मौसमी एलर्जीबाट बच्ने उपाय

काठमाडौं,२२

बदलिँदो मौसममा एलर्जी हुनु अचेल सामान्य भइसकेको छ । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ ।  शरीरको (इम्युन सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिस एलर्जीको सिकार हुन्छन् । बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (श्वास), स्किन एलर्जी र खाद्य पदार्थको एलर्जी हुनु सामान्य कुरो हो । मौसममा परिवर्तन हुँदा केटाकेटी, महिला तथा बूढापाकाहरूमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ । आमाबाबुमध्ये कुनै एकजनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरूको सन्तानमा पनि एलर्जी हुने सम्भावना ५० प्रतिशत रहन्छ ।

लक्षण

शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार रुघा लाग्नु, हाच्छु आउनु, आँखा, नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरू दुख्नु, यसका सुरुका लक्षणहरू हुन् भने खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केही मिनेटपछि अनुहार चिलाउने, डाबर आउने, औंठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिसा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरू देखिन्छन् । उपरोक्त लक्षणहरूको आधारमा नै एलर्जीको पहिचान हुन्छ । यदि अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने  सजिलैसित यस रोगबाट छुटकारा पाउन सकिन्छ ।

मुख्य कारण

एलर्जी हुनुको मुख्य कारणहरूमा प्रदूषण, धूलो, माटो, घाँस, पराल एवं रूखपात, बिरुवाको परागकण हो । घरबाट बाहिर निस्किँदा  धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यही एलर्जिक (नाकको म्युकसझिल्ली) को प्रदाह राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकुर, बिरालो पाल्ने घरपरिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ । भुत्ला हुने जनावरहरू कुकुर, बिरालोको रौं  बराबर भुइँमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्दछ ।

जोखिम

नाकको एलर्जीले पछि गएर साइनोसाइटिस्  (पिनास) को कारण बन्न सक्छ ।

यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । यसले कानको आडिटरी ट्युब (श्रवण) नलीलाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्यभागमा पानी भरिन सक्छ । यस्ता बिरामीहरूमा अस्थमा (दम) हुने जोखिम चार गुणाले बढी हुन्छ ।

बचावट

१.  इन्फेक्सनबाट बच्ने प्रयास गर्ने ।

२. चिसो हावा, धूलो, धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।

३. घरबाट बाहिर निस्किँदा धूलोको कण नाकभित्र कमसे कम मात्रा जाओस् भनेर कोसिस गर्ने ।

४. यदि धूलो (धुवाँ भएको ठाउँमा जानु प¥यो भने मास्क या रुमाल राखेर जाने ।

५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।

६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।

७. धूमपान नगर्ने । यदि छेउको कुनै व्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि चुरोट नपिउने ।

८. कुनै खाद्यपदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो बस्तुको सेवन नगर्ने ।

९.नाकको एलर्जीले बढी तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।

१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई टिपोट गर्ने र त्यो वस्तुको प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनै पनि प्रकारको कस्मेटिक साधनको प्रयोग नगर्ने ।

११. हाम्रो वरिपरि मौजुद रहेका एलर्जी उत्पन्न गराउने तत्वहरू (एलर्जन) बाट बच्नु नै एलर्जीको सबैभन्दा राम्रो इलाज हो ।

१२. धेरैजसो व्यक्तिहरूको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै वस्तु विशेषको सम्पर्कमा आउनसाथ त्यस्ता व्यक्तिलाई एलर्जी हुन्छ । धेरै जसोलाई अर्काको चिज प्रयोग गर्नले पनि एलर्जी हुन्छ । जस्तैः सुत्ने ओछ्यान,  रुमाल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरूले यस कुराको विशेष ख्याल राख्नुपर्दछ ।

१३. घरमा शुद्ध हावा आउनेको व्यवस्था सुनिश्चित गर्ने ।

१४. घर यदि सड़क छेउमा छ भने  बाहिरको धूलो, माटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा सिसाको साथै मसिनो जाली लगाउने ।

१५. भान्छामा एक्जास्ट फेनको उपयोग गर्ने ।

१६. धेरैजसोलाई फूलको बास्नाले पनि एलर्जी हुन्छ,  यस्ता व्यक्तिहरूले फूल फुल्ने किसिमको बिरुवा कोठामा नराख्ने ।

१७. आफ्नो ओछ्यानलाई सफासुग्घर राख्ने ।

१८. घरमा भिजाएको कपडाले पोछा नलगाउने ।

१९. घरको भित्तामा ढुस्सी या जालो लागेको छ भने त्यसलाई ब्लिच गरेर सफा गर्ने ।

२०. बर्सात्को मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । तर, केही खास किसिमका रोगहरू जस्तै दम, मुटु रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरूको लागि यो मौसमले केही समस्या पनि ल्याउँछ ।

२१. प्रतिदिन विचार गर्नुस् कुन चिज खाएपछि वा लगाएपछि शरीरमा एलर्जीको लक्षण देखिन्छ । तपाईंले त्यस विशेष चिजको नाम अगाडि ० को निशान लगाई दिने र त्यो वस्तु खान वा लगाउन बन्द गरिदिने ।

उपचार

एलर्जीको उपचार भनेको हाम्रो बाह्य वातावरणमा मौजुद रहेको एलर्जनबाट बच्नु नै यसको सबैभन्दा राम्रो उपाय हो । आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै उपचार छैन, केवल जुन वस्तुसँग एलर्जी छ । त्यसको त्याग गरिदिनु हो । जस्तै, घामबाट एलर्जी छ भने घाममा नहिँड्ने, हिँड्नै प¥र्यो भने पनि छाता ओढेर हिँड्नुपर्दछ । यस्तै अन्य कुरामा पनि यही नियम लागू हुन्छ । होमियोप्याथिक चिकित्सामा रोगीको इम्युन सिस्टमलाई सबल बनाई रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनाले, यसबाट रोगको जरैबाट उपचार गर्ने गरिन्छ । एलर्जी स्थायी रूपमा निको भएर जान्छ । हेल्थटुडेनेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *