बालबालिका नै अभियन्ता

ध्रुव बीसी अछाम,बैशाख १३

बालविवाह अन्त्यका लागि अछामको रामारोशन गाउँपालिकाले बालबालिकाको सञ्जाल विस्तार गरेको छ । सञ्जालमा गाउँपालिकाका सातवटै वडाका बालबालिका सदस्य छन् ।बालविवाह अन्त्यका लागि बालबालिकालाई नै अभियन्ताका रूपमा अगुवा बनाइएको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले बताए ।

बालविवाह अन्त्यका लागि उनीहरूकै संलग्नतामा सञ्जाल विस्तार गरिएको छ । ‘बालविवाह अन्त्यका लागि बालबालिकालाई नै अघि नसारेसम्म उपलब्धि हुने देखिएन,’ अध्यक्ष साउदले भने, ‘लामो समयदेखिको हाम्रो प्रयासले मात्र बालविवाह रोकिएन । अब बालबालिका नै अभियन्ताका रूपमा अघि सरेपछि बालविवाह नरोकिने त कुरै भएन ।’

चाफामाण्डौको नेपाल राष्ट्रिय माविमा अध्ययनरत कृष्ण देवकोटाको अध्यक्षतामा सञ्जाल गठन गरिएको छ । उपाध्यक्षमा बाटुलासैनको सरस्वती माविका पवित्रा खनाल, सचिवमा मालतीकोटको पिंगला माविका दमयन्ती परियार, सह—सचिव भटाकाटियाको पूर्णचन्द्र माविका लोकेश साउद र कोषाध्यक्षमा सुतारको विन्देश्वरी माविका चन्द्र भण्डारीलाई चयन गरिएको छ ।

१३ सदस्यीय सञ्जालमा गाउँपालिकाका सातवटै वडाका आठवटा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई पदाधिकारीका रूपमा राखिएको छ । उनीहरू यसअघि प्रत्येक विद्यालयमा सञ्चालन गरिएको ‘बालविवाहविरुद्ध म बोल्छु’ अभियानअन्तर्गत ‘स्पिच कम्पिटिसन’मार्फत छनोटमा परेका २८ जनामध्येका उत्कृष्ट विद्यार्थी हुन् ।

अध्यक्ष साउदका अनुसार प्रत्येक विद्यालयमा चाररचारजनाको सञ्जाल यसअघि नै गठन गरिएको थियो । त्यसयता विद्यालयस्तरका सञ्जालले अहिलेसम्म १६ वटा बालविवाहविरुद्धका गाउँपालिकामा उजुरी दर्ता गराएको नवगठित सञ्जालकी उपाध्यक्ष पवित्रा खनालले बताइन् । उनका अनुसार रामारोशनमा अहिले पनि एउटा वडामा हरेक हप्ता दुईरतीनवटा बालविवाह हुने गरेका छन् । जसको अन्त्यका लागि अभिभावक र बालबालिकालाई परामर्श गर्ने, सचेत पार्ने, चेतावनी दिने र त्यति गर्दा पनि नमाने उनीहरूविरुद्ध गाउँपालिकामा उजुरी दिने योजनाका साथ सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष कृष्ण देवकोटाले बताए । नयाँपत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *