ग्यास्ट्रिकका लागि अलैंची उपयोगी

डा.आरएल श्रेष्ठ

अलैंची एक बहुवर्षीय वनस्पति हो । यसलाई ठूलो सुकुमेल पनि भन्ने गरिन्छ । जिन्जिबरेसी फेमेलीमा पर्ने अलैंचीका विश्वमा करिब एक सय ५० प्रजाति अस्तित्वमा रहेका छन् । अलैंचीको बिरुवाको जमिनभित्र राइजोम र जमिनबाहिर हावामा पातसहितको डाँठ हुन्छ । २ देखि ६ मिटर अग्लो हुने अलैंचीको ३० देखि ६० सेन्टिमिटर लामो तरबार आकार र हरियो रङ भएका पातहरू हुन्छन् ।

अलैंचीको फूल हल्का पहेँलो रङको हुन्छ । अलैंचीको फल अर्थात् क्याप्सुल व्यावसायिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । एउटा क्याप्सुलभित्र करिब ३ मिलिमिटर मोटाइ भएका ३० देखि ५५ ओटा सम्म बिउहरू पाइन्छन् । बिरुवाको मुख्य उपयोगी भाग बिउ हो जुन स्वादिष्ट मसलाको रूपमा विभिन्न प्रकारका परिकार र औषधीय गुण भएका कारण प्राचीन समयदेखि नै औषधिका रूपमा समेत उपयोग हुँदै आएको छ ।

अलैंचीको तेलमा काब्र्रोहाइडेट, फ्लाभोनोइडस, एमिनो एसिड्स, स्टेरोइड्स, टरपिन्स, ग्लाइकोसाइडस र टेनिन पाइन्छ । अलैंचीको तेलमा हुने यौगिकहरूको मात्रा प्रजाति, क्षेत्र र उमेरअनुसार फरक पर्दछ । कार्बोहाइडे«टलाई शक्तिको स्रोतको रूपमा लिइन्छ जुन अलैंचीमा प्रशस्त रूपमा पाइन्छ जुन स्टार्चको रूपमा सञ्चित भएको हुन्छ । अलैंचीमा करिब ४० प्रतिशत स्टार्च रहेको हुन्छ ।

त्यसैगरी फ्लाभोनोइडसले परागसेचनमा सहयोग गर्दछ । एमिनो एसिडस तथा स्टेरोइड्सहरू अलैंचीमा प्रशस्त मात्रामा पाइन्छन् । एमिनो एसिडबाट बन्ने प्रोटिनले कोषको बृद्धि तथा मर्मत गर्न मद्दत गर्दछ । टरपिनसमा हुने कडा गन्धका कारण, यसले बिरुवा तथा कीराहरूलाई अन्य उपभोक्ता र पारासाइटसबाट बचाउँछ । अलैंचीको तेलमा युक्यालिपटिकोल, टरपिनोल, क्यारियोफाइलिन, पाइनिन तथा लिमोनिनजस्ता टरपिनहरू पाइन्छन् ।

मुख्यतया अलैंची दक्षिण–पूर्वी देशहरू नेपाल, भारत, चीन र भुटानको भिरालो तथा ओसिलो जमिनमा करिब सात सयदेखि २१ सय मिटर उचाइमा खेती गर्ने गरेको पाइन्छ । अलैंची खेती गर्न प्रशस्त मात्रामा पानीको आवश्यकता पर्दछ तर बढी पानीले भने अलैंची खेतीलाई बिगार्दछ । वार्षिक करिब दुईहजारदेखि २५ सय मिलिमिटर वर्षा अलैंची खेतीको लागि उपयुक्त हुन्छ । अलैंची खेती गर्न कालो माटो र चारदेखि २० डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । उत्तिसको छाया भएको ठाउँमा अलैंची खेती गर्न उपयुक्त हुन्छ । उत्तिस उच्च पहाडी भेगमा पाइने, चाँडो बढ्ने एक प्रकारको पतझड वनस्पति हो ।

अलैंचीको नयाँ बिरुवा बिउ तथा सकर्सबाट उत्पादन गर्न सकिन्छ । नेपालमा अलैंची मुख्य नगदे बालीको रूपमा रहेको छ । नेपाल विश्वमा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो । इसिमोडको सन् २०१६ को तथ्यांकअनुसार विश्व बजारको ६८ प्रतिसत हिस्सा नेपाली उत्पादनले ओगट्दछ । अलैंची खेतीबाट नेपालका लगभग ३७ जिल्ला लाभान्वित भएका छन् । ताप्लेजुङ, पाँचथर र संखुवासभा मुख्य अलैंची उत्पादक जिल्ला हुन् । ताप्लेजुङ जिल्लाले मात्र करिब २४ सय टनभन्दा बढी अलैंची उत्पादन गर्दछ । तर हालका दिनहरूमा अलैंचीमा छिर्के, फुर्केजस्ता समस्याहरू देखिन थालेका छन् जसले उत्पादनमा ह्रास ल्याउन थालेको छ ।

आयुर्वेदिक उपचार पद्धतिअन्तर्गत अलैंचीको प्रयोग ग्यास्ट्रिकलगायत अन्य पेट तथा कलेजोसम्बन्धी समस्याविरुद्ध गर्ने गरेको पाइन्छ । अलैंची चिया तथा विभिन्न परिकारमा मसलाको रूपमा समेत प्रयोग गर्न सकिन्छ । अलैंचीमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटोरी, एन्टिमाक्रोबाइल, एन्टिअल्सर तथा एनालजेसिकजस्ता औषधीय गुणहरूसमेत पाइएको छ । यी विविध औषधीय गुण तथा मूल्यवान् नगदे बाली भएका कारण अलैंची खेतीलाई प्रवद्र्धन गरेर देशमा कृषि पेसा र अनुसन्धान क्षेत्रलाई एकसाथ अगाडि लग्न सके, संलग्न सम्पूर्ण पक्ष लाभान्वित हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *