प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त

धनगढी,फागुन ३

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको शपथग्रहण भने आगामी शनिबार गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।

४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।

को हुन् मुख्यमन्त्री भट्ट ?
डोटीबाट प्रदेशसभामा निर्वाचित त्रिलोचन भट्ट २०४७ सालमा मोटो मसालमा आवद्ध हुँदै वामपन्थी आन्दोलनमा सक्रिय भएका हुन् । प्रवासमा रहँदा भारतको महाराष्ट्र प्रदेशमा मजदुरी सँगसँगै पार्टीका गतिविधिमा संलग्न भएका भट्टले २०५८ सालमा प्रदेशको सचिवको जिम्मेवारी पाएका थिए । पछि भट्ट प्रवासमै प्रदेश इन्चार्ज समेत भए ।

नेपाल फर्किएपछि २०६१ सालमा डोटी जिल्ला सचिव भएका भट्ट २०६२ सालमा जिल्ला इन्चार्ज भए । पार्टीको केन्द्रीय सदस्य हुँदै भट्ट हाल पोलिटब्यूरो सदस्य रहेका छन् । डोटीको केआईसिंह गाउँपालिका–६ फलेडी स्थायी घर भएका ४७ वर्षिय भट्टले भारतमा रहँदा मजदुरी र चौकीदारीको काम समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *