परम्परागत पहिरन बनाउन सिक्दै थारु युवती

कंञ्चनपुर जेठ,१७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् ।

राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र उनीयाँलगायतका पहिरन बनाउने सीप युवती सिक्न थालेका हुन् । परम्परागत पहिरन बनाउँदै आएका ज्येष्ठ महिलाबाट युवती पहिरन बनाउने सीप सिक्न थालेको वडाध्यक्ष जगता रानाले बताउनुभयो ।

बूढापाकाको ढल्किँदो उमेरसँगै हराउँदै गएको पहिरन बनाउने सीप सिक्नका लागि युवापुस्ताले चासो देखाएपछि वडा कार्यालयको तर्फबाट रु ५० हजार रकम प्रदान गरी पहिरन बनाउनका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

पहिरन बनाउनका लागि कपडाको चयन गर्ने, बुट्टा भर्ने, ऐना जडान गर्ने, हातैले सियोको मद्दतले सिउने, नापअनुसारको पहिरन तयार गर्ने कार्य सिक्न थालेको १५ वर्षीया उमा रानाले बताउनुभयो ।

“परम्परागत पहिरन हातैले बनाउनु पर्ने भएकाले समय बढी लागेपनि राना थारु समुदायलाई चिनाउने पहिलो पहिचानका रुपमा पहिरन रहेकाले यसको जगेर्नाका लागि सीप सिक्न थालेका छौँ” उहाँले भन्नुभयो ।

ज्येष्ठ महिलाले पालैपालो युवापुस्ताका युवतीलाई सीप हस्तान्तरण गर्न चासो देखाएपछि युवतीसमेत सीप सिक्नमा उत्सुक देखिएका छन् ।

आधा दर्जन ज्येष्ठ महिलाले २५ जना युवतीलाई पहिरन बनाउने सीप सिकाई दक्ष बनाएका छन् । युवतीले ज्येष्ठबाट सीप सिकेर चार जोडी पहिरन तयार गरेका छन् । एक पहिरन तयार गर्न झण्डै रु ११ हजारभन्दा बढी रकम लागेको छ ।

परम्परागत पहिरन तयार गर्न विभिन्न कपडाको मिश्रणसँगै कलात्मकरुपमा सजाउनु पर्ने भएकाले बढी खर्च आउने गरेको पहिरन बनाउने सीप सिकाउँदै आउनुभएका सवादादेवी रानाले बताउनुभयो ।

साधारण पहिरनभन्दा परम्परागत पहिरन महँगो हुने भएकाले पनि यसप्रतिको आकर्षण घटेको हो, उहाँले भन्नुभयो, “राना थारु समुदायको पहिचाननै पहिरनमा रहेकाले जगेर्ना गर्नु सबैको कर्तव्य हो ।” लोकान्तरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *