सरस्वती नेपालीलाई अन्तर्राष्ट्रिय दर्नाल अवार्ड प्रदान गरिने

गोकर्ण दयाल बैतडी, जेठ २६

बैतडी सरस्वती नेपालीलाई सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ प्रदान गर्ने निर्णय गरिएको छ । छनौट समितिले प्रेसविज्ञप्ती जारी गर्दै उक्त अवार्ड पाउनुहुने बैतडीकी सरस्वती नेपालीलाई अन्तर्राष्ट्रिय समारोहबीच नगद पाँच लाख रुपियाँ र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।

सामाजिक न्यायको क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको सम्मान र कदर गर्दै दर्नाल अवार्ड निर्णायक समितिले अभियन्ता सरस्वती नेपालीलाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

यो अवार्ड प्रत्येक दुई वर्षमा १५ अगस्टमा प्रदान गरिन्छ । १५ अगस्टमा सुभाष दर्नालको असामयिक मृत्यु भएको थियो । सुभाष दर्नालकी पत्नी एवं जीवन–संगिनी सरिता परियारले यो अवार्ड स्थापना गरेकी हुन । सरिताको नाममा दर्ता भएको ट्रष्ट फण्डले जागरण मिडिया सेन्टरसँगको साझेदारीमा यो अवार्ड वितरण गर्दै आएको छ । जागरण मिडिया सेन्टर दलित अधिकारका मुद्दाका लागि क्रियाशील अगुवा मिडिया संगठन हो ।

को हुन सरस्वती नेपाली ?
सुदूरपश्चिमको दलित परिवारमा जन्मिनुभएका सरस्वती नेपालीले दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकी छिन् ।
नेपालीको संयोजकत्वमा रहेको भूमिअधिकार मञ्चले सन् २००८ देखि २०११ सम्म सुकुम्बासी दलित समुदायलाई जमिन दिलाउने गरी संघर्षको अगुवाइ गरेको थियो । मञ्चको नेतृत्वमा भएको सोही संघर्षका कारण ३७ घर–परिवारले दुई रोपनीका दरले जमिन र लालपुर्जा प्राप्त गरेका थिए ।

सुकुम्बासी, हलिया, खलिया र हिंसामा परेका महिलासंगै जातीय विभेदमा परेकाहरुले बैतडीमा सबैभन्दा पहिले सम्झिने नाम हो सरस्वती नेपाली । दुई दशदेखि सामाजिक आन्दोलनमा सक्रिय बैतडीकी सरस्वती नेपाली भएको जागिर छोडेर भूमिहीन, सुकुम्बासी, लैङ्गिक समानता, जातीय विभेद अन्त्यका लागि दुई दशकदेखि अनवरत सक्रिय छिन् ।

हिंसामा परेका महिलाहरुको संरक्षणका लागि बैतडीमा पहिलो पटक सेफहाउस निर्माण गरेर न्यायका लागि महिलाहरुलाई सहयोग गर्दै आइरहेकी छिन् । सरस्वती आफू अविवाहित भए पनि उनीसंग घरेलु हिंसामा परेका, श्रीमानले दोश्रो विवाह गरेर पीडित भएका महिला, हलिया, सुकुम्बासीहरु न्याय र संरक्षणका लागि आउने गरेका छन् ।

महिलाहरुमाथि हुने हिंसा र दोश्रो विवाह रोक्न श्रीमान र श्रीमतिको नाममा संयुक्त लालपुर्जा बनाउने अभियानको सुरुवात गरेर बैतडीको दोगडाकेदार गाउँपालिका श्रीकोटका ३७ परिवार सुकुम्बासी दम्पतीको नाममा संयुक्त लालपूर्जा बनाएर सम्पत्तिमा महिलाको हक स्थापित गर्न सफल भएको सरस्वती नेपालीले सुनाइन् ।
संयुक्त लालपूर्जा पाउने ३७ परिवार मध्येकी सुन्दरी भुल सरस्वती नेपालीको संघर्षका कारण राज्यबाट न्याय पाएको बताइन् ।
२०६७ सालदेखि सुरु भएको संयुक्त लालपूर्जा अभियान अहिले नेपाल सरकारले आफ्नो नीतिभित्र समेटेर संयुक्त लालपूर्जा बनाउने श्रीमान श्रीमतीलाई एकसय रुपियाँ मात्र सरकारी राजस्व लिएर छुटको व्यवस्था गरेको सरस्वतीले बताइन् ।
भूमिहीन महिला किसानलाई संगठित गर्दै मासिक बचत गर्न भूमिमा महिला कृषि सहकारी संस्थाको अवधारणा ल्याएर २०६८ सालदेखि भूमिहीन महिलाहरुलाई विभिन्न आयमूलक काम गरेर बचत गर्न सिकाउने अभियानमा हुनुहुन्छ । बैतडीको दशरथ चन्द नगरपालिका–४ को जर्ग वस्तीमा दलित महिलाहरु अधिकार र सम्मानको लडाईसंगै आयजर्जनका लागि तरकारी खेतीमा सक्रिय छन् ।

दशरथचन्द नगरपालिका–४ खलंगामा २०३८ सालमा जन्मेकी सरस्वती नेपाली ६ महिनाको हुँदा बुवाको निधन भएपछि निकै दुःखमा हर्किन् । नेपाली सेनामा जागिरे रहेका बुवा नन्द नेपालीको निधन हुँदा तीन जना दाइहरु पनि सानै थिए । दाइहरुले पछि सरकारी जागिर पाएपछि पारिवारिक अवस्था सामान्य रह्यो ।

आर्थिक अवस्थाले गर्दा प्रवीणता प्रमाण पत्र तह भन्दा अगाडि अध्ययन गर्न नसकेर पढाई छोड्नु पर्ने बाध्यता रहेको उनी बताउँछिन् । बैतडीमा रहेको हलियाप्रथा, सुकुम्बासी समस्या र जातीय विभेद र महिलाहरुमाथि हुने हिंसाका घटनाले मानसपटलमा गहिरो छाप छोड्यो ।

‘स्कुल पढ्दा विभेदकै कारण पानी खान नपाउँदा पानीको तिर्खा लाग्दा घर दगुर्नु पर्ने बाध्यता थियो । महिनावारी भएका महिलामाथि पनि त्यस्तै विभेद थियो । मान्छेले मान्छेमाथि गर्ने यस्तो विभेद,हलिया प्रथा, सिनो प्रथा देख्दा यस्तो परम्परा हटाउनु पर्छ र त्यसका लागि आफै अग्रसर हुनुपर्छ भन्ने लागेर २० वर्षदेखि सामाजिक आन्दोलनमा छु’ सरस्वतीले सुनाइन् ।
जातीय विभेद, भूमिहीन सुकुम्बासी समस्या, हलिया प्रथा र महिला हिंसा बिरुद्ध दुई दशकदेखि आन्दोलनमा सक्रिय सरस्वती नेपाली देशका ४५ जिल्लामा सामाजिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै दक्षिण एसियाका १४ देशका भूमिहीन किसानहरुको जनादेश यात्रा सन् २००७ मा अन्तराष्ट्रि सम्मेलनमा सहभागी भइन् ।

भारतको ग्वालियरदेखि दिल्लीसम्म १७ दिनको पैदलयात्रामा सडकमै हिँडेको र सडकै बोरा ओछ्याएर २५ हजार भूमिहीन किसानसंगको त्यो रोमाञ्चित र अविस्मरणीय यात्राले सामाजिक आन्दोलनप्रतिको लगाव बढाएको सरस्वतीले सुनाइन् । यसैबीचमा भारतमा ग्वालियरमा भएको एशिया स्तरीय शान्ति तथा अहिंसात्मक आन्दोलन विषयक कार्यक्रममा सक्रिय सहभागी भन्दै प्रथम पुरस्कार पाएपछि सामाजिक आन्दोलनमा लाग्ने उर्जा मिलेको नेपाली बताउँछिन् ।

२०६२-२०६३ सालको जन आन्दोलनमा सक्रियभएर लागेकी सरस्वतीलाई जन आन्दोलन आयोजक समितिले सम्मान गर्दा थप हौसला प्रदान गरेको उनी सुनाउँछिन् । जनआन्दोलन सम्पन्न भएपछि उनी २०६७ सालमा शान्ति समिति बैतडीको संयोजक भएर द्वन्द्व पीडितहरुलाई समाजमा पुनःस्थापनाका लागि राहत, पुनःस्थापनासंगै घाईते, विस्थापित र बेपत्ताहरुको अवस्था अध्ययन गरेर दुई वर्ष काम गरिन् ।

महिला मानव अधिकार रक्षक संजालले २०६८ मा महिला ंिहसा अन्त्यका लागी सुरु गरेको पदयात्रामा डडेल्धुरादेखि काठमाण्डौसम्म सहभागी भएर आफ्नो जिल्लामा महिला अधिकारको पक्षमा प्रष्टरुपमा आवाज उठाउन निरन्तर संघर्षरत रहिन् ।
२०७१ सालमा लामो समयसम्म भूमि आन्दोलनमा सक्रिय भएर काम गर्दैजाँदा जिल्लामा गठित सुकुम्वासी समस्या समाधान आयोगको सदस्य पदमा रही सुकुम्बासी, भुमिहीनहरुको लागि काम गर्ने अवसर प्राप्त गरेर बैतडीका भूमिहीन र सुकुम्बासीका समस्या पहिल्याउन काम गरेको नेपालीले बताइन् ।

लामो समयसम्म, जातीय विभेद सिनो प्रथा, हलिया, महिला हिंसा विरुद्ध सक्रिय भई आन्दोलनमा सहभागी भएको भनि हलिया महासंघमार्फत सम्मानीत भए पश्चात आन्दोलन गर्न जिम्मेवारी थपिएको महसुस गराएको उनी बताउँछिन् ।
महिला हिंसा, हलियाप्रथा, सिनोप्रथा विरुद्ध आवाज उठाउँदा विभिन्न खालका ज्यान मार्ने धम्की सहनु पर्ने चुनौती समेत सरस्वती नेपालीलाई आए । २०६४ सालमा जातीय विभेदबिरुद्ध आवाज उठाउँदै शैलेश्वरी मन्दिर प्रवेशको घाईते हुँदा पनि सामाजिक आन्दोलनमा अनवरत र अविचलित भएर लागेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *