द्वन्द्वकाल सम्झाउने ‘सखी’

बुनु थारू ३० चैत

पृष्ठभूमिमा सुनिने मैथिली गीतले नाटकमा सुनमा सुगन्ध थपेको छ। मैथिलीभाषी तथा नेपाली मिश्रित भाषाले नाटकमा मिठास घोलेको छ।

१० वर्षे सशस्त्र जनयुद्धको कहालीलाग्दो त्रासदी कसरी नेपाली जनमानसले बिर्सन सक्छ र ?

देश नै उथलपुथल भएका ती दिनहरु सम्झँदा अहिले पनि धेरैको मन मुटु काँप्ने गर्छ। जसका आफन्त बेपत्ता पारिए या मारिए तिनका परिवारका सदस्यहरुलाई आफन्त गुमाउनुको पीडाले अहिले पनि लखेटिरहेको छ। हो, यस्तै पीडाको झल्को सम्झाउँछ, शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक ‘सखी’ले।

नाटकले १० वर्षे द्वन्द्वकालमा आमनागरिकले शारीरिक र मानसिक रुपमा विक्षिप्त भएकाहरुको आवाजको चित्कार जीवन्त रुपमा देखाएको छ। सेना तथा माओवादीका लडाकुहरुका संवादले नाटक हेर्दा द्वन्द्वकालीन समयमा पुगेझैँ लाग्छ।

नाटकले मैथिली समाजको प्रतिनिधित्व गरेको छ। कथाअनुसार सगुनको परिवार खेतीकिसानी गरेर बसेको हुन्छ। उसका छोरा शम्भु र छोरी गीता दुवै स्कुल जान्छन्। दुवै पढाइमा लगनशील हुन्छन्। परिवारमा खुशियाली छ। तर, गाउँमा माओवादी र सेनाको घरिघरिको छापा मार्ने अभियानले उनीहरु त्रसित हुन्छन्। घरि गोली चलेको, आक्रमण भएको, सेनाको बुट बजारेको आवाजले पनि उनीहरुको मुटु ठर्र्र काँप्छ। सगुन जहिल्यै चिन्तामा हुन्छन्। तर, उनकी पत्नी पवितरी अलि हठी स्वाभावकी देखिएकी छिन्। परि आए लड्नुपर्छ भन्ने भावमा उनमा देखिन्छ।

युद्धको त्रासदीले मन शान्त हुँदैन सगुनको। एकदिन सुराकीको आरोपमा सगुनलाई सेनाले लिएर जान्छन्। खेती किसानी गरेर परिवारको जीवीकोपार्जन गरेको छु, घरमा साना बालबालिका श्रीमती छन् भन्दा पनि निर्दोष सगुनलाई सेनाले जर्बजस्ती लान्छन्। युद्धबारे केही नबुझेको झगडा मन नपराउने सगुन सेनाको पासोमा पर्छ। उ अझैसम्म घर फर्किएको छैन। उसलाई बेपत्ता पारियो या मारियो उसको परिवार बेखबर छ।

अर्कोतिर शोभा छिन्, सगुनको छिमेकी। शोभाको आमाबुवा दुवैलाई गोली हानी मारियो। शोभा एकदम विक्षिप्त अवस्थामा छिन्। उनको परिवारको सदस्य कोही बाँकी रहेन, सिर्फ उनले पालेको ‘सखी’ नामक् बाख्रा बाहेक। सखीको अर्थ साथी हुन्छ।

यसरी उनको साथी उनको परिवारको सदस्य भनेकै त्यही सखी थियो। उनले सखीलाई एकदमै माया गरेर पालेकी हुन्छिन्। आफ्ना दुःख सुख साट्ने माध्यम नै बनेको हुन्छ सखी। फगत जनवार भएर पनि सखीले शोभाको पीडा, दुःख बुझ्न सक्थ्यो। शोभा दुःखी हुँदा उ पनि मुख निन्याउरो बनाउँछ। शोभाको आमाबुवालाई उनकै आँगनमा मारिएको हुन्छ। उनी त्यो घटना सम्झँदै बेलाबेलामा भक्कानो छोडेर रुन्छिन्।

यस्तैमा समाचकेवा पर्व आइपुग्छ। तराईमा मैथिल समदुायले मनाउने समाचकेवा पर्व भाइबहिनीको पवित्र पर्व हो। गीता र शम्भुले विभिन्न चराको मूर्तिहरु सजाएर डालोमा राख्छन्। पवितरीले लिपपोत गरेर दीयो बालिदिन्छन्। शम्भूले शोभालाई पनि बोलाएर ल्याउँछ। उनीहरु त्यो त्रासदीबीच पनि त्यस दिन नाचिरहेका हुन्छन्, गाइरहेका हुन्छन्। उल्लासको समयमा एक हुल माओवादीको प्रवेश हुन्छ। उनीहरुले क्रान्तिको लागि भन्दै शम्भुलाई लान खोज्छन्।

केही दिन पहिले आफ्नो श्रीमान् सेनाले लग्दाको विक्षिप्त बनेको पवितरीले कसरी कलिलो छोरालाई सुम्पिन सक्थिन् र? जर्बजस्ती लान खोज्दा शोभाले रोक्छिन्। उनी भन्छिन्, ‘आज भाइबाहिनीको पवित्र पर्वमा दाइलाई नलानुस्, बरु अर्को दिन पक्का पठाइदिन्छौ।’ यहाँसम्म आइसक्यौं, खाली हात नजाने भन्ने सर्त राखेपछि उनीहरुले सखीलाई लान खोज्छन्। शोभा बिलखन्दमा पर्छिन्। दुवै माया गरेको मान्छे। शम्भु फुत्किन्छ, आखिर सखी नै माओवादीको पासोमा पर्छ।

आफ्नो परिवारको एकमात्र सदस्यलाई शाेभाले गुमाउन पुग्छिन्। जबर्जस्ती लानेहरुका लागि पो सखी केवल पशु थियो, शोभाका लागि त उनको भाइजस्तै थियो, मुटुको टुक्रा। उनी छट्पटाउँछिन्, विछोडको पीडामा। सखीलाई टुक्रा टुक्रा पारेर मिष्ठान्न भोजन तयार गर्दै खाइरहेका होलान् भन्ने कल्पनाले उनको मुटु छियाछिया हुन्छ।

‘तो अपना मायजाका योद्धाक आहार बन्लैछ, सखी तुँ सहीद छै’

अर्थात् असली योद्धा तिमी हौ सखी, तिमी सहिद भयौ, तिमी सहिद भयौ।

शोभाले आफ्नो सखीलाई सहिदको संज्ञा दिन्छिन्।

नाटकका कथावस्तु मज्जाले बगेको छ। नाटकका सबैजसो पात्रहरुले जीवन्त अभिनय गरेका छन्। पृष्ठभूमिमा सुनिने मैथिली गीतले नाटकमा सुनमा सुगन्ध थपेको छ। मैथिलीभाषी तथा नेपाली मिश्रित भाषाले नाटकमा मिठास घोलेको छ। नाटक रमेश रञ्जनले लेखेका हुन् भने निर्देशन घिमिरे युवराजको हो। सखी पात्रमा सविन कट्टेलले अभिनय गरेका छन्। नाटकमा रामभजन कामत, पवित्रा खड्का, निलेश झा, संगीत उराउ, प्रियंका झा आदिको अभिनय रहेको छ।

बुधबारदेखि सुरु भएको नाटक मंगलबारबाहेक बैखाख ८ गतेसम्म मञ्चन हुनेछ। नेपालखबरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *