आत्मनिर्भर बन्दै महाकालीका दलित महिला

कंचनपुर,चैत्र २०

महाकाली नगरपालिका–७ बिसौरेटोलीकी बाटुलीदेवी दमाई कुनै समय धेरै मान्छे भेला भएको ठाउँमा परिचय दिनै गाह्रो मान्नुहुन्थ्यो । बोल्ने बानीको विकास नहुँदा समाजमा पछि परेको उहाँले महसुस गर्नुभयो । उहाँमा दशकयता भने निकै परिवर्तन आएको छ ।

विसं २०६२ मा टोलमा शुभकामना सामुदायिक संस्था गठन भयो । तेइसजना समूह सदस्य रहेको उक्त सामुदायिक संस्थामा १७ दलित महिला आबद्ध छन् । तीमध्येकी एक हुन् बाटुलीदेवी । गृहिणी जीवन बिताइरहनुभएकी उहाँले पछिल्लो समय समाजमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्नुभएको छ ।

“शुरुमा त भेलामा बोल्नै डर लाग्थ्यो,” बाटुलीदेवीले भन्नुभयो, “समूह गठन हुँदा हाम्रो सामाजिक र आर्थिक विकासमा टेवा पुगेको छ ।”समुदायमा रहेका विपन्न समुदायको आर्थिक अवस्था उकास्न आयमूलक व्यवसायमा अनुदान दिन गरिबी निवारण कोषले नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए०मार्फत समूह गठन गरेको थियो ।

मासिक रु पाँच बचतदेखि आयमूलक व्यवसायमा ऋण लगानी गरी आर्थिक अवस्था सुधार गर्न दलित समुदायले गठन गरेको समितिले अहिले रु छ लाखभन्दा बढीको कारोबार गरिरहेको शुभकामना समूहका अध्यक्ष माया नेपाली बताउनुहुन्छ ।“दलित महिला समाजमा धेरै पछाडी परेको देख्दा निकै दुःख लाग्थ्यो,” अध्यक्ष नेपालीले भन्नुभयो, “आज दलित महिला घरको खर्च धान्न सक्ने व्यवसाय गर्न सकिरहेका छन् ।”

शुरुवात्मा समूहबाट सिलाइकटाइका लागि रु २० हजार ऋण लिएकी बाटुलीदेवीले एक दशककै अन्तरालमा गाउँमा पक्की घर निर्माण गर्नुभएको छ । “सिलाइकटाइको ऋण तिरेपछि भैँसीपालनका लागि रु २५ हजार ऋण लिए,” उहाँले भन्नुभयो, “लगानी गरेको ठाउँबाट पर्याप्त आम्दानी हुँदा घरदेखि गोबरग्यासम्म जडान गरिरहेकी छु ।”

त्यसैगरी समूहकै अध्यक्ष माया नेपालीले स्थापनाकालमा खुद्रा व्यापारका लागि रु १९ हजार ऋण लिुनभयो । “कुनै समय दलितलाई ऋण दिनै गाउँमा साहुजन मान्दैनथे,” उहाँले भन्नुभयो, “अहिले अवस्था परिवर्तन भएको छ, ऋण दिने ठाउँमा हामी छौँ ।”

समूहमा आबद्ध सबै सदस्य भँैसीपालन, सिलाइकटाइ र खुद्रा व्यापार गरिरहेको उहाँको भनाइ छ । “अहिले रु छ लाखको कारोबार भइरहेको छ,” उहाँले भन्नुभयो, “गरिबी निवारण कोष साँच्चै गरीबका लागि रहेछ ।” उहाँले खुद्रासँगै भैँसीपालनबाट पनि मनग्य आम्दानी भइरहेको बताउनुभयो । “दूध बेच्न कुनै समस्या छैन,” नेपालीले भन्नुभयो, “डेरी सञ्चालकहरु घरमै आएर दूध लैजान्छन् ।”

समूहबाट ऋण लिँदै विभिन्न आयमूलक काममा लाग्नुका साथै समूहकै नेतृत्व सुम्हालेकी नेपालीले गरेको मेहनतकै कारण परिवारमा सकारात्मक परिवर्तन आएको छ । “आम्दानीबाट छोराछोरी पढाएँ,” उहाँले भन्नुभयो, “अहिले तीन छोरा सेनाको जागिरे हुँदा सन्तोष मिलेको छ ।”

महाकाली नगरपालिका–९ ढकनाघाटमा २२ दलित महिला मिलेर चौतारी सामुदायिक संस्था सञ्चालन गरेका छन् । समूहका अध्यक्ष जसिता सुनारले समूहमा बचतसँगै ऋण लगानी गरेर बाख्रपालन, भैँसीपालन र खुद्रा व्यापारमा महिला लागेको बताउनुभयो ।विसं २०६५ मा स्थापना भएको समूहले भँैसीपालनका लागि प्रतिसदस्य रु २० हजार तथा बाख्रापालनका लागि रु १० हजार ऋण लगानी गरिरहेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

“मैले पनि समूहबाट ऋण लिएर भैँसीपालन गरेर आम्दानी गरिरहेको छु,” उहाँले भन्नुभयो, “भैँसीपालनले घरखर्च टरेको छ ।” समूहका दुईजनाले खुद्रा व्यापार, चारजनाले भैँसीपालन र अन्यले बाख्रपालन गरेको उहाँले बताउनुभयो । मासुका लागि बाख्रा खरिद गर्न महेन्द्रनगरबाट समेत आउने गरेको उहाँले बताउनुभयो ।“आम्दानीबाट सदस्यहरुले ऋण तिर्नेदेखि समूहमा बचतसम्म गर्ने गरेका छन्,” सुनारले भन्नुभयो “पहिले घरकै कामकाजमा समय बित्थ्यो, अहिले समूहसँगै सहकारीसम्म पुग्दा समाजसेवा समेत गर्न भ्याएकी छु ।”

त्यस्तै यहाँको सिर्जना सहारा सामुदायिक संस्था पनि दलित महिला नै सञ्चालन गरेका छन् । चौधजना सदस्य रहेको उक्त समूहमा १३ जना महिला मात्रै छन् । समूहका पूर्व अध्यक्ष भविसरादेवी विक गरिबी निवारण कोषको अनुदानकै कारण दलित र विपन्न समूहका महिला समाजमा जागरुक भएर आइरहेको बताउनुहुन्छ ।

महाकाली नगरपालिकाको शुक्लाफाँटा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा समेत रहनुभएकी भविसरादेवीले दलित र पिछडिएका समुदायका महिलामा बचत गर्ने बानीको विकास भएको बताउनुभयो ।

“सहकारी महिला शेयर सदस्यको सहभागिताबाट पनि महिला आयमूलक काममा कति सक्रिय छन् भन्ने स्पष्ट हुन्छ,” उहाँले भन्नुभयो, “आयमूलक काममा लागेका महिलाले घर सञ्चालनका लागि महत्वपूर्ण भूमिका निभाएका छन् ।”

महाकाली नगरपालिकामा गरिबी निवारण कोषले १७ वटा समूह गठन गरेको छ । “सबै समूहका सदस्यले अहिले मासिक रु ३०० देखि रु एक हजारसम्म बचत गरिरहेका छन्,” शुक्लाफाँटा सहकारीका सचिव महेश नेपालीले भन्नुभयो, “सबै समूह मिलेर नै यहाँ सहकारी सञ्चालनमा आएको हो ।” महिला सहभागिता बढी रहेको उक्त सहकारीले स्थापनाको सात वर्षको अवधिमा रु ७५ लाखको कारोबार गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *