देश निर्माणमा दलित

- समुन्दा परियार

काठमाडौं,चैत्र ३ । दलित समुदायका हस्तीहरूले देश एवं देशवासीको भावना र मर्मलाई आत्मसात् गरी विवेक, विचार, श्रम र सीपले सिंगो राष्ट्रकै जगेर्ना गर्ने कार्य गर्दै आएको इतिहास साक्षी छ । तथापि दलित समुदायको योगदान इतिहासमा असाध्यै थोरैमात्र उल्लेख भएको पाइन्छ । ००

हरेक नेपालीले बिर्सनै नहुने कुरा नेपालको एकीकरण हो । गोपाल वंशदेखि किरात शासनसम्म तथा लिच्छवीको पालादेखि मल्लकालसम्म जति पनि राजा भए, उनीहरू सीमित क्षेत्रका राजा थिए । जब पृथ्वीनारायण शाह गोर्खाका राजा बने तब उनमा ठूलो महत्ववाकांक्षा पलायो । उनले छरिएर बसेको टुक्राटाक्री राज्यलाई एकीकृत गरेर त्यसको महाराजा हुने सपना देखे ।

त्यही क्रममा आसपासका बाइसे चौबीसे राज्यलाई गोर्खामा गाभ्दै लाने अभियान नै चलाए । एकीकरणका क्रममा निर्बल राज्यमाथि आक्रमण गर्ने, बलिया राज्यहरूसित सम्बन्ध गाँस्ने, सन्धि गर्ने नीति पृथ्वीनारायण शाहले लिएका थिए । उनमा सर्वप्रथम नुवाकोटमाथि आक्रमण गर्ने महत्ववाकांक्षा जाग्यो । नुवाकोट राज्य व्यापारिक र सामरिक महत्ववको भूभाग भएकाले पनि दूरगामी पृथ्वीनारायणको आँखामा परेको थियो । तिब्बतसँग व्यापार गर्ने एउटा सजिलो बाटो केरुङ नाका नुवाकोटमा पथ्र्यो, त्रिशूली नदीले बगाएर ल्याएको मलिलो माटोले बनेको उर्वरा फाँटहरूमा प्रशस्त अन्न उब्जनी हुन्थ्यो । त्यसलाई आफ्नो बनाउन पाएमात्र रणनीतिक दृष्टिले राज्य विस्तारको ढोका खुल्थ्यो । यी सबै कुरा पृथ्वीनारायण शाहले आफ्नो सपनामा बुनेका थिए ।

त्यति बेला नुवाकोट परोक्ष रूपमा काठमाडौंकै अधीनमा थियो । यसले गर्दा काठमाडौंको आर्थिक सम्पन्नतामा ठूलो टेवा पुगिरहेको थियो । यिनै फाइदा देखेर पृथ्वीनारायण शाहले नुवाकोटमाथि आक्रमण गर्ने सोच बनाएका थिए । उनी विक्रम संवत् १७९९ चैत महिनामा गोर्खाका राजा भएका थिए । उनले विसं १८०० मै नुवाकोटमाथि आक्रमण गरे । ‘पहिलो गाँसमै ढुंगाु भनेजस्तै त्यसपटक उनले नराम्ररी हार बेहोर्नु पर्‍यो । थुप्रै सिपाही मारिनुका साथै धेरै हातहतियार गुमाउनु पर्‍यो । उनकै बाबु नरभूपाल शाह राजा हुँदासमेत उनले नुवाकोटमाथि आक्रमण गरेका थिए तर त्यस बेला पनि उनी विफल भएका थिए ।

निराश भएका पृथ्वीनारायण शाहले दिनरात राज्य विस्तारका लागि मथिंगल खियाउन थाले । उनीसँग भरपर्दो पल्टन थियो, कालु पाण्डेजस्ता चलाख योद्धा थिए । काठमाडौंभन्दा पहिले नुवाकोटमाथि आक्रमण गर्नु अपरिहार्य हुनाले पुनः हातहतियारको संख्या वृद्धि गरेर योजनाबद्ध आक्रमणमा होमिनुको विकल्प थिएन । त्यति गर्दा पनि लडाइँका लागि खरखजाना पर्याप्त थिएन । उनी छटपटीमा थिए । त्यति बेला उनले आफ्नै दरबारमा दमाहा ९नगरा० बजाउने दमाई बूढालाई सम्झिए । यही सम्झना र संवादले राजा पृथ्वीनारायण शाहका लागि बिसे नगर्ची देउतैसरह हुन पुगे ।

के थियो बिसे नगर्चीको योगदान
बिसे नगर्ची गोर्खानिवासी थिए । गोर्खाको पोखरीथोकमा दमाई जातिहरूकै बाहुल्य छ । परम्परागत हिसाबले बाजा बजाउने तथा कपडा सिलाउने काम गर्दै आइरहेका दमाई जातिलाई सधैं हेलाका पात्र बनाइन्थ्यो । आफ्नो सीप र परि श्रमले समाजमा सधैं रचनात्मक काम गर्ने यो समुदायलाई समग्र नेपाली समाजमा जस्तै कथित ठूला जातले धर्मको आडमा बनेको जातीय विभेदका कारण वर्षौंदेखि हेप्दैचेप्दै आइरहेका थिए । तर, नेपाली समाजको विकासमा दलित समुदायको ऐतिहासिक योगदान रहिआएको छ ।
नुवाकोटबाट नराम्रो हार खपेर फर्किनु परेपछि पृथ्वीनारायण शाहको मुहार देखेर उनकी कान्छी आमाले भनिन्, ‘तिम्रा पिता महाराज कुनै सन्ताप पर्दा पोखरीथोके बिसेसँग परामर्श गर्नुहुन्थ्यो, तिमी पनि एकचोटि विचार गर न ।ु बिसे नगर्ची पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहभन्दा कान्छा र पृथ्वीनारायण शाहभन्दा जेठा थिए । आमा महारानीको सल्लाहअनुसार उनी बिसे नगर्चीकहाँ गए ।

हुन त बिसेका पुर्खाको यकिन तथ्य नभए पनि उनका बाबुबराजुले दरबारमा हुने मेलापर्व तथा अन्य कार्यमा बाजा बजाउने गर्थे । नरभूपालका पालादेखि दरबारमा कपडा सिलाउँदै आएका उनीहरूका पुर्खाले दरबारमा विशेष महत्वव राख्दै आएका थिए । बिसेका बाबुले पनि दरबारलाई चाहिएको बेला सरसल्लाह दिने गर्थे । यो चर्चा बिसेले पनि सुनेका थिए रे १

एक दिन एकाबिहानै बिसेकी श्रीमतीले फुसको झुप्रामा सुतिरहेका आफ्ना श्रीमानई आत्तिँदै हाँको हालिछन् । ‘ओइ बूढा आज महाराज त हाम्रा घरमा ओर्लेजस्तो छ, छिटो उठ ।ु बिहानको मीठो निद्रामा मस्त घुरेका बिसेले सपनामै बूढी बर्बराएजस्तो ठानेछन् र कराएछन्, ‘कहीँ नपाएर तैं झुम्री दमिनीकहाँ सवार हुन्छन् महाराज १ु त्यसपछि कोल्टो फेरेर फेरि निदाए उनी । राजा आफ्नै घरतर्फ आउने गल्छीमा ओर्लेको देखेपछि बिसेकी श्रीमतीले झनै अत्तालिँदै भित्र पसेर घचघच्याउँदै श्रीमान्लाई भनिछन्, ‘साँच्चै राजा त हाम्रै घरतिर आए, लौ न ।ु झटपट उठेर मुख धुन अम्खोरा बोकेर बिसे बाहिर निस्कनु र राजा आँगनमा टुप्लुक्क देखिनु सँगसँगै भएछ । अचानक राजा देखेर अत्तालिँदै बिसेले साष्टांग दण्डवत गर्नु र बिसेकी श्रीमतीले पिँडीमा परालको थर्की बिछ्याउनु पनि सँगैसँगैजस्तो भएछ ।

गम्भीर मुद्रामा देखिएका राजा पृथ्वीनारायणले बिसेलाई आफ्नो नजिकै बोलाएर सविस्तार सुनाएछन्, ‘बाघको छोरा र राजाको छोरा हार खाएर बस्दैन, जसरी पनि नुवाकोट राज्य जित्नु छ । राजभण्डार रित्तिएको छ, हातहतियार सकिएको छ, सैनिकहरू कम भएका छन्, यस अवस्थामा गोर्खालीको शिर ठाडो पार्न ।।।।ु राजाले कुरा पूरा सुनाउन नपाउँदै बिसेले आँ गर्दाको अलंकार बुझिहाले । तब उनी राजातर्फ शिर निहुर्‍याउँदै हात जोडेर घरभित्र पसे । भित्रबाट केही सानो वस्तु लिएर आए र पृथ्वीनारायणलाई हात थाप्न भने । उनले राजालाई एक रुपैयाँको सिक्का थमाइदिए । तर, यो देखेर राजा साह्रै रिसाउँदै कड्केर किन यस्तो गरेको भने ।

बिसेले नम्र हँुदै मुख खोले, ‘सरकार एकचोटि यो सारा गोर्खा बस्तीमा नजर डुलाइबक्सियोस् । यहाँ कमसेकम पनि बाह्र हजार घरधुरी छन् । हरेक घरबाट एक रुपैयाँमात्रै उठाए पनि १२ हजार हुन्छ । त्यतिले त मनग्य हातहतियार किन्न पुग्छ । बरु ढिलो नगरी भोलि बिहानै कटवाल लगाएर प्रत्येक घरधुरीबाट एक रुपैयाँको डलर लिएर महाराजको दर्शनभेटमा हाजिर हुनू भन्ने उर्दी गर्न मर्जी होस् ।ु यो कुरा सुनेर पृथ्वीनारायणले एकछिन सोचे र बिसेलाई स्याबासी दिए । भोलिपल्ट बिसेले भनेअनुसार नै पैसाको जोहो भयो ।

बिसेको जुक्तिले जुटेको उक्त रकमबाट वनारस पुगेर हतियार ल्याइयो । सेना थपिए र सारा खरखजाना, रसदपानीको बन्दोबस्त गरी नुवाकोट अक्रमणको तयारी भयो । जब गोर्खाली राजकीय शक्तिका का साथ लडाइँको बढाइँ बजाएर साइतको सगुन खान्थे त्यति बेला बिसे नगर्ची फेरि हात जोरेर सरकारसामु उभिएका हुन्थे । उनी भन्थे, ‘ख्वामित लडाइँको बेला बालक, वृद्धा, बिरामी, सुत्केरी, गर्भवती, अशक्तलाई जोगाएर प्रहार परोस् है ।ु यस्ता दूरगामी वाणी र व्यवहार बिसे नगर्चीको विशेषता थियो । त्यो विशेषता नै नेपाल एकीकरणका लागि अचुक अस्त्र बन्न पुगेको मानिन्छ ।

दलित समुदायका हस्तीहरूले देश, देशवासीको भावना र मर्मलाई आत्मसात् गर्ने, विवेक र विचारले श्रम र सीपले सिंगो राष्ट्रकै जगेर्ना गर्ने कार्य गर्दै आएको इतिहास साक्षी छ । तथापि दलित समुदायको योगदान इतिहासमा असाध्यै थोरैमात्र उल्लेख भएको पाइन्छ । हरेक सूचनालाई देशव्यापी बनाउने, युद्धका बेला राजालाई सवार गराउने, योद्घाहरूका लागि धातुका विशेष हातहतियार र पोसाक बनाउने, सैनिक सामग्री जुटाउने कार्य दलित समुदायले नै बढी गरेको यकिन गर्न सकिन्छ । यति हुँदाहँुदै पनि दलित समुदायको योगदानको बहस गम्भीर रूपमा हुन सकेको छैन ।

बिसे नगर्चीको इतिहास उत्खनन गर्दै भीमनिधि तिवारीले एउटा नाटक लेखेर उजागर गरे, जो विश्वविद्यालयको पाठ्यक्रममा नै परेको थियो । पछिल्लो अवधिमा श्रवण मुकारुङले अग्रगामी परिवर्तनकारी पात्रका रूपमा बिसेलाई उभ्याएर ‘बिसे नगर्चीको बयानु व्यंग्य कविता लेखे, यो सराहनीय छ । यो राष्ट्रिय विभूतिको सम्मान पनि हो । यसबाहेक बिसे नगर्चीको यथार्थपरक एउटा जीवनीसम्म लेखिएको पाइँदैन ।

हालसालै दलित समुदायका संगीतस्रष्टा रामशरण दर्नालको जीवनी समता फाउन्डेसनले प्रकाशित गरेको थियो । त्यही जीवनीको सारांश समेटेर ‘संगीतज्ञ रामशरण दर्नालु शीर्षकमा ९ कक्षाको नेपाली पाठ्यक्रममा राखिएको छ । लोकतन्त्र बहालीपश्चात् समावेशी सिद्धान्तका आधारमा दलित समुदायको योगदानलाई समेट्ने प्रयास गरिएको पाइन्छ । तथापि राष्ट्रलाई अहम योगदान पुर्‍याएका थुप्रै दलित हस्ती, छन् जसको जीवनीको खोज र प्रकाशन गर्नु वाञ्छनीय देखिन्छ ।

बिसे नगर्ची, बांगे सार्की, मणिराम गाइने, जसवीर कामी, राममाया च्यामे, हीरादेवी गन्धर्व आदिका समग्र इतिहास आजसम्म गर्भमै छन् । यसलाई उत्खनन र उजागर गर्ने कार्य राष्ट्रको हो । तर, यहाँ राष्ट्रिय सपूतका योगदानलाई उजागर गर्न जुन जातको व्यक्ति हो उही जात र समुदायका मान्छेले मात्र ध्यान दिनुपर्ने अवस्था देखिनु विडम्बनाको विषय बनेको छ । उदाहरणका लागि अहिले तिनै बिसे नगर्चीको सालिक काठमाडौं नागपोखरीका काशीराम परियारको घरको एउटा कुनामा रोएर बसिरहेको छ ।

परियार सेवा समाजका पदाधिकारीहरूले सालिक तयार पारेर ठड्याउने जमर्को गरे पनि राज्यले दायित्वबोध नगर्दा उपयुक्त स्थानमा सालिक स्थापना गरिएको छैन । झन्डै पौने दुई सय वर्ष पहिलेबाट निदाएका बिसे नगर्ची न्यायिक इतिहासको इजलासमा कहिले उभिने हुन् थाहा छैन ।
अन्नपुर्ण पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *