चारकोसे झाडीभित्रको नेपाल दलित प्राथमिक विद्यालय

बारा,फागुन २१

राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन ।विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउने स्थायी शिक्षक ।

विद्यालय सहयोगी कार्यकर्ता लक्ष्मी चौधरीको भरमा चलेको छ विद्यालय । उनले कक्षा १ देखि चारसम्म पढ्ने ७० बालबालिकालाई एकै ठाउँ राखेर पढाउँछिन् । ‘यस्तो अवस्थामा के पढ्नु र के पढाउनु र दिन काट्ने बाटो मात्रै भएको छ,’ चौधरीले भनिन् ।

जिल्ला शिक्षा कार्यालय बाराले ०६६ सालमा विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो । त्यतिबेला वन क्षेत्र अतिक्रमण गरेर बसेका सुकुम्बासीका बालबालिका पढाउन विद्यालय खोल्ने अनुमति दिएको शिक्षाका एक कर्मचारीले बताए । विद्यालय सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीमा खोलियो ।

सो स्थान हाल जितपुरसिमरा उपमहानगरपालिका वडा नं। १७ मा पर्छ । त्यहाँ मठियानी टोलका ४५ बालिका र २५ बालक पढ्छन् । विद्यालय खोल्ने स्थानको सामान्य निरीक्षणसमेत नगरेर विद्यालय खोल्ने अनुमति दिँदा समस्या भएको जितपुरसिमरा–१७ का रुकेश प्रसादले बताए ।

उनका अनुसार बालबालिकालाई विद्यालय जान पनि सहज छैन । ‘पहिला विद्यालय टाढा थियो, अहिले नजिक छ, तर जंगलबीचमा हुँदा बालबालिका जान डराउँछन्,’ उनले भने ।

स्रोत व्यक्तिले नै थाहा पाएनन् विद्यालय खुलेको

डुमरवाना स्रोत केन्द्रका स्रोत व्यक्ति श्यामसुन्दर सापकोटाले त्यतिबेला विद्यालय खोल्न कसरी अनुमति दिइयो भन्ने आफूलाई थाहा नभएको बताए । विद्यालय छ भन्ने थाहा पाएपछि खोजी गर्दा जंगलभित्र भेटाएको उनको भनाइ छ ।

‘विद्यालय छ भन्ने सुनेको थिएँ, केही समयदेखि खोजिरहेको थिएँ, खोज्दै जाँदा जंगलको बीचमा भेटाएँ,’ सापकोटाले भने । विद्यालय पुग्दा अर्कै मुलुक आएजस्तै लागेको उनले बताए ।

वन क्षेत्रमा बसेको मठियानी गाउँ नै अस्थायी भएकाले विद्यालय पनि अस्थायी भएको सापकोटाले बताए । उनले सो विद्यालयलाई अन्यत्र गाभ्नुपर्ने बताए । ‘पहिला धेरै विद्यार्थी रहेछन्, अहिले खासै विद्यार्थी छैनन्,’ सापकोटाले भने, ‘वन क्षेत्रमा सरकारले लगानी गरेर संरचना बनाउन नमिल्ने हुँदा विद्यालयको अवस्था दयनीय बनेको हो ।’

१० कक्षा पढेकी लक्ष्मी प्रधानाध्यापक

विद्यालयले ०६६ मा स्वीकृत पाएदेखि नै करैयामाई गाउँपालिका–१ निवासी लक्ष्मी चौधरी मात्र शिक्षक छिन् । चौधरीले आफू नै प्रधानाध्यापक भएको बताइन् । तर, उनले १० कक्षासम्म मात्र पढेकी छिन् ।

चौधरी बालशिक्षा कोटाअन्तर्गत सहयोगी कार्यकर्ताको रूपमा त्यहाँ कार्यरत छिन् । जिल्ला शिक्षा कार्यालयले उनलाई मासिक ६ हजार तलब दिँदै आएको छ ।

न सिरेटो छेकिन्छ न पानी

खरको बार लगाएर, खरले नै छाएर छाप्रो बनाइएको छ । छानामा प्वालैप्वाल छन् । छाप्राले न हिउँदको सिरेटो छेक्छ न त वर्षामा पानी नै ।

छाप्रामा एउटै कोठा छ । कोठामा डेस्क, बेन्च, कालोपाटी केही छैन । भुइँमाथि केही छैन । बालबालिका चिसो भुइँमा नै बसेर पढ्ने गरेका छन् ।

भुइँमा बसेर पढिरहेका कक्षा २ का राहुल पासवानले डाक्टर बन्न चाहेको बताए । राहुलजस्तै अरूको पनि ठूलो मान्छे बन्ने सपना छ । तर, उनीहरूका अभिभावक भने छोराछोरी चिसोले बिरामी नहोऊन् भन्ने कामना गरिरहेका हुन्छन् ।नयाँपत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *