६ लेन सडक विस्तार अभियान

धनगढी, बैशाख १४

निर्माणाधीन मोहना पुल–अत्तरिया ६ लेन सडक विस्तारका लागि गोदावरी नगरपालिकाले पनि बिहीवारदेखि संरचना भत्काउन सुरु गरेको छ । सो नगरपालिकाले ६ लेन सडक अधिकार क्षेत्रमा पर्ने साना तथा ठूला भवन, पसल लगायतका संरचना भत्काउन सुरु गरेको हो । गोदावरी नगरपालिकाको वडा नम्बर ५ मा पर्ने आरपी फ्लोवर मिलदेखि भौतिक संरचना डोजर लगाएर भत्काउन सुरु गरेको नगर प्रमुख हरिसिंह साउँदले जानकारी दिए । ‘पहिलो दिन वडा नम्बर ५ अन्तर्गत ६ लेन सडक अधिकार क्षेत्रमा रहेका संरचना भत्काएका छौं’, उनले भने–‘यो कार्य अत्तरिया चौकसम्म हुनेछ ।’

धनगढी उपमहानगरपालिकाले सोमवारदेखि नै नगर क्षेत्रमा ६ लेन सडक अधिकार क्षेत्र भित्रका संरचना डोजर लगाएर भत्काउन सुरु गरेको थियो । धनगढी उपमहानगरपालिकाले चौथो दिन भन्सार क्षेत्रमा रहेका संरचना भत्काउने कार्य गरेको प्रवक्ता एव्म वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए ।  धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड सहित जनप्रतिनिधि स्वयम् स्थलगत रुपमा खटेर भौतिक संरचना भत्काउने तीव्रता दिएका छन् । उपमहानगरपालिका र जनप्रतिनिधिका यो अभियानको नगरवासीले प्रशंसा गरेका छन् भने खोलानालामा भएको अतिक्रमण पनि यसै गरी हटाउने अपेक्षा गरेका छन् ।

६ लेन सडक अधिकार क्षेत्रमा रहेका संरचना हटाइएमा अवरोध हटेर निर्माणको कार्यले गति लिने जनप्रतिधि सहित आम नगरवासीको अपेक्षा छ । सडक अन्तर्गतका विद्युतको पोल हटाउने कार्य अझै बाँकी रहेको छ । गतवर्षदेखि निर्माण कार्य सुरु भएको मोहना पुल–अत्तरिया छ लेन सडक निर्माणमा विभिन्न समयमा अवरोध हुँदै आएको थियो । घरधनीहरुले नै सर्वोच्च अदालतमा मुद्दा हालेपछि पुस १९ गते सडक क्षेत्रभित्रका संरचना हटाउने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश भएको थियो । फागुन ८ गते भएको बहसपछि अदालतले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश दिएको थियो । ६ लेन सडक आयोजना कार्यालयले सडकको ५० मिटर चौडा क्षेत्रभित्र बनाइएका घरलगायतका संरचनाहरु भत्काउन शुरु गरेपछि त्यसलाई रोक्न माग गर्दै स्थानीय १३ जनाले पुस १६ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । मुआब्जा विना संरचना हटाउन नहुने माग स्थानीयको थियो ।
दुई वर्षभित्र निर्माण गरिसक्ने गरि निर्माण सम्झौता भएको आयोजनाको कामले गति लिन सकेको छैन । केही ठाउँमा मुख्य सडकका लागि नाली निर्माण गर्ने र माटो भरानको काममात्र भएको छ । १ अर्ब ६८ करोड रुपैया लागत रहेको आयोजनाको काम निर्माणमा ढिलाई हुदा प्रगति न्यून रहेको आयोजना कार्यालयले जनाएको छ । धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव २ किलोमिटर लम्बाई रहेको ६ लेन सडक अन्तरगत मुख्य सडकको चौडाई रहने ३२ दशमलव २ मिटर रहने छ ।
एक वर्षमा जम्मा १० प्रतिशत काम
मोहना पुल–अत्तरिया ६ लेन सडक निर्माणको कार्य अहिलेसम्म सन्तोषजनक रहन सकेको छैन ।  निर्माण कार्य सुरु भएको करिब एक वर्ष पुग्दा जम्मा १० प्रतिशत काम मात्रै भएको छ । सडक सीमा क्षेत्रभित्रका संरचना नहट्दा कामले प्रगति लिन नसकेको ६ लेन सडक आयोजनाका सव इञ्जिनीयर भुपेन्द्र बडालले जानकारी दिए । उनले समयमा भौतिक संरचना नहटाउँदा र सर्वोच्च अदालतमै मुद्दा परेपछि निर्माण कार्य केहि समय अवरुद्ध हुँदा प्रगति नदेखिएको उनले बताए । उनले ६ लेन सडक सीमाभित्रको भत्काइएका संरचना हटाउनका लागि एक हप्ताको समय दिएको र सो अवधिमा नहटाए कानून बमोजिम कारबाही गरिने बताए । ‘भत्किएको संरचना हटाउनका लागि एक हप्ताको म्याद दिएका छौं’, उनले भने–‘फेरी पनि अटेर गरेमा अब कानूनी कारबाही हुन्छ ।’ संरचनाकै कारण निर्माण कार्यमा अवरोध भइरहेकाले समयमै अवरोध हटाइएमा निर्माणको कार्यले गति लिने उनले बताए ।  ६ लेन सडक विस्तारको कार्य पूरा भएपछि सवारी साधन आवात जावतमा सहजता आउनुका साथै दुर्घटना समेत न्यूनीकरण हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *