औषधीको रुपमा प्रयोग हुने मदिरा बनाउन महुवा संकलन गर्दै थारु समुदाय

उन्नती चौधरी धनगढी,बैशाख १०

महुवा एक प्रजातीको रुखको फूल हो । यो चैत्रको दोस्रो सातादेखि बैशाख महिनासम्म निश्चित अवधीसम्म फूल्ने फूल हो । यो फूल रक्सी बनाउँनको लागि उत्तम मानिन्छ ।

थारु समुदायमा महुवाको रक्सीलाई विशेष रुपले लिने गरिन्छ । यो फूलबाट बनेको रक्सी मात्र मिलाएर खाए औषधीको रुपमा पनि काम गर्ने भएकोले महुवाको रक्सीले थारु समुदायमा प्राथमिकता पाएको हो । यो फूललाई जडिबुटिकोरुपमा पनि हेरिने गरिन्छ ।
थारू समुदायमा घरेलु मदिरा (रक्सी) बनाउँनका लागि यतिबेला थारू समुदायमा महुवा संकलनमा धेरै मेहनत गरिएको देखिन्छ । गत वर्ष महुवाको सिजन थियो तर यो वर्ष कम मात्रमा फूलेको स्थानीयहरुको भनाई छ ।

थारु समुदायमा महुवा र आँपमा केही न केही सम्बन्ध भएको बताउछन् कैलारी गाउँपालिका वडा नं. ८ का ६५ वर्षिया फागुराम चौधरी । उनी भन्छन् यो पर्ष आँपको सिजन छ त्यसैले महुवा त्यति फूलेको छैन । गत वर्ष आँपको सिजन कम थियो महुवा बढी फूगेको थियो ।

उनले थपे ‘गत वर्ष महुवाको सिजन थियो धेरैलाई भ्याई नभ्याई थियो । तर यो वर्ष अलि कम छ ।’

महुवा प्रजातिको रुखको फूललाई प्रशोधन गरी मदिरा बनाउँने पूर्खैली प्रचलन हाल सम्म कायमै रहेकोले थारू समुदायका बुढापाखाहरु महुवाको लागि यो समयमा वनमै बसोबास गरेरै महुवाको फूल संकलन गर्ने गर्दछन् ।

गहुँ बाली भित्रयाउने कार्य सकिए लगत्तै ग्रामीण वस्तीमा बसोबास गर्ने थारू फुर्सदको समयमालाई मध्यनजर गर्दै महुवाको फूल संकलन गर्ने गर्दछन् । महुवा संकलकहरु महुवाको फूल रहुन्जेलसम्म रातदिन नभनी महुवाको बोट र झरेका फूलहरुको संरक्षण समेत गर्दै आएको पाइएको छ ।

कैलालीको गदरिया–६ बेनौलीकी चुल्हिया चौधरी केहिदिन यता पहिलैदेखि बटुल्दै आएको महुवाको बोटको अख्वारी (सुरक्षा) को लागि राती नै वनमा जाने गरेको बताइन् । घरायसी प्रायोजनको लागि महुवा बटुल्दै आएको भन्दै उनले आजकाल महुवा संकलन गर्नमै व्यस्त रहेको बताईन् ।

उनले भनिन् ‘रातको ३÷४ बजे वनमै पुग्छौ, हाम्रो कलुवा खाने (विहानको खाना) काम महवारीमै (महुवाको बोट मुनि) हुन्छ ।’ उनले फेरी थपिन् ‘आजभोलि महुवा भरयाली (सिजन आएको) भएको छ, एक÷दुई छिट्नी (बाँसबाट बनाएको डालो) भरि प्रत्येक दिन संकलन गर्छौं ।’

गदरिया–३ लम्बीफाँटाकी फगनी चौधरीको दिनचार्य पनि आजभोलि वनमै बित्दै आएको छ । एक अठ्वार (आठ दिन) यता भिन्सहरी (झिस्मिसे अन्ध्यारो) मै भएपनि विहानको खाना लिएर वनमा पुग्दै आएको र दिउँसोसम्म महुवा संकलन गर्दै आएको उनले बताइन् ।

फगनी चौधरीले महुवाको रक्सी पिउनमा स्वादिलो रहेकोले पुखौदेखि संकलन गर्दै आएको बताइन् । उनले करिब बैशाख महिनाभरी संकलनको कार्य हुने बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *