
जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसा तथा छाउपडी मुक्त नमूना गाउँ घोषणा गरिएको छ ।
गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहकार्यमा शनिबार एक समारोहकाबीच गाउँलाई महिला हिंसा तथा छाउपडी मुक्त नमूना गाउँ घोषणा गरिएको हो ।
कार्यक्रममा हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ हिंसामुक्त नमूना गाउँ बन्नु उदाहरणीय भएको बताइन् ।
अधिकारकर्मी लक्ष्मीकन्या बुढाले कोइरेली नेपालकै पहिलो महिला हिंसामुक्त नमूना गाउँ बनेको बताइन् । मनोविमर्शकर्ता नन्दराज आचार्यले महिला शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ्य हुन सके कार्यक्रमले औचित्य पाउने बताइन् ।
कार्यक्रमका अध्यक्ष बास्मती रोकायाले पुरुषको सहयोगबाट नै गाउँलाई हिंसामुक्त गाउँ बनाउन सफल भएको बताइन् । उक्त गाउँमा १ सय ३० महिला र १ सय ४४ पुरुष गरी २ सय ७४ जनसंख्या रहेको छ ।
नमूना बस्तीका महिलाका लागि गाउँपालिकाले शौचालय राख्ने बाल्टी, नङ्कट, रुमाल, दाँत माझ्ने ब्रस लगायतका आवश्यक सामग्री उपलब्ध गराएको थियो ।
महिलाको कार्यबोझ घटाउन विशेष कार्यक्रम
गाउँमा महिलाको कार्यबोझलाई घटाउन भन्दै हिमा गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँ सभाबाट यहाँका महिलाको कार्यबोझ घटाउन कुटानी पिसानी मिल, सिलाइकटाई, हाते होजियारी तालीम र अन्य व्यावसायिक आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम सञ्चालन भएसगैँ सो स्थानका महिलाहरुलाई सहज भएको महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले महिला खबरलाई जानकारी दिइन् । महिलाखबरबाट
Leave a Reply