन्छ ।

औषधि बनेको दुई घण्टा भित्र बिरामीलाई दिन नसके त्यसको डोज बढाउनुपर्छ र जसले उपचार खर्च बढी पर्न जान्छ । भारतबाट औषधि ल्याउँदा निकै महंगो हुने भएका कारण बिरामीहरू उपचारका लागि भारत जाने गरेका हुन् । क्यान्सरका बिरामीहरू भारतमा उपचारका लागि जाँदा बार्षिक पाँच अर्ब बाहिरिने चिकित्सकहरूको अनुमान छ । फ्लुडिअक्सीग्लुकोज उत्पादन गर्ने मेशिनको मूल्य तीन अर्ब पर्छ ।

क्यान्सर रोगको उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष ०७३-०७४ मावीर अस्पताल मार्फत रोग पहिचानका लागि निःशुल्क स्वास्थ्य जाँच गर्ने स्क्रिनिङ सेवा घोषणा गरेको थियो । सर्वसाधारण नागरिकमा यो जानकारी पुग्न नसक्दा सरकारले छुट्याएको ३० लाख फिर्ता भएको थियो ।  विश्व स्वास्थ्य संगठनसँग मिलेर इलाम र कैलालीमा स्क्रिनिङ सेवा शुरु गरेको र अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने तयारी रहेको प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले जनाएको छ ।

निजीस्तरमा विशेषज्ञ अस्पताल

एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा क्यान्सर उपचारका लागि छुट्टै विशेषज्ञ अस्पताल सञ्चाल नगर्ने भएको छ । करिब दुई अर्ब लगानी गरी तीन बर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने अस्पतालका कार्यकारी अध्यक्ष भक्तमान श्रेष्ठले जानकारी दिए । भरतपुरको गोन्दाङ राजमार्गबाट एक किलोमिटर दक्षिणतर्फ ९ बिघा ६ कठ्ठा जमीनमा अस्पताल निर्माण हुँदैछ ।

नारायणी सामुदायिक अस्पतालमा एकसय ८० लगानीकर्ता छन् भने एनपिआई समूह भित्र करिब सात सय लगानीकर्ता रहेको अध्यक्ष श्रेष्ठले बताए ।  अस्पताललाई प्राइभेट लिमिटेडका रुपमा विकास गर्न लागेको र सर्वसाधारणको लागि समेत शेयर दिने अध्यक्ष श्रेष्ठको भनाइ छ । क्यान्सर भए, नभएको पत्तालगाउने पेटस्क्यान मेशिन, रेडियोथेरापीको अत्याधुनिक मेशिन आइजिआरडी, टाउकोको रेडियोथेरापी गर्ने गाफानाइफ, क्यान्सरको जेनेटिक थेरापी सहित अत्याधुनिक उपकरण र शल्यक्रिया कक्ष हुने अध्यक्ष श्रेष्ठले बताए ।

उपचारमा लगानी गर्न सरकार उदाशिन

निजी क्षेत्रबाट क्यान्सर उपचारमा ठूलो लगानी भएपनि सरकारको कदम भने निराशाजनक देखिन्छ । नेपालका दुई ठूला क्यान्सर अस्पताल भक्तपुर र भरतपुरमा भएका मेशिनहरू बिग्रिएका छन् । क्यान्सर उपचारको लागि नभइनहुने लिन्याकमेशिन भरतपुर क्यान्सर अस्पतालमा किनेको १५ बर्ष भइसकेको छ । त्यसपछि क्यान्सर उपचारको लागि सरकारले अस्पतालमा खासै लगानी गरेको छैन ।

लगानी बढाउने तयारीमा स्टार काठमाडौं क्यान्सर सेन्टर

स्टार अस्पताल र काठमाडौं क्यान्सर सेन्टर, भक्तपुरबीच सहकार्य गरी स्टार काठमाडौं क्यान्सर सेन्टर खुलेको छ । क्यान्सरका बिरामीको ओपिडी, भर्ना, शल्यक्रिया सहितका उपचार स्टार अस्पतालले दिने र किमोथेरापी, रेडियसन लगायतका सेवा काठमाडौं क्यान्सर सेन्टरले दिने व्यवस्था मिलाइएको छ । स्टार अस्पतालमा थप लगानी बढाउँदै जाने अस्पतालका अध्यक्ष बसन्त मरहठ्ठाले जानकारी दिए ।

बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

बीपीकोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रखर परोपकार मिशन नेपाल र नेपाल सरकार स्वास्थ्यमन्त्रालयबीचभएको त्रिपक्षीय सम्झौताको आधारमा बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्थापना भएको छ ।  यसमा स्याटेलाइट प्रणालीबाट बहिरंग सेवा सञ्चालनगर्ने तथा अंकोलोजिष्ट सर्जन डा. विश्वराम पौडेलको नेतृत्वमा चिकित्सक टोलीको स्थापना गर्न लागेको सञ्चालक समितिका अध्यक्ष किन्मत्त कुमार कक्षपतीले जानकारी दिए ।  अस्पताल स्थापनाको लागत७५ करोड अनुमान गरिएको छ । सरकारबाट २७ करोड र जनस्तरबाट पाँच करोड गरी ३२ करोड खर्च भइसकेको अध्यक्ष कक्षपतीले बताए । हाम्रो डक्टरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *