अल्लो प्रशोधनमा नयाँ प्रविधि, स्थानीय खुसी

पर्वत,चैत्र ४

वनमा पाइने चाल्ने सिस्नो ‘अल्लो’ प्रशोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न थालिएको छ । जिल्लाको मोदी गाउँपालिका ३ घुरुँगामा अल्लोको प्रशोधन गर्न नयाँ प्रविधिको प्रयोग गर्न थालिएको हो । यसअघि परम्परागत घरेलु प्रविधिबाट अल्लो चाल्ने, मुङग्राले चुट्ने र घाममा सुकाउने गरेका उद्यमीहरूलाई पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकहरूले अल्लो प्रशोधन गर्ने मेशिन सहयोग गरेपछि नयाँ प्रविधि प्रयोग गर्न थालिएको छ । यहाँका महिलाले परम्परागत प्रविधिबाट अल्लो प्रशोधन गरि विभिन्न खालका कपडा बनाएर बजार पठाउने गरेका छन् ।

करिब दुई दशकदेखि वनमा खेर गएको अल्लो संकलन गरेर यहाँका जनजाति महिलाहरूले आम्दानी गर्दै आएका छन् । नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि अपनाइएको छ । परम्परागत रूपमा प्रशोधन गर्दा धेरै ज्यामी र शारीरिक श्रम लाग्ने तथा समय समेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो ।

मेशिनले १० जनाले मजदुरले गर्ने काम अहिले १ जनाबाटै संभव हुने भएको छ । स्थानीय अगुवा उद्यमी रनमाया पुनले मेशिन भएपछि अब समय र मिहेनतको बचत भएको बताइन् । ‘नयाँ प्रविधिले अब काम छिटो र उत्पादन पनि गुणस्तरीय हुने अनुमान छ,’ पुनले भनिन्, ‘मेशिन पाए पनि हामीलाई नियमित बजारको पनि खाँचो छ ।’ पहिले अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्दा धेरै श्रम र समय लाग्दै आएको उनले बताइन् । उनले आफूहरूले उत्पादन गर्ने कपडाको माग विदेशमा बढी हुने भए पनि नेपालको आन्तरिक बजारमा खासै नहुने गरेको उनले गुनासो गरिन् । नेपालमा पनि बजार विकास गर्न सम्वन्धित निकायसँग स्थानीय अल्लो उद्यमी महिलाले माग गरेका छन् ।

नयाँ प्रविधिको विकास गर्नका लागि कोरियाको विज्ञान प्रविधि मन्त्रालय, नेशनल रिसर्च फण्ड कोरिया, हङ्गदङ्ग विश्वविद्यालय, नेपाल इनोभेसन एण्ड इन्टरप्रेनरसिप सेन्टर, पोखरा विश्वविद्यालय लगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । अल्लो प्रशोधनमा गाउँलेले धेरै समय र परिश्रम खर्च गरेको तर त्यस अनुसार लाभ लिन नसकेको कारण नयाँ प्रविधिको खोजी भएको थियो ।

लघुउद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुवेदीले अन्वेषकहरूलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परीक्षणपछि आफ्नो उद्देश्य पूरा भएको सुवेदीले बताए । ‘लघुउद्यमको क्षेत्रमा लामो समय काम गरे,’ उनले भने, ‘महिलाहरूलाई उद्यमको विकासमा राज्यले खासै सहयोग गरेको पाएको छैन ।’ जे जति सहयोग नीजि क्षेत्र र विभिन्न सामाजिक संघसंस्थाले सहयोग गर्दै आएको उनले अनुभव सुनाए । जनतापोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *