हट्न सकेन दलितभित्रैको आन्तरिक छुवाछुत

धनगढी,जेठ ६

जातीय छुवाछुत विरुद्ध आवाज उठाउँदै आएको दलित समुदायभित्र आन्तरिक छुवाछुत कायमै रहेको छ ।
उच्च जातबाट हुने छुवाछुत अन्त्यका लागि सङ्घर्ष गर्दै आइरहेका दलित समुदायले आफैभित्रको आन्तरिक छुवाछुतलाई भने निरन्तरता दिएका छन् । दलितभित्रै आन्तरिक छुवाछुत हुने तितो घटनाहरु कैलालीमै घटिरहेका छन् ।

गत वैशाख ३१ गते आफूहरुले प्रयोग गर्दै आएको कुवा छोएको भन्दै विश्वकर्मा जातकाले दमाई जातका व्यक्तिमाथि कुटपिट गरेका थिए । गोदावरी नगरपालिकाको वडा नम्बर १२ स्थित बाँगेसालमा घटेको उक्त घटनालाई मिलापत्रमा टुङ्याइएको छ ।

गोदावरी गाविसका पूर्व अध्यक्ष भानसिंह विकका परिवारले आफ्नो कुवा छोएको भन्दै स्थानीय १९ वर्षीय सागर नेपालीमाथि कुटपिट गरेका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराउन खोजे पनि दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको छ । पिडक पक्ष भनिएका विश्वकर्मा जातले यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएपछि दुवै पक्षबीच शुक्रवार मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यहाँको गोदावरी नगरपालिका स्थित ओलानीमा दलितभित्रै छुवाछुतको अवस्था कहाली लाग्दो रहेको छ । सुगम जिल्लाको दुर्गम ठाउँ पर्ने ओलानीमा आफूलाई उच्च भनाउने विश्वकर्माले र तल्लो जात भनिएका दमाई, नेपाली, सार्कीबीच धेरै ठूलो विभेद रहेको छ । यी दुई जातकाले पानी खाने कुवा छुट्टाछुट्टै रहेका छन् । विश्वकर्माले आफ्नो कुवा तल्लो जातका दलितलाई छुन दिदैंनन् ।

यो पहिलेदेखि चलि आएको चलन रहेकाले तल्लो जातका दमाईहरुलाई कुवा छुन नदिने गरेको ओलानीकी अमृता विक बताउँछिन् । ‘यस्तो चलन यहाँ पहिलेदेखि नै रहि आएको छ’, उनल भनिन्–‘हामीहरु तल्लो जातको कुवामा जाँदैनौं । उनीहरुलाई पनि हाम्रो कुवा छुन दिदैनौं ।’

ओलानीमा आफूलाई उच्च ठान्ने सुनार, विश्वकर्मा, चुनारा, सार्की लगायतकाले दमाई जातकालाई तल्लो स्तरमा राखेका छन् । विश्वकर्मा र दमाई जातबीच मागी विवाह समेत हुने गरेको छैन । दमाईका भान्सामा पाक्ने खाना पनि खाँदैनन्, विश्वकर्माले । यसैगरी, दिएको पानी पिउदैनन् । र, आफ्नो कुँवा र भान्छामा पनि दमाईलाई छुन दिदैंनन् ।

विश्वकर्माहरुका लागि बनाइएको कुवामा नेपालीहरुलाई प्रवेश गर्न र पानी भर्नका लागि रोक लगाइएको अमृताले बताइन् । उनले अगाडि थपिन्–‘विकहरुले पहिले नै दमाई जातकालाई कुवामा आउन नदिने नियम बनाए । त्यसैले उनीहरु आउन पाउँदैनन् ।’गोदावरीको ओलानीमा दलित र गैरदलित दुवै समुदायको बसोबास रहेको छ । तर, बाहुल्यता दलितहरुकै रहेको छ । सुरुमा पानीका लागि झगडा हुन थालेपछि गैरदलित, दलितका लागि छुट्टाछुट्टै कुवा बनाइयो । तर, विश्वकर्मा र दमाई जातका दलित आफै पनि मिल्न सकेनन् । उनीहरुबीच नै छुवाछुत हुन थालेपछि दमाई जातका दलितको लागि छुट्टै कुवा बनाइएको हो ।

आफूहरुलाई दमाई भन्दै विश्वकर्मा जातकाले कुवा छुन नदिने गरेको सीता नेपालीले बताइन् । उनले अगाडि थपिन्–‘पहिलेदेखि नै विश्वकर्मा र दमाई जातकाबीच रहेको विभेद अहिलेसम्म पनि कायम छ ।’ओलानीको छुट्टाछुट्टै ठाउँमा बनाइएको कुवामा विक र नेपालीको कुवा भनेर लेखिएको छन् । विकको कुवामा सार्की, चुनारा, सुनार, कोली, भुल लगायतकाले भने पानी खान पाउने गरेको बताइएको छ ।

दलितभित्रको आन्तरिक विभेद निर्मूल नगरी उच्च जातिबाट हुने विभेद अन्त्य गर्न नसक्ने कविता विकल बताइन् । ‘हामीले यसबारे समूह मार्फत पटक–पटक छलफल चलाएका छौं’, उनले भनिन्–‘तर, बुढापाकाले मानेका छैनन् ।’ उनले दलितभित्रको आन्तरिक सहित सबै खाले विभेद अन्त्य गर्न आवश्यक रहेको जोड दिइन् ।
गोदावरी नगरपालिकाको वडा नम्बर ११ र १२ मा जातीय छुवाछुत र दलितभित्रै आन्तरिक छुवाछुत कायम रहेको नगरपालिका स्तरीय न्यायिक समितिका संयोजक एवम् उपप्रमुख रत्ना कडायतले बताइन् । उनले छुवाछुत विरुद्ध सचेतना अभिवृद्धिका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गरिन् ।
‘अस्ती घटेको घटना मैले पनि थाहा पाएँ । वडा नम्बर ११ र १२ मा यस्तो विभेद कायम रहेको छ’, उप्रमुख कडायतले भनिन्–‘यसको विरुद्धमा योजनाबद्ध रुपले अगाडि बढ्ने नगरपालिकाले कार्यक्रम बनाएको छ ।’

आन्तरिक छुवाछुत घटनामा मिलापत्र
कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमाईं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा ९इनार ०को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ ।

साविक गोदावरी गाविसका अध्यक्ष भानसिंह विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र कुटपिट गरिएपछि पीडित पक्ष जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गर्न गएका थिए ।

विकको परिवारले प्रयोग गर्ने गरेको कुवा छिमेकी गोपाल नेपालीको विवाहका दिन छोइदिएको भन्दै विक पक्षले सागरलाई कुटपिट गरेको स्थानीयवासी शंकर नेपालीले बताए । प्रहरी कार्यालयमा शुक्रबार दुबै पक्षको उपस्थितिमा पीडक भनिएका विक पक्षले अबदेखि यस्ता क्रियाकलाप नदोहो¥याउने प्रतिबद्धता जनाएपछि दुबै पक्षबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक हरि वलीले बताए ।

मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मीले गाविसका पूर्व अध्यक्षकै कुवामा पानी भरेको विषयलाई लिएर कुटपिट र गालिगलौंच गरिनु गम्भीर घटना भएको भन्दै पीडकमाथि कारबाहीको माग गरेका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने प्रयास गरेकोमा गाविसका पूर्व अध्यक्ष विकले राजनीतिक दवावमा मुद्दा दर्ता गर्न दिनबाट रोकेर माफी मागेको पीडित पक्षले बताएका छन् ।

देशमा थुप्रै पटक राजनीतिक परिवर्तन भए पनि कानूनी रुपमा दण्डनीय मानिएको जातीय छुवाछुत एवं विभेद्को समस्या प्रदेश नं ७ का जिल्लामा अझै पूर्णरुपमा अन्त्य हुनसकेको छैन । जसका कारण बेलाबखत दलित र गैरदलितबीच, दलित दलितबीच छुवाछुत र विभेद्का घटना हुने गरेका छन् । पछिल्लो समय गैर दलित र दलित बीचको छुवाछुत क्रमशःअन्त्य हुँदै गएको अवस्थामा दलित दलितभित्रैको बढ्दो छुवाछुतले थप चुनौती थपिएको धनगढी उपमहानगरपालिका–३ की दलित वडा सदस्य राधा विक बताउँछिन् । पश्चिमटुडेबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *