नेपाली युवा स्वदेश फर्कन थाल्ने वर्ष हुनेछ २०७५ : प्रचण्ड

बुर्तिबाङ बैशाख २

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य नभए तीव्र आर्थिक विकास र संमृद्धि संभव नहुने बताएका छन्।

शनिबार बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्प गर्न आह्वान गरे।

‘निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौँ’, एमालेसँग पार्टी एकता गर्ने अन्तिम चरणमा रहेका दाहालले भने, ‘निजी सार्वजनिक र सहकारी क्षेत्रको सहकार्यबाट एक दशकभित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने सङ्कल्प गरौँ।’

दाहालले राष्ट्रिय एकतालाई केन्द्रमा राखेर संमृद्धिको यात्रामा लाग्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि आग्रह गरे।

‘राष्ट्रिय एकता नबनेको भए न १२ बुँदे समझदारी हुन्थ्यो, न शान्ति सम्झौता नै’, उनले थपे, ‘संविधान, सङ्घीय गणतन्त्र, ३ तहको सरकार, विकासको निम्ति राष्ट्रिय सङ्कल्प एकताबाटै संभव भएको हो।’

अहिलेपनि आर्थिक विकास र राजनीति स्थायित्वको विषयमा सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गर्न वामगठबन्धन तयार रहेको दाहालले बताए।

दाहालले २०७५ साललाई विदेशमा रहेका नेपाली युवाहरू स्वदेश फर्कने शुरुवाती वर्षका रूपमा हेर्न चाहेको बताए।

‘देशबाहिर रहेका नेपालीलाई फर्काउने वातावरण बनाउन नेपालभित्रै रोजगारी सृष्टि गर्ने र आर्थिक विकासमा गति दिने अभियान चलेको छ’, दाहालले भने, ‘यो नयाँ वर्षलाई नेपाली युवाहरू स्वदेश फर्कने वर्षका रूपमा हेर्न अपिल गर्दछु।’ नेपालखबरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *