भारतको चौकीदारी छोडेर तरकारी खेती

बाजुरा,चैत्र २९

बाजुराको बूढीगङ्गा नगरपालिका १० का देउसु साउँदले गाउँमा रहेको पाँच रोपनी बाँझो जमिनमा तरकारी खेती थालेपछि जीविकोपार्जन सहज भएको छ ।

भारतमा रहेर चौकीदारी कामले घरखर्च चलाउन नसकेका साउँदले आफूसम्म गाउँमा रहेको पाँच रोपनी बाँझो जमिनमा तरकारी खेती गरेर राम्रो कमाइ हुन थालेपछि अहिले उनलाई घर चलाउन मुस्किल छैन ।

साउँदले पाँच रोपनी जमिनमा बन्दा, काउली, मूला, रायो, टमाटरलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेर घरमै राम्रो कमाइ गर्न थालेपछि घरपरिवार पनि खुसी छ ।

भारतको चौकीदारी कामबाट घरको सामान्य गुजाराबाहेक अन्य केही कमाइ गर्न नसकेका साउँदले अहिले घरमा आएर गाउँमा रहेको बाँझो जमिनमा तरकारी खेती गर्दा मासिक लाख रुपियाँसम्म कमाइ भएको बताए । उनले भने, अहिले तरकारी खेतीबाट भएको कमाइले छोरा र छोरीलाई पढाउन र घरखर्च गर्नमा पनि सहज भएको छ ।

कामको खोजी गर्दै विदेशमा भौँतारिने यहाँका धेरै युवाले स्वदेशमा नै कृषि उद्यम गरे भने जीवन धान्न सकिने उनले बताए । उद्यम गरे भने बारीमा पनि पैसा फल्दो रहेछ । तरकारी खेती गरेर राम्रो हुन थालेपछि उनले माछा तथा सँगुरपालन पनि सुरु गर्ने योजना बनाएका छन ।

अहिले मेरो घरपरिवार पनि सुखले चलेको छ साउँदले बताए । तरकारी खेती गर्दा मैले सरकारी तथा गैरसरकारीस्तरबाट कुनै पनि सहयोग पाएको छैन । सिँचाइको समस्या छ । अहिले खेत जोत्न पनि हाते ट्याक्टर वितरण हुन्छन् ।

गाउँमा सिँचाइका ठूलाठूला योजना बन्छन् तर मैले तरकारी खेती गर्नका लागि धेरै सरकारी तथा गैरसरकारी सङ्घ–संस्थासँग तालिमको प्रास्ताव राख्दा पनि कतैबाट यो सम्भव भएन, साउँदले गुनासो गरे ।

मौसम परिवर्तनसँगै वर्षाको बेला कीरा लाग्ने र धेरै टमाटर सडेर जाने गरेको छ । हामीजस्ता धेरै कृषकले यसको व्यवस्थापन गर्न सकिरहेका छैनन् । जसले गर्दा बारीमा तरकारी सड्दा लाखाँको हानि नोक्सानी बेहोर्नु परेको छ ।

त्यसैले आफूजस्तै तरकारी खेतीमा उत्साहित कृषकलाई यसबारे केही तालिमको आवश्यकता रहेको उनले बताए । मिहिनेत गरे भने पैसा कमाउन केही समय लाग्दैन रहेछ ।

तरकारी खेतीका साथै कुखुरापालन, बङ्गुरपालन गरे भने मासिक तीन लाख रुपियाँसम्म कमाउन सकिने साउँदले बताए । स्थानीय सरकारले गाउँमा कृषिमा लाग्नेलाई केही उद्यम कार्यक्रम ल्याउनुको साटो सडकमा मात्र बजेट खर्च गरी डोजर मालिक र गाउँका अगुवालाई पाल्ने काम गरेको गुनासो उनले गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *