उच्च रक्तचापको समस्याबाट मुक्त रहने १० उपाय

डा. प्रकाशराज रेग्मी

उच्च रक्तचाप बढ्नु र घट्नुमा हाम्रो जीवनशैली र क्रियाकलापले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामीले आफ्नो जीवनशैलीमा मात्र सुधार ल्याएर अगाडि बढ्न सके ५० प्रतिशतभन्दा बढी उच्च रक्तचापको समस्याबाट मुक्त हुन सकिने चिकित्सकहरू बताउँछन् । मुटु, मिर्गौला, मधुमेहलगायतका नसर्ने रोगहरूको प्रमुख कारक उच्च रक्तचापलाई लिइन्छ । त्यसैले यसका विषयमा समयमै सचेत भएर आफ्नो दैनिकी परिवर्तन गर्नु आवश्यक छ । उच्च रक्तचाप रोकथाम र नियन्त्रणका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।

१. दैनिक पाँच ग्रामभन्दा कम नुन 

एउटा स्वस्थ व्यक्तिले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खान हुँदैन । शरीरको लागि अत्यावश्यक लवण तत्व नुन थोरै भए पनि पुग्छ । नुनले रक्तचाप वृद्धि गर्ने भएकोले उच्च रक्तचाप भएका बिरामी, मुटु रोगी एवं मधुमेहका रोगीहरूले दिनमा चार ग्रामभन्दा बढी नुनको प्रयोग गर्नु हुँदैन ।

अत्यधिक मात्रामा नुन हुने खानेकुराहरू जस्तै पापड, ससेज, सस, सिसीको अचार, दालमोठ, भुजिया तथा दिनको बट्टामा हुने खानेकुराहरू सकेसम्म कम खानुपर्दछ । खानामा नुन छर्केर वा थपेर खाने बानी गर्नु हुँदैन ।

२. चिल्लो र बोसोयुक्त खानेकुरा कम

तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चीजजस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू कम खानुपर्छ । यसले उच्च रक्तचाप बढाउन सहयोग गर्छ ।

३. सन्तुलित भोजन

कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो भिटामिन र खनिज पदार्थ पाइने खानाहरू खाने र प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खानु पर्छ । सागपात खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसैले मासुमा भन्दा सागपातका बढी जोड दिनुपर्छ । पोलेको मासु स्वास्थ्यका लागि राम्रो होइन ।

४. मोटोपन नियन्त्रण 

मोटोपन भएका मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । त्यसैले शरीरको तौल सन्तुलित राख्नुपर्दछ । उदाहरणको लागि तपार्इं आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस् अनि त्यसबाट एक सय घटाउनुहोस् त्यसबाट आएको परिणाम नै तपाईंको सही तथा ठीक वजन हुनेछ । यसको १० प्रतिशतसम्म तलमाथि भएसम्म सामान्य मानिन्छ । जस्तै कसैको उचाइ १६० सेन्टिमिटर छ भने उसको सही वजन ६० केजी हुन्छ । यसको १० प्रतिशत अर्थात् ६ केजी तलमाथि (५४ केजीदेखि ६६ केजी) भएसम्म पनि सामान्य मान्न सकिन्छ ।

५. तनावबाट मुक्त

तनावले रक्तचाप बढाउँछ । तनाव कम हुने काममा मात्र हात हाल्नुपर्छ । एउटै व्यक्तिले धेरै पद ओगट्दा दबाबमा काम गर्नुपर्छ । त्यसैले सकेसम्म धेरै पदमा बस्नु हँुदैन । यसले रक्तचाप नियन्त्रण गर्न सघाउँछ ।

६. नियमित व्यायाम तथा योग गर्ने 

हरेक मानिसले प्रत्येक दिन कम्तीमा आधा घन्टा सक्रिय खालका कुनै न कुनै व्यायाम गर्ने जस्तैःयोग गर्ने, हिँड्ने, दगुर्ने, पौडी खेल्ने, डोरी खेल्ने, साइकल चलाउने, खेतबारीमा काम गर्नेजस्ता क्रियाकलापहरू गर्नुपर्दछ । उच्च रक्तचापबाट बच्न हिँड्नु नै सबैभन्दा राम्रो र सरल व्यायाम हो । नियमित राम्ररी व्यायाम गर्ने उच्च रक्तचापका व्यक्तिहरूमा औषधिले समेत राम्ररी काम गर्ने गरेको तथ्य प्रमाणित भएको पाइएको छ ।

७. धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन बन्द

धूमपान वा सुर्तीजन्य पदार्थहरूको सेवन गर्ने व्यक्तिहरूमा उच्च रक्तचाप तथा यसका जटिलता हुने सम्भावना धेरै हुन्छ । अतः यस्ता हानिकारक वस्तुहरूको सेवन कदापि गर्नु हुँदैन । यदि उच्च रक्तचाप भएका व्यक्तिहरूमा यस्तो अम्मल छ भने पनि यसलाई चटक्कै र तुरुन्तै छोड्नु पर्छ ।

८. रक्सी, बियर, जाँड हानिकारक वस्तुहरू निषेध 

खुसी भए पनि ल रक्सी खाइहालौं न र दुःखी भए पनि ल आज त टेन्सन भयो भन्दै रक्सी पिउने चलन समाजमा छ । रक्सी, बियर वा धूमपानले रक्तचाप र क्यान्सरसम्म हुने अवस्था निम्त्याउन सक्छ ।

९. नियमित रक्तचापको जाँच

उमेर बढ्दै गएपछि स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । विशेषगरी ४० वर्ष नाघेपछि हरेक तीनतीन महिनामा नियमित रूपमा रक्तचापको जाँच गराउनु राम्रो मानिन्छ ।

१०. उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि

उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि औषधिको कुनै विकल्प छैन । त्यस्ता व्यक्तिहरूले स्वास्थ्यकर्मीले सिफारिस गरेबमोजिम नछुटाइकन औषध खाने गर्नुपर्छ । औषधि खाएन भने उच्च रक्तचापको नकारात्मक असर पक्षाघात, हृदयाघात, मिर्गाैलाले काम नगर्ने, अकस्मात मृत्युसमेत हुन सक्छ । उच्च रक्तचाप भएका व्यक्तिले दैनिक नियमित औषधि खाने, स्वाथ्यकर्मीसँग नियमित शारीरिक र रक्तचाप जाँच गराउनुपर्छ । यदि उच्च रक्तचाप नियन्त्रणमा छ भने तपाईं अन्य व्यक्ति सरह सामान्य जीवन बिताउनु सक्नुहुन्छ । ( डा. रेग्मी वीर अस्पतालका बरिष्ठ मुटु रोग विज्ञ हुन । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *