‘सुशासनसहितको समृद्ध प्रदेश प्रमुख चुनौति र अवसर’

धनगढी,फागुन ९

प्रदेश नम्बर ७ सरकारले भ्रष्टाचारको पूर्ण अन्त्य र सुशासनसहितको समृद्ध प्रदेश बनाउने अठोट दोहोर्‍याएको छ । प्रदेश सरकारले नयाँ जग बसाल्दै, नयाँ व्यवस्थापन र कार्यशैलीका साथ काम गर्दै प्रदेशका जनताको समृद्धिको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

‘हामी नितान्त नौलो अभ्यास र संचरनामा छौं’ मंगलबार नेपाल पत्रकार महासंघ कैलालीद्वारा प्रदेश नम्बर ७ का आयोजित ‘मुख्यमन्त्री तथा मन्त्रीहरूको स्वागत, बधाई तथा सम्मान कार्यक्रम’ मा मुख्यमन्त्री त्रिलोचन भट्टले भने– अहिले अस्तव्यवस्तता तथा अभावकाबीच सरकार नयाँ निर्माण प्रक्रियामा अघि बढेको छ ।

मुख्यमन्त्री भट्टले संघीयतालाई सफल बनाउने ढंगबाट सञ्चार क्षेत्रको प्रभावकारी र सकारात्मक भूमिकाका लागि आग्रह गरे । भने– हिजोसम्म हामी केन्द्रीकृत राज्य प्रणालीलाई देखाएर गरिबी तथा अविकासको गुनासो गर्दथ्यौ । तर, अब हामी अरुमाथि दोष थोपरेर उन्मुक्ति पाउदैनौ ।

मुख्यमन्त्रीले प्रदेश सरकार जनताका अपेक्षा र चाहनाप्रति निकै गम्भीर भएको चर्चा गरे । ‘हामीसंग प्रचुर प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै पनि सधै अविकासको मारमा पर्‍यौं’ उनले सबै पक्षबीचको समन्वय र सहकार्यबाट सरकारले सजग र संवेदनशील भएर काम गर्ने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सरकार, राजनीतिक क्षेत्र र सञ्चार क्षेत्रबीच समन्वय र सहकार्य भएन भने स्थिति दूर्भाग्यपूर्ण हुने बताए । उनले भने– कतिपय अवस्थामा राजनीतिक क्षेत्र र मिडिया एकअर्काको प्रतिस्पर्धी वा विरोधी हुन् कि भन्ने ढंगबाट व्यवहार गरिन्छ, तर यी दुई पक्ष एकअर्काका परिपुरक हुन् ।

उनले जहातहीँ कुशासन, गरिबी र व्यवस्थापकीय कमजोरी रहेकोले समृद्धिको लक्ष्य प्राप्ती कठिन चुनौतिपूर्ण रहेको बताए । भने– दाशता र गरिबी दैवी दुर्घटना होइनन्, मान्छेले निर्माण गरेका परिणाम हुन्, त्यसैले यसको अन्त्य पनि मान्छेबाटै सम्भव छ । सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशमा विभिन्न मन्त्रालय तथा विभागका लागि करोडौं रकम खर्च गरेर भइरहेका निर्माण, पुन:निर्माण, मर्मतसम्भार कार्यको निरन्तर निगरानी गर्न सञ्चार क्षेत्रसंग आग्रह गरे ।

सामाजिक विकास मन्त्री सोडारीले अहिले पनि कर्मचारीतन्त्रमा पुरानै केन्द्रीकृत मानसिकता रहेकोमा आक्रोस व्यक्त गरे । ‘प्रदेश सरकार तथा स्थानीय तहमा जान अहिले पनि कर्मचारी हिच्किचाई रहेको अवस्था छ’ उनले संघीयतालाई सफल बनाउन सञ्चार क्षेत्रले अझ बढि प्रभावकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशलाई आयातित अर्थतन्त्रबाट स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गर्ने दृढता व्यक्त गरे । आर्थिक मामिला मन्त्री बोहराले हालको अवस्थामा प्रदेश नम्बर ७ मा वार्षिक खर्च ५१ अर्ब र राजश्व संकलन आठ अर्ब रुपैया मात्रै रहेको बताए । भने– तर प्रदेश सरकारले यस लाई चुनौति होइन, अवसरका रुपमा लिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मनमोहन स्वारले बदलिएको अवस्थामा स्थानीय तथा क्षेत्रीय स्तरका सञ्चार माध्यम टिकाई राख्न निकै चुनौतिपूर्ण अवस्था सिर्जना भएको चर्चा गरे । उनले प्रदेश सरकारले बनाउने सञ्चार नीतिमा स्थानीय तथा साना लगानीका सञ्चार माध्यमको संरक्षण तथा संवद्र्धनका साथैसञ्चारकर्मीको भौतिक र पेसागत सुरक्षाको विषयलाई सम्बोधन गर्न आग्रह गरे । कार्यक्रम महासंघ कैलालीका अध्यक्ष जगत साउदको अध्यक्षतामा भएको थियो । जिल्ला सचिव मीन ठकुरीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष हिमाल जोशीले स्वागत गरेका थिए । ईअनुमोदनबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *