ओत लाग्न पाएपछि मुसहर समुदाय खुशि

बिजय चालिसे नवलपुर,असार २६

नवलपुरको कावासोती १५ मा रहेका माझी मुसहर समुदायका विपन्न परिवारलाई १० वटा घर हस्तान्तरण गरिएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे १० वटा पक्कि घर मंगलबार माझी मुसहर समुदायका विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो ।

कावासोती नगरपालिका वडा नंबर १५ मा रहेका माझी मुसहर समुदायलाई नगर प्रमुख चन्द्रा कुमारी पुनले नवनिर्मित भवनको चावी हस्तान्तरण गरिन् । विपन्न आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७४/७५ को बजेटमा विनियोजित २० लाख रुपैयाँ अन्तर्गतको रकमबाट घर निर्माण गरिएको वडा नम्बर १५ का वडा अध्यक्ष देव नारायण महत्तोले जानकारी दिए ।

नगर प्रमुख पुनले स्थानीय तहको निर्वाचनका क्रममा आफूहरुले गरेको प्रतिवद्वता अनुसार काम गर्न पाउँदा निकै खुशी लागेको बताईन् । उनले चुनावी प्रतिवद्वतामा जनाए अनुसार कावासोती नगरपालिकाभित्र रहेका अति विपन्न माझी मुसहर समुदायका परिवारलाई क्रमैसँग घर बनाउँदै जाने बताइन् । नगर प्रमुख पुनले माझी र मुसहर परिवारका बालबालिकाहरु बिद्यालयको पहुँच बाहिर भए तत्काल विद्यालय भर्ना गर्न अनुरोध पनि गरिन् ।

आवास प्राप्त गर्ने जगदिश मुसहरकी आमा जित कुमारी मुसहरले घाम पानी ओत्न नसक्ने घरमा बस्न बाध्य भएको अवस्थामा नगरपालिकाले घर निर्माण गरिदिएपछि सहज भएको बताईन् । उनले आगामी दिनमा पनि नगरपालिकाको यस्तो खालको सहयोगको निरन्तर अपेक्षा समुदायले राखेको बताईन् ।

८५ माझी मुसहर घरपरिवार रहेको उक्त वस्तिमा आगामी दिनमा पनि प्राथमिकताका साथ कार्यक्रम लैजाने नगरपालिकाको योजना छ । झुप्रोमा दिन रात कटाउन बाध्य माझी मुसहर समुदायले दुई कोठे पक्कि घरको चावी बुझेपछि नाच गाँन गर्दे खुशी मनाएका थिए । यसरी नयाँ घर पाउनेहरुमा श्याम बहादुर माझी, जगदिश मुसहर, भीम बहादुर मुसहर, शुकदेव मुसहर, बिष्णु प्रसाद मुसहर, गणेशसंग मुसहर, मोतीलाल मुसहर, लाल बहादुर मुसहर र मिन बहादुर मुसहर रहेका छन् ।

विष्णु प्रसाद मुसहरले नगरपालिकाले गरेको यस खालको मानवीय कार्यले आफूहरुको समुदायमा खुशियाली छाएको बताए । उनले भने ‘यहाँ अरु धेरै विपन्न परिवार छन् उनिहरुलाई पनि नगरपालिकाले आगामी दिनमा घर बनाईदिनेमा सबै आश्वस्त छन् ।’

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि पनि वडा नम्बर १३ का विपन्न परिवारलाई १० घर निर्माणका लागि बजेट विनियोजन गरेको छ । दैनिकनेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *