
डोटीमा भालुको आक्रमणबाट मृत्यु भएका परिवारलाई बुधबार १० लाख रकम राहत प्रदान गरिएको छ ।
भालुको आक्रमणमा परि ज्यान गुमाएका पूर्वीचौकी गाउँपालीका ७ पोखरीका जयबहादुर खड्काकी पत्नी बासुदेवी खड्कालाई एक कार्यक्रमकाबिच जिल्ला वन कार्यालय डोटीले चेक हस्तान्तरण गरेको हो ।
वन डढेलो व्यवस्थापन सम्बन्धी समन्वय गोष्ठि कार्यक्रमकाबिचमा जिल्ला समन्वय समितिका उप संयोजक शशी शोवले मृतककी पत्नी बासुदेवीलाई चेक रकम हस्तान्तरण गरेकी हुन् । जयबहादुर गत असोज २२ मा भालुको आक्रमणमा परी गम्भीर घाईते भएका थिए । ७८ वर्षीया खड्काको भारतमा समेत उपचार गरी नेपाल फर्कने क्रममा असोज २८ गते निधन भएको उनका छोरा रामबहादुर खड्काले बताए ।
वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने परिवारका सदस्यलाई १० लाख राहत प्रदान गर्ने नीतिगत व्यवस्था अनुसार रकम प्रदान गरिएको जिल्ला वन कार्यालय डोटीका वन अधिकृत बद्री कुमार कार्कीले बताए । त्यस्तै भालुकै आक्रमणमा परी गम्भीर घाईते दिपायल सिलगढी नगरपालीका ९ कलेनाकी राजुदेवी साउँदलाई पनि १ लाख २० हजार रुपैंया राहत प्रदान गरिएको छ ।
सोहि कार्यक्रमकाबिच दिपायल सिलगढी नगरपालीका प्रमूख मञ्जु मलासीले राजुदेवीका श्रीमान लाल सिं साउँदको हातमा चेक हस्तान्तरण गरेकी हुन् ।
डोटीका विभिन्न ठाउँमा बेला बेलामा जङ्गली जनावर भालुको आक्रमण हुने गरेको छ । भालुको आक्रमणमा परी घाईते हुने ४ जनालाई गत वर्ष पनि १ लाख १० हजारका दरले राहत रकम प्रदान गरिएको जिल्ला वन कार्यालयका रेञ्जर सुरेश रोकायाले बताए ।
वन्यजन्तुको आक्रमणबाट घाईते भएका व्यक्तिको उपचारका क्रममा भएको खर्चको सक्कल बिलका आधारमा बढीमा २ लाखसम्म राहत रकम उपलब्ध गराउन सक्ने प्रावधान रहेको छ ।
Leave a Reply