पानी चल्दैन तर मूर्तिको पूजा हुन्छ

देवनारायण साह, मोरङ

‘म मुसहर समुदायको हुँ र मुसहर भन्ने बित्तिकै जोसुकैले समाजमा हिन भावनाले सम्बोधन गर्छन्,’ उनले भने, ‘समाजमा मेरो मैले छोएको पानी चल्दैन तर मैले बनाएको मूर्तिलाई सबैले पूजा गर्छन् ।’ भाद्र ३०, २०७५ मोरङको बुढीगंगा २ टंकिसिनुवारीका रामदास ऋषिदेवलाई यतिबेला माटोको मूर्ति बनाउन भ्याई नभ्याई छ ।

उनले विराटनगर २ दुर्गाचोकमा सोमबार हुने विश्वकर्मा पूजाका लागि ५० वटा मूर्ति बनाएको हो । मूर्तिमा रंग भर्न र सजाबटका लागि उनलाई दिनरात भ्याई नभ्याई छ । एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्मको विश्वकर्माको मूर्ति बनाएको रामदासले बताए । ‘केही मूर्ति पहिले नै अर्डर लिएर बनाएको र बाँकी धमाधम बुकिङ्ग भइरहेको छ,’ उनले भने, ‘मूर्ति बेचेर भएको आम्दानीले परिवार पाल्दै आएको छु ।’ उनले विराटनगरको दुर्गा चोक र टंकिसिनुवारीमा दशैंमा भगवतीको मूर्ति बनाउन सम्झौता भइसकेको सुनाए ।

दुबै ठाउँमा मूर्ति बनाउन ४५ हजारमा सम्झौता भएको उनी भन्छन् । दुबै ठाउँमा १५ वर्षदेखि भगवतीको मूर्ति बनाउँदै आएको रामदासले सुनाए । उनले गणेश चतुर्थी, कृष्णजन्माष्टमी, दिनाभद्री, सरस्वती पूजामा मूर्ति बनाएर बिक्री गर्दै आएको छ । फुर्सदको बेलामा सिमेण्टको समेत मूर्ति बनाउने गरेको उनको भनाई छ ।

मूर्ति बनाउन उनकी पत्नी बिहाबत्तीदेवी र छोराहरु बच्चु र ध्यानीदासले सघाइरहेको उनले सुनाए । सुकुम्बासी परिवारका उनले गरिबीका कारण अक्षर चिन्न सकेनन् तर मूर्ति बेचेर भएको आम्दानीले छोराहरुलाई बोर्डिङ्ग स्कूलमा पढाइरहेको छ । रामदासले जेठो छोरा बच्चु ऋषिदेव कक्षा ८ मा र कान्छो ध्यानीदास कक्षा ४ मा पढिरहेको बताए ।

‘मूर्ति बनाउने सिजनमा छोराहरुले पनि सघाउन लगाउने गरेको छु,’ उनले भने, ‘मूर्ति बनाउने कला सिक्नुका साथै ध्यान केन्द्रित गर्ने सीपको समेत विकास गराउनका लागि छोराहरुलाई काममा सघाउन लगाउँछु । यसले पढाइको बेला पूर्ण रुपमा ध्यानकेन्द्रित गरेर पढ्न मद्दत मिल्छ ।’ छोराहरुको पढाई खर्च तिर्दैमा भएको आम्दानी सक्ने गरेको बचत गर्न नसकेको रामदासको भनाई थियो । ‘मूर्ति बेचेर नै जस्ता हालेर घर बनाएको छु,’ उनले भने, ‘मेरो जीवनको एउटै उद्देश्य भनेको छोराहरुलाई ठूलो मान्छे बनाउनु हो ।’

ठूलो मान्छेलाई समाजमा सबैले मानसम्मान गर्नुका साथै इज्जत गर्ने गरेको उनले बताए । ‘म मुसहर समुदायको हुँ र मुसहर भन्ने बित्तिकै जोसुकैले समाजमा हिन भावनाले सम्बोधन गर्छन्,’ उनले भने, ‘समाजमा मेरो मैले छोएको पानी चल्दैन तर मैले बनाएको मूर्तिलाई सबैले पूजा गर्छन् ।’ त्यसैले छोराहरुलाई ठूलो मान्छे बनाएर समाजमा प्रतिष्ठित देख्ने जीवनको एक मात्र उद्देश्य रहेको रामदासले सुनाए ।

‘दलित समुदायको जीवनस्तर उकास्नका लागि सरकारी तथा गैर सरकारी संघ संस्था मार्फत वर्षेनी करोडौं रुपैयाँ खर्च भइरहेको छ,’ उनले भने, ‘सरकारी तथा गैर सरकारी संघ संस्थाको कार्यक्रमले मुसहर दलितको जीवनस्तर जस्ताको त्यस्तै छ तर कर्मचारी र गैर सरकारी संघ संस्था चलाउनेको प्रगति दिन दुना रात चौगुणा भएको हेर्दा आश्चर्य लाग्छ ।’ उनले समाजिक परिवर्तनको एक मात्र माध्यम भनेको शिक्षा नै रहेकोले गुणस्तरीय शिक्षाका लागि छोराहरुलाई निजी विद्यालयमा पढाइरहेको बताए । छोराहरुको निजी विद्यालयमा चर्को शुल्क तिर्नु परेकोले अहिलेसम्ममा बचत गर्न नसकेको उनले सुनाए । कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *