तरकारीमा आत्मनिर्भर बन्दै ग्रामीण क्षेत्र

पदम बडाल दार्चुला,असार ७

दुई वर्षअगाडिको मात्रै कुरा गर्ने हो भने हिकिलाका स्थानीयले सदरमुकाम खलंगाबाट ४ घन्टाको बाटो पिठ्युँमा बोकेर खाद्यान्न घरमा पु-याउँथे । सदरमुकामबाट झन्डै ६ कोष उत्तरमा पर्ने हिकिलाका बासिन्दाले आवश्यक खाद्यान्न र तरकारी सदरमुकामबाटै बोकेर लैजान्थे ।

दार्चुला टिंकर सडकले हिकिलासम्मको ट्र्याक खोलेपछि खाद्यान्न बोक्नु त परेको छैन, तर सदरमुकाममै भर पर्नुपरेको छ । खाद्यान्नका लागि सदरमुकाममा भर पर्नुपरे पनि साग, तरकारीका लागि भने पूर्ण रूपमा खलंगामा भरपर्र्नेे अवस्थाको भने अन्त्य भएको छ ।

खाद्यान्न मात्र सदरमुकामबाट

दुहुँ गाउँपालिका वडा नम्बर २ का ईश्वरसिंह बडालले भने, ‘खाद्यान्न त सदरमुकामबाटै लैजानुपर्छ, तर विभिन्न तरकारी भने गाउँमै पाउन सकिने भएको छ । केही वर्षपहिले साग, तरकारी पनि सदरमुकामबाटै लिएर आउनुपथ्र्याे ।’

नजिकै व्यावसायिक तरकारी खेती सुरु भएपछि सदरमुकामबाट तरकारी आउने क्रम कम भएको अर्का स्थानीय आनसिंह बडाल बताउँछन् ।

साविकको हिकिला गाविसका सात वडा रहेको हिकिला गाउँलाई यसरी साग, तरकारीमा आत्मनिर्भरको बाटोसम्म पु-याउने किसान दुहुँ गाउँपालिका वडा नम्बर २ घोप्टेका हर्कबहादुर बम हुन् ।

भारतबाट फर्केर तरकारी खेती

उनले करिब २० वर्ष भारतको दिल्लीमा सुरक्षा गार्डको जागिरपछि तीन वर्षपहिले घर फर्किएर तरकारी खेती सुरु गरेका थिए । दिल्लीमा छँदा साग, तरकारी खाने बानी परेका उनले घरमा आएपछि त्यसका लागि सदरमुकाम धाउनुप-यो ।

त्यसपछि उनले हिकिलामै व्यासायिक तरकारी खेती गर्ने अठोट गर्दै काम सुरु गरे । अहिले करिब २४ वर्ग मिटरका दुई पोलिहाउस र १ रोपनी जग्गामा तरकारी खेती गरेका बमले दैनिक १० किलो टमाटर र ३ किलो सिमी बेच्ने गर्छन् ।

रायो, भन्टा, खुर्सानी, लसुन, प्याजसमेत उत्पादन गर्ने बमले आलुखेती पनि सुरु गरेका छन् । करिब एक वर्षपहिलेबाट यसरी तरकारी खेती सुरु गरेका बमले दुई पोलिहाउस निर्माण गर्न ४० हजार खर्च गरेका छन् भने करिब ११ सयजति बिउबिजनमा खर्च गरेका छन् ।

रोजगारी पनि दिए

आफ्नो परिवारका ५ जना सदस्यसहित आफू पनि निरन्तर खेतमा काम गर्ने बमले चन्द्रसिंह बडाललाई बजार प्रतिनिधिसमेत राखेका छन् । तरकारी बेच्ने र ग्राहाक खोज्ने काम बडालले गर्छन् भने तरकारी खेतीको सम्भार गर्ने काम आफैँ गर्छन् ।

अहिले आफ्नै खेतमा तरकारी सुरु गरेका बमले आउँदो सिजनबाट नजिकका जग्गाधनीहरूसँग जग्गा भाडामा लिएर तरकारी खेती गर्ने योजना रहेको सुनाए ।

बमले भने, ‘भाडामा कुरा मिल्यो भने ५० क्विन्टल आलु मात्रै रोप्ने योजना छ । अन्य मौसमी तरकारी त छँदै छ । आगामी वर्ष १२ रोपनीमा तरकारी खेती गर्ने योजना छ ।

बमले तरकारी खेती मात्रै सुरु गरेका छैनन्, कुखुरा पनि पालेका छन् । उनीसँग निरन्तर ८ देखि १० घरपालुवा र १५ देखि २० सम्म बोइलर कुखुरा हुन्छन् । कम मासु बेचिएको दिन १० किलो कम्तीमा पनि बच्ने उनले बताए ।

असहज काम

दार्चुलाका ग्रामीण क्षेत्रहरूमा कुखुरा पाल्ने काम दलित समुदायको हो भन्ने रुढिवादी भावना रहेको अवस्थामा हर्कबहादुर बमलाई कुखुरा पाल्नु सहज भने थिएन ।

तर, परिवर्तित समाजसँगै आफूलाई हिँडाउन चाहने बमले रुढिवादी टिप्पणीको ख्यालै नगरी व्यावसायिकता सुरु गरे र अरूलाई पनि यस्तो व्यावसाय अँगाल्ने प्रेरणा दिन थालेका छन् ।

कृषि र पशु जेटिएहरूले सोधेका वेला आवश्यक सल्लाह, सुझाब दिने गरेको भए पनि वडा कार्यालय र गाउँपालिकाको कार्यालयबाट आफूले कुनै सहयोग नपाएको उनले बताए ।

उनले भने, ‘सरकारी निकायबाट सहयोग पाए व्यावसायलाई अझै व्यवस्थित र उत्पादनमूलक बनाउ सकिन्थ्यो, सहयोग पाइएको छैन ।’

कृषक बमले व्यक्तिगत पहलमा तरकारी खेती सुरु गरेका भए पनि गाउँपालिकाले हिकिलामा १० पोलिहाउस वितरण गरी तरकारीमा आत्मनिर्भर हुने योजनालाई मूर्तरूप दिन थालेको छ ।

गाउँपालिकाबाट पोलिहाउस लिएका कृषकहरूले यही वर्षबाट तरकारी उत्पादन गर्न सुरु गर्ने र हिकिला पूर्ण रूपमा तरकारीमा आत्मनिर्भर हुने वडाध्यक्ष गोविन्दसिंह डडाल बताउँछन् । नयाँपत्रिकाबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *