मानसिक समस्या भएका बेसहारालाई सहारा

धनगढी,साउन ४

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको एउटा पुरानो घर । चारैतिर पर्खाल रहेको त्यो घरको मुल गेटमा भित्रबाटै नियमित ताला लगाइएको हुन्छ । घरभित्र राखिएका नौ जना मानसिक समस्या भएका महिलाहरुको सुरक्षाका लागि त्यस्तो गर्नु परेको हो ।

‘ताला लगाइएन भने उनीहरु भाग्न खोज्छन्’, ती महिलाहरुको स्याहारमा संलग्न भोलेन्टियर ललिता चौधरीले भनिन्–‘सुरक्षाको लागि सधैभरी गेटमा ताला लगाइ राख्नु पर्दछ ।’ मानवीय भावना भएका केहि व्यक्तिहरुको पहलमा मानसिक समस्या भएकाहरुलाई स्याहारका लागि घरमा ल्याइएको हो ।

सहारा नभएका महिलाहरु, जो मानसिक रुपमा पनि विक्षिप्त छन् । तिनीहरुको स्याहार गर्नु कम्ती चुनौतीको विषय होईन । तर, ठूला हृदय र मानवीय भावना भएका केहि व्यक्तिले सडकबाट उठाएर त्यस्ता असहायलाई सहारा दिएका हुन । उनीहरुको दिनहुँ स्याहार पनि गरिरहेका छन् ।

व्यक्तिगत रुपमा सम्भव नभएकाले दृष्टि फाउण्डेशन नेपाल नामक संस्था दर्ता गरी ती महिलाहरुलाई राखिएको छ । उनीहरुलाई प्रदेश नम्बर ७ को विभिन्न जिल्लाको सडकबाट उठाएर यहाँ ल्याइएको हो । अहिले एक विदेशी सहित नौ जना महिला सो संस्थाको संरक्षणमा छन् ।

मानसिक अवस्था ठीक नभएका कारण उनीहरु सडकमा निकै दयनीय जीवन गुजार्दै आएकाले मानवीय भावनाका साथ ल्याएर संरक्षण दिएको सो संस्थाका अध्यक्ष कल्पना भट्टले बताइन् । ‘सडकमा रहँदा यिनीहरुको अवस्था निकै दयनीय र दया लाग्दो थियो’, उनले भनिन्–‘हामीले अहिलेसम्म नौ जनालाई उद्धार गरेर ल्याएका छौं ।’

दृष्टि फाउण्डेशन नेपालले वैशाख महिनाबाट त्यस्ता महिलाहरुको उद्धार गर्न सुरु गरेको थियो । अहिले एक विदेशी सहित नौ जना छन् । तीमध्ये दुई जना गर्भवती छन् । सडकमा रहँदा पटक–पटक बलात्कृत भइ उनीहरु गर्भवती भएको बताइएको छ । एक महिला सातौं र अर्की एक चौथो पटक गर्भवती भएकी छन् ।

फाउण्डेशनका अध्यक्ष भट्टका अनुसार चौथो पटक गर्भवती भएकी महिलाले दुई बच्चा सडकमा जन्माएकी थिइन् । ती दुई बच्चालाई कुकुरले खाइ दिएका थिए । उनले जन्माएको एक बच्चालाई भने कसैले सहारा दिएका छन् । त्यसैगरी, सातौं पटक गर्भवती भएकी महिलाले तीन बच्चा घरमा जन्माएकी थिइन् । त्यस्तै, तीन बच्चा सडकमा जन्माउँदा मरेको बताइएको छ ।
गर्भवतीमध्येका एक महिला राति ‘मामा, मलाई न तान्नुस’ भनेर कराउने गर्दछिन् । उनी सधैंभरी मामा भनेर कराउने, डराउने, रुने गरेकाले मामा नाता पर्नेबाट बलात्कृत भइ त्यस्तो अवस्थामा पुगेको हुन सक्ने अनुमान गरेको अध्यक्ष भट्टले बताइन् ।

सडकबाट उनीहरुलाई उद्धार गरेर ल्याउँदा सेन्ट छर्किदैं ल्याउनु परेको थियो । तर, फाण्डेशनको संरक्षणमा राखेर स्याहार गरेपछि आ–आफ्ना चप्पल, कपडा चिन्न सक्नेसम्मको भएको अध्यक्ष भट्टले जनाइन् ।

दृष्टि फाउण्डेशनको कुनै पनि आयस्रोत छैन । यहाँ रहेको हिल वल्र्ड विद्यालय र छरछिमेकका व्यक्तिले गरेको खाद्यान्न सहयोगको भरमा ती असहायहरुको पेट भर्ने काम भएको छ । समुदायबाट धेरथोर सहयोग भइरहे पनि उनीहरुको व्यवस्थापनमा निकै समस्या रहेको फउण्डेशनका राजकुमारी चौधरीले बताइन् ।  ‘मानसिक समस्या भएका बेसहाराहरुलाई सहारा दिन पाउँदा निकै खुशी भएका छौं’, उनले भनिन्–‘तर, व्यवस्थापन गर्न गाह्रो छ ।’

प्रदेशको विभिन्न जिल्लामा गरी अझै पनि सडकमा त्यस्ता करिब २१ जना महिलाहरु रहेको बताइएको छ । तर, सीमित ठाउँ रहनु र आर्थिक अभावका कारणले सबैलाई ल्याएर राख्न नसकिएको अध्यक्ष भट्टको भनाइ छ । उनले संरक्षणमा रहेकाहरुलाई व्यवस्थापन गर्न र थप अरुलाई पनि सहारा दिनका लागि घरको पछाडि एउटा टहरा बनाउन आवश्यक रहेको बताइन् ।
‘स्रोत, साधन नहुँदा टहरा बनाउन सकिएको छैन’, भट्टले भनिन्–‘मानसिक समस्या भएकाहरुको व्यवस्थापनको लागि प्रदेश सरकारले पनि केहि गरेको छैन ।’ बेसहाराको संरक्षण गर्ने दायित्व राज्यको भए पनि ध्यान नदिंदा सङ्घसंस्थाले गर्नु परेको उनको भनाइ छ ।

यसैबीच, बिहीवार रोटरी क्लब अफ धनगढीको टिमले संरक्षण दिइएका असहायहरुको वस्तुस्थितिको अध्ययन गरेको छ । रोटरी क्लबका अध्यक्ष पुष्कर ओझा सहितको टोलीले महिलाहरुको अवस्था, भौतिक अवस्थाबारे बुझेको थियो । रोटरीले सक्ने सहयोगको प्रतिबद्धता समेत जनाएको छ । पश्चिमटुडेबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *