
नविना लामा सदरमुकाम चरिकोटमा रहेको होटल शुभेच्छाकी सञ्चालक हुन् । दोलखामा राम्रो नाम कमाएको होटलकी सञ्चालक लामा अहिले मखमलको जुत्ता सिलाउन सिकेर नयाँ व्यवसाय समेत गर्ने सोचमा छन् ।
‘होटल व्यवसाय र अन्य कामबाट बचेको समय सदुपयोग गर्दा पनि दैनिक १० वटासम्म जुत्ता सिलाउन सकिने रहेछ’ नविनाले भनिन्, ‘दैनिक ५ सय कमाई हुदा पनि घर खर्चमा सहज हुन्छ ।’
गौरीशङ्कर सामुदायिक पुस्तकालयले एएसबी नेपाल र रिड नेपालको सहयोगमा सञ्चालन गरेको १७ दिने मखमलको जुत्ता सिलाउने तालिममा सहभागि भै व्यवसाय गर्ने सोचमा रहेकी नविना मखमलको जुत्ता जाडो सिजनमामात्र जाने भएकोले व्यवसायको लागि फित्तावाल चप्पल सिलाउने तालिम समेत आवश्यक हुने बताउछिन् ।
तालिममा सहभागि भीमेश्वर नगरपालिका वडा नम्बर ३ की अस्मीता अधिकारी मखमली जुत्ताको तालिम निक्कै उपलब्धिमूलक रहेको बताउछिन् । १७ दिनको छोटो समयमा निक्कै कुरा सिकेको र अब व्यवसायीक रुपमा मखमली जुत्ता बनाउन सुरु गर्ने अधिकारी बताउछिन् । घर व्यवहारको कामबाट मिलेको फुर्सदलाई सदुपयोग गरेर जुत्ता सिलाउदा पनि राम्रै आम्दानि हुनसक्ने अधिकारीको भनाइ छ ।
गौरीशङ्कर सामुदायिक पुस्तकालयले तालिमका सहभागि १७ जना महिलाहरूको तीन वटा समूह बनाई सामूहिक रुपमा व्यवसाय गर्न सहयोग गर्ने अध्यक्ष कृष्ण वस्नेतले बताए । तालिमको लागि ल्याईएको दुई वटा मेशिन समूहलाई दिने र थप सहयोग तथा बजारको व्यवस्थापन समेत पुस्तकालयले गरिदिने वस्नेतको भनाइ छ ।
तालिमका प्रशिक्षक विरेन्द्र बोगटीले छोटो समयको तालिममा पनि सहभागिहरूले राम्रोसँग सिप सिकेको र गुणस्तरीय जुत्ता बनाएको बताए । सिपलाई निरन्तरता दिएर व्यवसायीक रुपमा काम गरे बजार र कच्चा पर्दाथको समस्या नहुने र बचेको समयमा काम गर्दा पनि राम्रो आम्दानि हुने प्रशिक्षक बोगटी बताउँछन् ।
मखमलको जुत्ता बनाउन १ सय ४० रुपैयाको कच्चा पर्दाथ र ६० रुपैया ज्याला लाग्ने बोगटीको भनाइ छ । त्यसरी उत्पादन गरिएको जुत्ता जरी भरेको ३ सयसम्ममा र साधा २ सय ५० रुपैयासम्ममा सजिलै बिक्रि हुने व्यवसायीहरू बताउछन् । तालिम अवधिमा प्रशिक्षार्थीहरूले उतपादन गरेको १ सय २० जोर मखमलको जुत्ता २ सय देखि २ सय ५० रुपैयासम्ममा सजिलै बिक्रि समेत भएको थियो ।
तालिम समापन कार्यक्रममा सहभागि प्रदेश सांसद पशुपति चौलागाईले गृहिणीहरूलाई बचेको समयमा व्यवसाय गर्ने बाताबरण बनाउन स्थानिय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने र त्यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनु भयो । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले घरेलु उद्योगको विकास र प्रवद्धनको लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने र घरेलु उत्पादनका सामानको कच्चा पर्दाथ तथा बजारकिरणको लागि सहयोग गर्ने बताए । महिलाखबरबाट
Leave a Reply