समुदाय-प्रहरी साझेदारी कार्यक्रम सुरु

धनगढी,कार्तिक ११

नेपाल प्रहरीले ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको छ ।

शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आजदेखी राष्ट्रव्यापी रुपमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा एक समारोहकाबीच कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाले शान्ति सुरक्षा कायम गरी तिनै तहका सरकारलाई समृद्ध बनाउने केन्द्र सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पार्नु भयो । अपराध मुक्त समाज निर्माणका लागि सो कार्यक्रम ऐतिहासिक हुने मुख्यमन्त्री भट्टको भनाइ रहेको छ । कार्यक्रमको उदेश्य बारे जानकारी दिदै बरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले समाजमा दिगो शान्ति स्थापना गर्न सो कार्यक्रम सञ्चालन गरिन लागेको बताए ।

केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ । मुलुकमा हत्या, बलत्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *