दासता विरुद्धको लडाइँ

काठमाडौं,बैशाख ९

बालवय घरेलु मजदूरका रूपमा बिताएकी उर्मिला चौधरीलाई कम्लरी मुक्ति अभियानप्रतिको अविचलित प्रतिबद्धताले प्रेरणाको पात्र बनाएको छ।

कम्लरी मुक्ति अभियन्ता दाङकी उर्मिला चौधरीको चर्चा त्यतिबेला चुलियो जब पूर्व कम्लरी उनले रुजभेल्ट फाउण्डेसन, नेदरल्याण्ड्सबाट अन्तर्राष्ट्रिय लरियट फ्रिडम फ्रम फियर अवार्ड– २०१८ प्राप्त गरिन् । २०६४ सालदेखि कम्लरी मुक्तिको लडाइँमा होमिएकी उर्मिलाको कार्यक्षेत्र भने यतिमा मात्र सीमित छैन ।

६ वर्षको उमेरमा दाङबाट काठमाडौं ल्याइएकी थिइन् उर्मिला, काठमाडौंको एउटा सम्भ्रान्त परिवारमा कम्लरीका रूपमा । १२ वर्षसम्म त्यही घरमा बाल मजदूरी गरेकी उनले कमैया–मुक्ति आन्दोलनका क्रममा काठमाडौं आइपुगेका आफ्नै दाइलाई टेलिभिजन समाचारमा झुलुक्क देखेपछि भने परिवारसँग टुटेको सम्पर्क जोड्न सकिन् । र, अनेकौं उपायपछि घरेलु कामदारको बर्को च्यातेर २०६३ माघमा दाङ फर्किइन् ।

२०६२र६३ को आन्दोलनले ल्याएको लोकतान्त्रिक उभारसँगै कम्लरी मुक्तिको आन्दोलन पनि चर्किएको थियो, त्यसबेला । भर्खरै खुला आकाश महसूस गर्न पाएकी उर्मिला पनि आन्दोलनमा जोडिइन् ।

“मैले स्कूल जानुपर्ने समय मजदूरी गरेरै विताउनु पर्‍यो, त्यसैले मेरो जस्तो अवस्था अरू बालिकाहरूको नहोओस् भनेर अधिकारका पक्षमा उभिएकी हुँ”, चौधरी भन्छिन् । शुरूमा दाङका केही गाउँबाट शुरू कम्लरी मुक्ति आन्दोलनको रापताप चढिरहेका बखत उर्मिला जुझारु अभियन्ताका रूपमा सक्रिय मात्र बनिनन्, अधिकारको लडाईंलाई अझ व्यापक क्षेत्रमा विस्तार गरिन् ।

१८ वर्षकी हुँदासम्म विद्यालय नटेकेकी उर्मिला कम्लरी मुक्तिको आन्दोलनमा सहभागी हुन थाल्दासम्म आफैंले बोकेका प्लेकार्ड र तुलमा लेखिएका शब्द ठम्याउन सक्दिनथिन् । उनी भन्छिन्, “त्यसपछि निकै प्रयास गरेर नाम लेख्न सिकें ।” साउँ अक्षर चिनिसकेपछि कक्षा ५ मा भर्ना भएर औपचारिक अध्ययन थालेकी उर्मिलाले २०७१ मा एसएलसी परीक्षा उत्तीर्ण गरिन् ।

नाम लेख्न सिक्ने हुटहुटीबाट शुरू भएको उनको औपचारिक शिक्षाको यात्रा अहिले कक्षा १२ सम्म पुगेको छ, जसलाई उनी अझै माथिसम्म पुर्‍याउने अठोटमा छिन् ।

थारू समुदायको कम्लरी प्रथा उन्मूलन अभियानमा सक्रियता र बालिका शिक्षाका पक्षमा वकालत गरेबापत रुजभेल्ट फाउण्डेसन, नेदरल्याण्ड्सबाट अन्तर्राष्ट्रिय लरियट फ्रिडम फ्रम फियर अवार्ड– २०१८ प्राप्त गरेकी उर्मिलाले अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू पनि पाएकी छिन् ।

फाउण्डेसनले उर्मिलालाई ‘कम्लरी जस्तो बाल दासताको प्रथा अन्त्य गर्न र बालिका शिक्षाको अधिकारका लागि प्रतिबद्ध’ भएकाले पुरस्कृत गरिएको उल्लेख गरेको छ । मलाला युसुफजाई, आनसाङ सुची, एन्जेला मर्केल जस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वले पाएको यो अवार्ड पाउने उर्मिला एक्ली नेपाली हुन् । उनले अभियन्ताका रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा पुगेर पनि बालबालिकाको स्वतन्त्रता र अधिकारको पक्षमा आवाज उठाएकी छन् ।

उर्मिला पछिल्लो समय राष्ट्रिय–अन्तर्राष्ट्रिय ‘लाइमलाइट’ मा छिन् । यद्यपि, उनीभन्दा अगाडि र उनीसँगै कैयौं साहसी र प्रभावशाली अभियन्ताहरूले यो अभियानको नेतृत्व गर्दै, उर्मिलालाई साथ दिंदै आएका छन् ।

त्यस्तै कम्लरीहरूको पक्षमा काम गर्ने संस्थाहरूको पनि महत्वपूर्ण भूमिका छ । यस्तै संस्था र अभियानकर्मी सहभागी आन्दोलनको लहरमा सक्रिय हुँदै अगाडि आएकी हुन्– उर्मिला, जसले हजारौं कम्लरीलाई जुगौं पुरानो दासत्वको बन्धनबाट निस्किएर खुला मैदानमा पाइला राख्न सिकाएको छ ।

मुक्त कम्लरी स्वतन्त्रता अभियानकै कारण करीब १२ हजार कम्लरीहरू मुक्त भएका छन् । सानैदेखि अर्काको घरमा मजदूरको रूपमा काम गर्न बाध्य उर्मिलाहरूले चलाएको आन्दोलनको बलमा नेपाल सरकारले १३ असार, २०७० मा कम्लरी मुक्तिको घोषणा गरेको छ ।

मुक्त कम्लरी विकास मञ्चको पूर्व अध्यक्ष समेत रहेकी उर्मिलाको अभियानको क्षेत्र विस्तार हुँदै अहिले मुक्त कम्लरीहरूको जीविकोपार्जन, बालअधिकार र महिला स्वतन्त्रतासम्म पुगेको छ । सामुदायिक जागरुकता, क्षमता विकास तथा जनचेतना अभिवृद्धि कार्यक्रमका लागि पनि उनी प्रयत्नशील छिन् ।

कम्लरी मुक्ति अभियानको प्रभावकारिताबाट उत्साही उर्मिला पूर्व कम्लरीहरूको जीवनयापन नसुध्रिएकोमा भने चिन्तित छन् । उनी भन्छिन्, “पूर्व कम्लरीलाई शिक्षामा छात्रवृत्ति, बेपत्ता कम्लरीको खोजी, अविवाहित आमा बनेका कम्लरीलाई न्याय लगायतमा सरकारले गरेको सम्झौता कार्यान्वयन भएको छैन, त्यो पाटोमा अझै धेरै गर्न बाँकी छ ।” हिमालखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *