आत्मरक्षाका लागि जुर्मुराए महिला

धनगढी,असोज २०

महिलामाथि बलात्कारका घटना बढिरहेका बेला कैलाली, कञ्चनपुरका महिला आत्मरक्षाका लागि जुर्मुराएका छन् ।

समस्या आइपरेको बेला पीडकमाथि ‘किक’, ‘पञ्च’ हानेर आफूलाई सुरक्षित बनाउनका लागि महिलाहरु जुर्मुराएका हुन । उनीहरुको लागि शनिवारदेखि धनगढीमा सुरु भएको आत्मरक्षा शिविरमा डेढ हजारले सहभागिता जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा महिलामाथि बलात्कार र बलात्कारपछि हत्याको घटना बढ्दै गएपछि महिला अधिकारवादी सङ्घ संस्थाहरुको समन्वयमा राष्ट्रिय गोजुरियो कराते दो सङ्घ, नेपालले महिलाका लागि एक हप्ते आत्मरक्षा शिविर सञ्चालन गरेको हो । महिलालाई किक, पञ्च हान्न सिकाउने र उनीहरुलाई आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्कुले विद्यार्थीदेखि गृहणीसम्मको सहभागिता रहेको छ ।

महिलालाई दिइरहेको आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुलाई आफ्नै रक्षाका लागि सक्षम बनाउनुका साथै आत्मविश्वासी पनि बनाउने आयोजक गोजुरियो कराते दो सङ्घ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले बताए ।

बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको सम्झनामा मौन धारण गरेर महिला आत्मरक्षा सम्बन्धी शिविरको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिलामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि प्रदेश सरकारले अभियान थाल्ने तयारी गरिरहेको बताए ।

कुरीति र कुसंस्कारका कारण महिला हिंसाको घटना बढेको उल्लेख गर्दै उनले भने–‘कुरीति र कुसंस्कारको अन्त्य नहुँदासम्म महिला हिंसाको अन्त्य हुँदैन । त्यसैले जनप्रतिनिधिको सहभागितामा सामाजिक कुरीति र हिंसा विरुद्ध अभियान सञ्चालन गर्दै छौं ।’

आत्मरक्षा तालिमबाट दुई सय जना प्रशिक्षक समेत उत्पादन गर्ने जनाइएको छ । उत्पादित ति प्रशिक्षकहरुमार्फत कैलालीको हरेक स्थानीय तहमा आत्मरक्षा शिविर सञ्चालन गरिने आयोजक नेपाल गोजुरियो कराते दो सङ्घ नेपालले जानकारी दिएको छ । पश्चिमटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *