दुनोट पकाएर बने लखपती

१२ वर्ष अगाडी १ लाखको ऋण शिरमा र गोजीमा ५० रुपैयाँ लिएर काभ्रेबाट काठमाडौँ पसेका, गुण राज चौलागाई, आज काठमाडौँको घट्टेकुलोमा आफ्नै डुनोट पकाएर बेच्ने व्यवसाय गरेर बसेका छन् । जीवनमा धेरै सङ्घर्षहरू गर्दै आज एक सफल पारिवारिक र व्यावसायिक यात्रामा आइपुगेका गुणराजले, उद्यमी नेपालको टीमसंग आफ्नो बितेका दिनहरूको सम्झना गर्दै गर्वका साथ आफ्ना कुराहरू बताए ।

७ वर्षको उमेरमा नै बाबा-आमा गुमाउनु परेको गुणराजले काठमाडौँ छिरेपछि सुरुका दिनहरूमा बसन्तपुरको एउटा साँघुरो कोठामा आफ्ना ९ जना साथीहरुसंगै कोचिएर बस्न थाले । त्यसपछि कहिले सिलिन्डर बोक्ने, कहिले पत्रिका बेच्ने त कहिले इनार खन्ने जस्ता जुनसुकै काम पनि गर्न उनी पछि हटेनन् । यति सङ्घर्ष गर्दा कमाएको पैसाले जसोतसो खान र बस्न त पुग्थ्यो तर उनको ऋण तिर्ने सपना भने पुरा हुनसकेन ।

जेठ उन्नाईस् गतेको राज दरबार हत्याकाण्ड नेपालको इतिहासकै लागि एउटा कालो रात बनेको थियो तर, गुण राजको लागि भने त्यो रात जीवनकै उज्यालोको सुरुवात बन्न पुग्यो ।

उनले भने, “यदि त्यो समयमा राज दरबार हत्याकाण्ड नभाको भए आज म यो ठाउँमा पुग्ने सोच्न पनि सक्दिन । मेरो टाउकोमा भएको ऋण कहिले उत्रिने थिएन ।”

सबैले भगवान् सरह मानेका राजा र पुरै राज परिवार नै मासिएको खबर पछि एककिसिमले सारा मुलुक नै शोकमा डुबेको थियो । बजारमा राजा र राज परिवारका तस्बिरहरू छ्याप छ्याप्ती बिक्री हुन थालेका थिए । त्यस बेला सम्भवत हरेक व्यक्तिको हातमा होस् वा उसको घरमा दैला माथि राजपरिवारको फोटोमा माला लगाएर तागिएकै हुन्थ्यो । गुण राजलाई भने फोटोको व्यापार आफूले टाउकोमा बोकेको ऋण तिर्नको लागि राम्रो उपाय जस्तो लग्यो । र उनी बाटोमा राजपरिवारको तस्बिर बेच्न थाले । त्यस बेला पाँच रुपियाँमा किनेको तस्बिर दुई सय देखि तिन सय रुपैयाँ सम्म बिक्री हुन्थ्यो । नभन्दै उनले केही समयमा नै आफ्नो बुबा९आमाको एक लाख रुपियाँको पुरै ऋण चुक्ता गर्न सफल भए । यसरी उनको जीवनको एउटा ठुलो खुड्किलो पार भयो ।

त्यस पछि उनले काठमाडौँमा अरू कामहरू पनि गर्न थाले । कहिले कोटेश्वरमा ठेलामा डुनोट बेच्ने त कहिले ग्यास सिलिन्डर पुर्‍याउने काम गरे तर जीवनको सङ्घर्ष भने कम भएको थिएन । त्यत्तिकैमा एक दिन आफूले सिलिन्डर पुर्‍याउने काम गरिरहेको ठाउँमा पनि साहुले कामबाट निकाली दिए । तर यस पटक भने उनी फेरि पनि काम खुस्कियो भनेर टाउकोमा हात लगाएर बस्ने स्थितिमा थिएनन् । आफूले राजपरिवारको तस्बिर बेचेकै भरमा त्यत्रो १ लाखको ऋण तिर्न सकेको कुराले उनको आत्मविश्वास बढी सकेको थियो र व्यापारबाटै पैसा कमाउन सकिन्छ र यो अरूको कामबाट केही हुँदैन भन्ने कुरामा उनी विश्वस्त भई सकेका थिए ।

त्यसपछि यस पटक भने उनीले आफैले दुनोट पाकएर बेच्ने व्यवसाय गर्ने सोच बनाए । जाउलाखेलको एउटा फाइनान्सबाट एक लाख बिस हजार रुपैंया ऋण पनि मिल्ने भयो र उनीले जाउलाखेलमै सानो पसल खोलेर डुनोट बेच्न सुरु गरे । गर्दागर्दै कमाइ राम्रो हुन थाल्यो र उनको हौसला बढ्दै जान थाल्यो ।

अहिले उनी काठमाडौँको घट्टेकुलोमा एउटा कोठा भाँडा लिएर डुनोतको व्यवसाय गरिरहेको भेटिन्छन् । यसबेलासम्म उनीको छोराले पनि आफ्नो काममा सघाउन थालीसकेका छन् भने उनीले आफ्नै कमाइबाट काभ्रेमा दुईवटा घडेरी पनि जोडीसकेका छन् ।

उनी हरेक दिन बिहान साढे तिन बजे उठेर डुनोट पकाउन थाल्छन् र बिहान पाँच बाजे तीरको झिसमिसेमा अडर पुर्‍याउन साइकलमा लिएर निस्कन्छन् । उनी अर्डर पुर्‍याएर नफर्कीउन्जेल उनको छोराले पसलमा बसिदिएर सघाउछन् र उनी फर्किए पछि छोरा स्कुल जान्छन् । यसरी दैनिक जसो उनीले चालिस देखि पचास ठाउँमा डुनोट बेच्न पुग्छन् ।

उद्यमी नेपालसँग कुरा गर्दै उनले भने “डुनोट पकाउने व्यावसायमा लगानी कम छ तर फाइदा धेरै छ, मासिक १०-२० हजार कमाउनका लागि विदेशिनु भन्दा आफ्नै देशमा बसेर केही गर्न चाहनेहरूको लागि डुनोट पकाउने व्यावसाय एउटा राम्रो काम हुनसक्छ । बरु हाम्रा दाजुभाइहरूलाई लगानी नभएर अफ्ठ्यारो छ भने म पनि हाली दिन्छु । अर्को भुल्नै नहुने कुरा के भने व्यवसाय भनेको बोलीले बिक्छ, त्यसैले व्यवसायीहरूले आफ्नो ग्राहकसँग बोल्दा बोलिबचनमा ज्यादै ध्यान पुर्‍याउनुपर्छ ।”

गुणराज परिश्रम गरे नेपालमै धेरै गर्न सकिन्छ भन्ने कुराको एउटा दह्रिलो उदाहारण हुनसक्छन् । आज उनी लाखौँको लागि प्रेरणाको स्रोत बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *