अब कर्मचारी, सेना र प्रहरीले एउटा बिरुवा रोप्नैपर्ने

काठमाडौं, जेठ,१८

वन तथा वातावरण मन्त्रालयले हरेक सरकारी कर्मचारी, सेना, प्रहरी लगायतले अनिवार्य रुपमा एउटा विरुवा रोप्नैपर्ने व्यवस्थासहित परिपत्र जारी गर्ने भएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आगामी २२ जेठमा प्रधानमन्त्री केपी ओलीले घोषणा गर्ने तयारी भएको नेपाल स्वच्छ वातावरण महाअभियान– २०७५ का सन्दर्भमा बिहीबार आयोजित अन्तरक्रियामा मन्त्रालयलका तर्फबाट उक्त जानकारी दिइएको हो ।

एक वर्षसम्म सञ्चालन हुने महाअभियानका क्रममा हरेक निजामति कर्मचारी, शिक्षक, सेना, प्रहरीसहित राष्ट्रसेवक कर्मचारीले अनिवार्य रुपमा एउटा रुख रोप्नका लागि अपिल गरिने छ । मन्त्रालयले उपत्यकासहित मुलुकका सबै शहरमा जनताले अनुभूत गर्न सक्ने गरी प्रदूषण नियन्त्रण, सरसफाई र फोहोरमैला व्यवस्थापन गर्दै खाली जमिनमा हरियाली प्रवद्र्धनको लक्ष्यसहित महाअभियान सुरु गर्न लागेको हो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गरेको चर्चा गर्दै संवैधानिक व्यवस्थाको पालनाका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री बस्नेतले सरकारले उच्च प्राथमिकताका साथ आमनागरिकका लागि स्वच्छ वातावरणमा बाँच्ने अवस्थाका लागि काम गर्ने स्पष्ट गर्नुभयो । उहाँले स्वच्छ वातावरणका लागि वातावरण ऐनलाई प्रभावकारी कार्यान्वयन र ऐनका केही प्रावधान पुनरावलोकन समेत गरिने बताउनुभयो ।

वातावरण र विकासलाई सन्तुलन गरी मन्त्रालयका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बस्नेतले स्वच्छ वातावरणका लागि जनचेतनामूलक कार्य गर्ने मात्र होइन आवश्यक परे हस्तक्षेपकारी भूमिका पनि निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा वन सचिव डा विश्वनाथ ओलीले यही जेठ २२ गतेको विश्व वातावरण दिवसका पूर्व सन्ध्यामा मन्त्रालयले साताव्यापी कार्यक्रम गरिहेको जानकारी गराउँदै मुलुकभर प्रभावकारी रुपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै काठमाडौँ उपत्यकामा लगायत देश भरका सबै शहरमा दैनिक उत्सर्जन हुने फोहोरमा २० प्रतिशतले कमी आउने, व्यक्ति र संस्थाहरुमा फोहोर आफैं व्यवस्थापन गर्ने प्रणालीको विकास हुने, देशभरमा ५० प्रतिशत प्लाष्टिक झोलाको प्रयोगमा कमी आई कपडा र कागजका वैकल्पिक झोलाको प्रयोगमा प्रवर्धन हुने मन्त्रालयले जनाएको छ ।

म्हाअभियानले शहरी क्षेत्रमा निर्माण भैरहेका सम्पूर्ण सडकहरु कालोपत्रे भै सडक धुलोमा उल्लेख्य कमि आउने, सडक, ट्राफिक व्यवस्थापन तथा विद्युतीय ठुला सवारी साधनको प्रवद्र्धनबाट शहरी धुलो र जोखिमपूर्ण मसिनो धुलोको मात्रामा कम्तिमा ३० प्रतिशतले कमि आउने मन्त्रालयको दाबी छ ।

समताअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *