
दैलेखको डुंगेश्वर गाउँपालिकास्थित बिउराखेत खोलाको किनारमा रहेको राउटे वस्ती यति बेला हातमुख कसरी जोड्ने भन्ने पिरलोमा परेको छ। ‘जंगलमा सिकार गरौं भने बाँदर पाइन छाड्यो सरकारले काठ काट्नै दिँदैन।’ वस्तीको खाद्यान्न संकट पीडाबारे राउटे मुखिया सूर्यनारायण शाहीले आफ्नो व्यथा सुनाए। बाँच्नका लागि अब हामीसँग केही उपाय नै भएन मेरा जनता भोक भोकै मर्ने भए।
मुखिया सूर्यनारायण शाहीले भने, ‘सरकारले कहिलेकाहिँ बाँड्ने चामलले मात्र प्राण धान्न मुस्किल भयो। अब हामीलाई बजारको चामल होइन। बरु जंगलको काठ देऊ। यसैबाट हातमुख जोड्ने मेलो।’ खाद्यान्न जोहो गर्ने उपायको खोजीमा राउटे वस्तीका पुरुष नजिकैका गाउँ र वस्तीमा भौतारि रहेका हुन्छन्। काठका विभिन्न सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका उनीहरू पछिल्लो समय भोकमरीको जालोमा बेरिन थालेका हुन्।
सरकारी र सामुदायिक वनमा काठ काट्न रोक लगाइए पछि राउटे समुदायको हातमुख जोड्ने बाटो बन्द भएको हो। काठ काट्दा प्रशासनले समात्ने र जंगलमा सिकार समेत भेटिन छाडे पछि जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई खाद्यान्न अभाव र भोकमरी सँग जुध्नुपर्ने बाध्यता आइ लागेको छ।काठ काट्न नपाए पछि राउटे वस्ती बेरोजगार बनेको छ।
श्रम गर्न अन्य उपाय नहुँदा उनीहरू स्थानीय सँग मागेरै छाक टार्न बाध्य छन हातमुख जोड्न सकस भए पछि राउटे मुखियाले हिजो आज स्थानीय सरकार र प्रदेश सरकारसँग आवश्यक खाद्यान्न र जंगलमा काठ काट्ने व्यवस्था मिलाइदिन भन्दै हारगुहार गरिरहेका छन्। तर जंगल विनास हुने भन्दै डुंगेश्वर गाउँपालिका र स्थानीय वन उपभोक्ताले राउटेलाई जंगलमा प्रवेश गर्न दिएका छैन। मुखिया शाहीले भने, ‘सरकारले दिने भनेको भत्ता नपाएको धेरै भयो। मेरा जनता त भोकै मर्ने भए।’ डुंगेश्वर गाउँपालिकास्थित बिउराखेत खोला किनारको राउटे वस्तीमा हाल ४८ परिवार छन्।
जम्मा १७६ जनाको संख्यामा रहेका राउटेले यसअघि जंगलमा बाँदर र गुनाको सिकार गरेर छाक टार्ने गरेका थिए। तर पछिल्लो समय जंगली जनावार नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन्। ‘अचेल बाँदर पाउन छाड्यो मूला र काउली खाएर छाक टार्ने गरेका छौं,’ राउटे दलबहादुर शाहीले भने, ‘परिवार पाल्नै धौधौ भयो।
साना बालबच्चा कसरी जोगाउने जंगलमा काठ काट्न जाँदा पुलिसले समात्छ हामीलाई त बाँच्नै कठिन भयो।’ अर्का राउटे धनबहादुर शाहीले सरकारले दिने सहयोगको चामलले वस्तीमा नपुग्ने गरेको सुनाए। उनले भने, ‘कहिलेकाहिँ दिएको चिजले कति दिन धान्छरु पेटभरि खानै पुग्दैन।’ धनबहादुरले भने, ‘पहिला काठको सामान बेचेरै ढुक्कसँग परिवार पाल्न पुग्थ्यो। अहिले काठ नपाउँदा हामी भोकै बस्नुपर्छ।’
Leave a Reply