महाकाली कोरीडोर निर्माणले तीव्रता पाउने संकेत

सुन्दरसिंह धामी दार्चुला,बैशाख २८

महाकाली करीडोर अन्तरगत पर्ने दार्चुला तिङकर सडक बन्न थालेको एक दशक बित्यो तर दार्चुलाका मानिसहरुको गाडी चढेर सामान ओसारपसार गर्ने सपना भने अधुरै रह्यो । मोटरमा पुग्ने हल्ला मात्र सुनियो, तर निर्माण कहिल्यै सम्पन्न भएन । सडक निर्माणका लागि आएको बजेट पनि वर्षैपिच्छे फ्रिज जाने गर्दछ, । त्रिदेशीय सीमा क्षेत्र तिब्बत पुग्न छोटो दूरीको यो सडकका लागि बजेट पनि आउँछ त र, फ्रिज भएर जान्छ, । खलंगाबाट तिङ्करसम्मको ६५ किलोमिटर सडक अहिले पनि निर्माणाधीन अवस्थामा छ । १० वर्ष भयो, सडकको निर्माणमा प्रगति देखिएको छैन ।

दार्चुला तिङकर सडक निमार्ण नभएर मानिसहरु दैनिक उपभोग्य सामानका लागि तुईनको यात्रा गर्न बाध्य छन् । सामान ल्याउनका लागि महाकाली नदीको भेलमा जानु पर्छ । संगै समान ल्याउनका लागि घरबाट हिडेका साथीहरु बेलुकी घर फर्किन्छन भने कोहि महाकाली नदीमै डुबेर ज्यान गुमाउँछन् । ब्यास, राप्ला, सुनसेरा, धौलाकोटका मानिसहरुले दैनिक यस्तै समस्या झेल्नु परेको सुन्सेराका शिक्षक पदमराज भट्टले बताए । स्थानीय होस् वा केन्द्रको निर्वाचन त्यसका लागि यो सडक मुद्दा बन्ने गरेको छ । निर्वाचनका बेला भनेका र गरेका वाचाहरु नेताहरुले भुलेको स्थानीयले आरोप लगाउँछन् ।

मंगलवारमात्रै मात्रै दार्चुला जिल्ला खुला दिसामुक्त घोषणा गरीयो त्यो कार्यक्रम्मा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भटट कार्यक्रमका प्रमुख अतिथि थिए तर उनलाई महाकाली नगरपालिका नगर प्रमुख हंशराज भट्टले कार्यक्रमबाटै दार्चुला तिंकर सडक तथा गोकुलेश्वर विमानस्थल सुचारु लगायतका पीडाहरु सुनाइए तर त्यो पीडा त्यहि दिनका लागि मात्र सीमित रह्यो । दार्चुलाबाट निर्वाचित प्रदेश सभा क्षेत्र न १ का साँसद गेल्बोसिंह बोहराले पनि दार्चुला तिंकर सडकलाई छिटो भन्दा छिटो सुचारु गरी निमार्ण कार्य अगाडि बढाउने बताए । उनले भने–दार्चुला तिंकर सडकका लागि करिब साढे ८ हजार किलोग्राम विस्फोटक पदार्थ यहि महिना भित्र ल्याउने प्रक्रिया थालिएको छ जीलेटीन आई पुग्यो भने महाकाली कोरीडोरको मुहार फेर्नेछौँ ।

दार्चुला तिंकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाका अनुसार विस्फोटक पदार्थ ल्याउन निर्माण व्यवसायीले रकम जम्मा गरिसकेका छन् । उनले भने, ‘गृह मन्त्रालयबाट स्वीकृति आउने वित्तिकै विस्फोटक पदार्थ खलंगा आइपुग्छ । तिङ्कर सडकका लागि बझाङको कालाङगाड जलविद्युत् आयोजनामा प्रयोग गर्न राखिएको करिब साढे ८ हजार किलोग्राम विस्फोटक पदार्थ ल्याउने प्रक्रिया थालिएको छ ।’
पछिल्लो समय महाकाली लोकमार्गको समानान्तर दूरीमा कोरिडोरको निर्माण थालिएपछि तिङ्कर सडकको चर्चा नै हराउन थालेको थियो तर केहि दिनमै जीलेटिन आउने आशाले खुसी भएको स्थानीय करवीरसिंह धामीले बताए । दार्चुलादेखि व्यास–१ को पिपलरसम्म १३५ किलोमिटर लम्बाइ छ । यो सडक निर्माण भए व्यासमा फल्ने स्याउले तराईको बजार लिन सक्ने थियो । उनले भने, ‘सडक नबनेका कारण हाम्रो स्याउ तराईले र तराईको धान हामीले चाख्न पाएका छैनौं ।’

त्रिदेशीय सम्बन्ध जोड्ने दार्चुलाको तिंकर सडकको काम एक दशकमा आधा पनि सकिएको छैन सदरमुकाम खलंगाबाट जिरो प्वाइन्ट मानेर निर्माण सुरु गरिएको सडकको ४० किलोमिटर ट्रयाक खोलिएको छ । सवारी भने २० किलोमिटरमा मात्र गुड्छ । स्थानीयले खलंगादेखि दुहुँ गाउँपालिकाको पिपलचौरीसम्म मात्र गाडी चढ्ने अवसर पाएका छन् । पिपलौचारीको भासु भीरमा रहेको चट्टान भत्काउन नसकेका कारण सडक विस्तारले गति नलिएको तिङ्कर सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताए ।

महाकाली कोरिडोरको लम्बाइ २९१ किमि छ । दार्चुला जोड्ने महाकाली लोकमार्ग अत्तरियाबाट खलंगासम्म ३०८ किलोमिटर छ । करिब तीन दशकअघि सुरु हुने भनिएको महाकाली कोरिडोरको गत वर्षबाट मात्र निर्माण कार्य सुरु भएको थियो ।

कोरिडोर अन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न ठाउँमा २२ किलोमिटर ट्रयाक खनिएको इन्जिनियर रैखोलाले बताए । सुरुको योजनाअनुसार दार्चुला–तिङ्कर सडक सम्पन्न हुनुपर्ने अवधि एक वर्ष मात्रै बाँकी छ । तिङ्कर सडकको योजना आर्थिक वर्ष २०६४÷६५ बाट सुरु गरी आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, यसलाई महाकाली कोरिडोरमा गाभेपछि आगामी २०७९ सालसम्मको लक्ष्य राखिएको हो । सडकको ट्रयाक खोल्न ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीहरूले समयमै काम सकेनन् । त्यसका लागि अधिकांश ठाउँमा विस्फोटक पदार्थ प्रयोग गरी चट्टान भत्काउनुपर्ने हुन्छ । उनले भने, ‘योजनाका ठेक्काहरूमा विष्फोटक पदार्थ नभएकै कारण कामले गति लिन पाएन ।’ पश्चिमटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *