बूढीगंगा जलविद्युत् आयोजनाको टेण्डर जेठमा

अछाम,चैत्र १४

अछामको बूढीगंगा जलविद्युत् आयोजनाको टेण्डर जेठमा खोलिने भएको छ । आयोजनाको अध्ययन सुरु भएको २३ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर टुङ्गो लगाई जेठमा टेण्डर खोलिन लागिएको हो । विस्तृत परियोजना प्रतिवेदन बनाउन भएको ढिलाइले आयोजना झन्डै ३ वर्ष लम्बिने भएको छ ।

यसअघि २०७७ सालभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा अब २०८० भित्रै आयोजना सक्ने योजना बनाएको छ । अछाम हुँदै बगिरहेको बूढीगंगा नदीमा २०.२ मेघावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०५२ सालमा बूढीगंगा जलविद्युत् आयोजनाको अध्ययन सुरु भए पनि २३ वर्षसम्म समेत विस्तृत परियोजना प्रतिवेदन तयार भएको थिएन ।

२०७३ साल असार १४ गते अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीसँग १८ महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी सम्झौता भए पनि त्यसपछि पटक पटक थपिएको समयमा पनि डीपीआर तयार भएको छैन ।

परामर्शदाता कम्पनीले डीपीआर आयोजना कार्यालयलाई बुझाइसकेपछि केही सुधार गर्नुपर्ने भएकाले ढिलाइ भएको बूढीगंगा जलविद्युत् आयोजनाकी प्रवक्ता इन्जिनियर पुनम पाण्डेयले बताइन् ।

बूढीगंगा जलविद्युत् आयोजनामा साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना छ ।

समताखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *