दुर्गम गाउँको अस्पतालमा पहिलो पटक आन्द्राको सफल शल्यक्रिया

अछाम, जेठ २९

अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुग्नुभएका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको गत सोमबार सफल शल्यक्रिया गरिएको हो । आन्द्रामा समस्या भएका उहाँले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, अस्पताललाई धन्यवाद भन्नुभयो ।

बिरामीको प्रकृति हेर्दा आइसियुको सुविधा भएको अस्पतालमा राख्नु पर्ने भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले अन्यत्र लैजान नमानेपछि बयालपाटा अस्पतालमै उहाँको शल्यक्रिया गरिएको उपचारमा संलग्न डा.विकास गौचनले बताउनुभयो । उहाँले बिरामीका श्रीमतीले धनगढी नेपालगञ्ज लैजान मान्नु भएन बरु त्यसको सट्टा घर फर्किन्छौँ भनेपछि यही शल्यक्रिया गरिएको बताउनुभयो ।

उहाँका अनुसार यस्तो प्रकारको जटिल शल्यक्रिया अछाममा पहिलोपटक गरिएको हो । सुदूरपश्चिमको सेती अञ्चल अस्पतालबाहेक यस्तो प्रकारको शल्यक्रिया सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा हुन नसक्ने उहाँको भनाइ थियो । डा. गौचनका अनुसार यस्तो प्रकारको शल्यक्रिया प्राइभेट अस्पतलामा गराउँदा रु दुई लाखभन्दा बढी खर्च लाग्छ । बिरामी विष्ट खतरामुक्त अवस्थामा रहेको शल्यक्रियामा संलग्न डा पवन अग्रवालले बताउनुभयो ।

शल्यक्रियामा डा.बिवप्लव श्रेष्ठ, एनेस्थेसिया सहायक महेन्द्र कुँवर, नर्स नारन्ती महरा, कञ्चन चौधरी, स्वास्थ्य सहयोगी दीपा बम, लक्ष्मी विकलगायतको सहभागिता थियो । न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल र दोलखामा चरिकोट अस्पताल सञ्चालन गर्नुका साथै सामुदायिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेको छ । अस्पतालमा हाडजोर्नी लगायत सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान हुँदै आइरहेका छन् ।

समताअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *