पर्यटन विकासका लागि गुरुयोजनामा जोड

धनगढी,असार ३२

प्रदेश नम्बर ७ मा पर्यटन विकासका लागि निश्चित गन्तव्यको पहिचान गरी सबैभन्दा पहिले पर्यटन गुरुयोजना बनाउनु पर्नेमा जोड दिइएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, फाया नेपाल र पर्यटन विकास समाजको संयुक्त आयोजना आइतवार धनगढीमा आयोजित प्रदेश नम्बर ७ मा पर्यटन प्रबद्र्धन र विकास छलफल कार्यक्रममा यस्तो जोड दिइएको हो । छरपष्ट गन्तव्यले कतै पनि विकास नहुने भएकाले निश्चित पर्यटन गन्तव्यको पहिचान गरेर अगाडि बढ्नु पर्ने सरोकारवालाले बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले यस प्रदेशमा पर्यटन विकासका लागि सकारात्मक रहेको जनाउँदै गुरुयोजना बनाएर अगाडि बढ्नु पर्ने बताए ।

उन्नले अहिलेसम्म कुरा गर्ने काममात्रै भइरहेको जनाउँदै यथार्थमा काम गर्नका लागि सबैलाई आग्रह गरे । मन्त्री बोहराले प्रदेश नम्बर ७ मा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि आफू प्रतिबद्ध रहेको बताए ।

‘यहाँको पर्यटन मन्त्रालयमा सानो तिनोमात्रै भए पनि टुरिज्म बोर्डको कार्यालय स्थापना गर्न सकिएमा काम अगाडि बढाउन सकिन्छ’, उनले अगाडि थपे–‘ यसतर्फ मेरो ध्यान गएको छ । साउनको अन्तिमसम्म पर्खनुहोस । अब टुरिज्म बोर्ड यहाँ आउँछ ।’

मन्त्री बोहराले जहाँ जे अवस्था छ, त्यस अनुसार नै पर्यटन विकासको कार्यक्रम हुनु पर्ने बताए । उनले हरेक प्रदेशमा रात्रिबिसौनी हुने गरी एक-एक वटा टुइन अटर विमान सञ्चालनको तयारीमा रहेको जनाए । ‘यसको लागि मन्त्रालय प्रक्रिया अगाडि बढाएको छ’, मन्त्री अधिकारीले भने ।

उनले भारतको दिल्लीबाट धनगढी, वा धनगढीबाट अन्य देशमा जहाज उडान हुन सकेमा पर्यटन विकास हुने बताए । मन्त्री अधिकारीले धनगढी विमानस्थलमा ८ महिनाभित्रै इक्वीपमेन्ट जडान गरिने उल्लेख गरे । ‘त्यसपछि राति पनि जहाज चल्नेछ ।’ उनले भने ।

मुलुकको विभिन्न क्षेत्रमा पर्यटन विकासका लागि संघीय सरकार, प्रदेश, स्थानीय सरकार र स्थानीय जनतासंग समन्वय गरेर मन्त्रालय अगाडि बढ्ने मन्त्री अधिकारीको भनाइ थियो ।

मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर मुलुकभरी एक सय र प्रदेश नम्बर ७ मा १० वटा पर्यटन गन्तव्यको छनोट गरिदैंछ । सात वटै प्रदेशको ‘ब्राण्डिङ’ लाई अगाडि बढाएको पर्यटन बोर्डले जनाएको छ ।

प्रदेश नम्बर ७ का प्रदेश सांसद पूर्णा जोशीले यो प्रदेशको पर्यटन आधार प्राकृतिक सम्पदा नै रहेको बताइन् । उनले पर्यटनको विकासको लागि योजना बनाएर संघ, प्रदेश र स्थानीय सरकारले कहाँ–कहाँ काम गर्नुपर्छ त्यो तोकिनु पर्ने उल्लेख गरिन् ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले प्रदेश नम्बर ७ मा ४६ प्रतिशत गरिबी रहेकाले पर्यटन विकासमार्फत गरिबी हटाउन खोजिरहेको बताए । उनले नेपाल पर्यटन बोर्डको कार्यालय खोल्नका लागि विगतबाट माग गर्दै आएकोमा अहिलेसम्म पूरा नभएको गुनासो गरे ।

कंचनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले संघीयता लागू भएपछि केन्द्र र प्रदेश दुवै सरकारले पर्यटनका लागि कम बजेट छुट्टयाएको बताए । उनले पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

शिक्षाविद डा. हेमराज पन्तले पर्यटन कनेक्टीभिटी नभएको उल्लेख गर्दै भारतको दुधुवा, नेपालको बर्दिया, शुक्लाफाँटा नेशनल पार्कलाई जोडेर पर्यटन प्याकेज बनाउनु पर्ने औंल्याए । उनले नेपालमा अहिलेसम्म आउने भारतीय पर्यटक नै मुख्य रहे पनि वनबासा नाकामा हुने अभद्र व्यवहारले एक पटक आएकाहरु दोस्रो पटक आउन नचाहेको उल्लेख गरे ।

प्रदेश सांसद डिल्लीराज पन्तले यो प्रदेशमा पर्यटन बोर्डको कार्यालय स्थापना नगरी नहुने बताए । उनले मोटर बाटोबाट आउने भारतीय पर्यटकलाई मध्यनजगर गरेर नाकाहरुको स्तरोन्नति गर्न जरुरी रहेको औंल्याए ।

‘गौरीफन्टादेखि उरै नाका, खक्रौलादेखि उरै, बनवासादेखि उरैसम्म जाने व्यवस्था गर्न सकिएमा भारतको यूपी, अत्तराखण्ड, दिल्लीबाट धेरै पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने–‘किनभने, यो तीन प्रान्तमा मात्रै भारतको ३० करोड जनसंख्या छ । उरै नाका खोलिएमा मानसरोवरसम्म जानको लागि यी नाकाहरु सबैभन्दा छोटो दूरीको हुनेछ ।’

सांसद पन्तले युद्धस्तरमा काम हुन सकेमा धेरै भन्दा धेरै भारतीय पर्यटक भित्र्याउन सकिने बताए ।

कार्यक्रममार्फत सांस्कृतिक, प्राकृतिक, पुरातात्विक, जल, खेल, धार्मिक पर्यटनको विकास हुनु पर्नेमा जोड दिइएको छ । धनगढीमा हुने क्रिकेट प्रतियोगिताको क्रममा अहिले पनि धेरै पर्यटक भित्रिने गरेकाले ‘ड्रीम फाप्ला अभियान’ लाई महत्वका साथ अगाडि बढाउन जोड दिइएको छ । यसैगरी, धार्मिक पर्यटन विकासका लागि पनि पहल गर्न जोड दिइएको छ ।

यो प्रदेशमा पर्यटन विकासका लागि नागरिक समाज, निजी क्षेत्र, स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने जनाइएको छ । संघीय र प्रदेश सरकारको पर्यटन नीतिलाई मध्यनजर गर्दै स्थानीय सरकारले पर्यटन विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकार्षण गराउँदै आयोजकले यहाँ पर्यटन बोर्डको कार्यालय स्थापना गर्नु पर्ने, पर्यटकीय क्षेत्रको अध्ययन गरेर नेपाल पर्यटन बोर्डले गन्तव्य सूचीमा राख्नु पर्ने माग गरेका छन् । यसैगरी, ड्रिम फाप्लाको प्रबद्र्धन, गौरीफन्टा, वनबासा नाकाको स्तरोन्नति, उरै नाकाको स्तरोन्नति गर्नु पर्ने माग गरिएको छ ।

प्रदेश नम्बर ७ को धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने र यहाँबाट विदेश सहित पहाडी जिल्ला, पोखरा लगायतका सहरमा आन्तरिक उडान हुनु पर्नेमा जोड दिइएको छ ।

यसैबीच, पर्यटन विकास समाज कैलालीले यहाँको पर्यटकीय क्षेत्रको बारेमा सजिलै जानकारी लिन सक्ने उद्देश्यले बनाएको पर्यटन नक्शा मन्त्री अधिकारीलाई हस्तान्तरण गरेको छ । टीडीएसका पर्यटनविज्ञ सञ्जयकुमार चौधरीले नक्सा हस्तान्तरण गरे । उनले पर्यटन विकासका लागि टीडीएसले विगतदेखि नै काम गर्दै आएको जानकारी दिए । पश्चिमटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *