द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्न बेलायतमा ‘मिरा सांगीतिक साँझ’

काठमाडौं,चैत्र ११

‘सहिद स्‍मृति आवासीय माध्यमिक विद्यालय सुनसरी’का द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्न बेलायतमा ‘मिरा सांगीतिक साँझ’ हुने भएको छ।

‘मिलन च्यारेटी फाउन्डेसन नेपाल’, ‘अग्रगामी समूह बेलायत’ र ‘आदिवासी चलचित्र महासंघ बेलायत’को संयुक्त आयोजनामा मार्च ३० देखि बेलायतका विभिन्न सहरमा सांगीतिक साँझ हुन लागेको हो।

सांगीतिक साँझमा चर्चित गायक राजनराज शिवाकोटी र गायिका मिलन नेवारको प्रस्तुति रहनेछ। सो कार्यक्रम ३० मार्चमा द प्लेस ३५ स्टेसन रोड, ३१ मार्चमा गोल्डेन सिप ५०० नर्थहल्ट रोड, ६ अप्रिलमा एसफोर्ड र ७ अप्रिलमा द वेयर हाउस सेन्चुरी जक्सन रिडिङ रोडमा हुनेछ।

सहिद स्‍मृति आवासीय माध्यमिक विद्यालय २०६६ सालमा सथपना भइ इटहरीको भवानीपुरमा सञ्चालन भइरहेको छ। जहाँ सहिद तथा बेपत्ता परिवारका ४०० असहाय विद्यार्थीले शिक्षा पाइरहेका छन्। शिवाकोटी र नेवार विद्यालयका सद्भावना दूतसमेत हुन्।

गायिका नेवारले कार्यक्रममा उपस्थित हुनका लागि सबैमा अनुरोध गरेकी छन्। उनले भनेकी छन्, ‘पहिलो पाइला ३० मार्चमाबाट सुरु गर्न लागेका छौँ सबै आदरणीय दर्शक तथा स्रोतामा उपस्थितिका लागि अनुरोध गर्दछु।’

विद्यालयले सहिद, बेपत्ता तथा घाइतेका सन्ततीलाई जीवननिर्वाहमूखी शिक्षा प्रदान गर्दै आइरहेको छ। साँझमार्फत उठेको रकमबाट विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सीमान्तकृत, अल्पसंख्य तथा बहिष्करणमा पारिएका समुदायका बालबालिकालाई पनि शैक्षिक अवसर प्रदान गर्नेलगायतका काम गर्ने उद्देश्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *