डा. विष्णुमाया परियारले भोगेको विभेदको व्यवाहारिक पाटो

काठमाडौं,वैशाख १९

‘यदि म दमाईको छोरी भएर नजन्मिएको भए अहिले यो ठाउँमा हुने थिइँन’, विश्वभर चर्चामा रहेकी स्थापित नेपाली चेली डा. विष्णुमाया परियारले भनिन् ।

अमेरिकाको न्युजर्सीका मेयरको सल्लाहकार रहेकी परियार जे छिन् हिजो भोगेको विभेदको परिणाममा छिन् । तर हरेक महिला विष्णुमाया बन्ने अवस्था छैन, अहिले । त्यसैले सामाजिक संस्था मार्फत दलित महिलाहरूको उत्थानका निम्ति खटिइरहेकी छन् ।

उनमा पढ्ने औधी रहर, साथीभाईले गरेका व्यवाहार, दलित परिवारमा जन्मिएका कारण पाएका विभेदका चस्काले अघि बढ्न सहयोग गर्यो । र, उत्प्रेरणा उनका बाबु रूपबहादुर परियारले दिएको उपदेशले ।

‘हामीले छोएको पानी किन चल्दैन ? हामीलाई किन दलित भनिन्छ ? यस्तो छूवाछुत किन हुन्छ ?’ गोरखाको गाउँमा स्कुलतिर जाँदै गर्दा बाबुलाई उनले सोध्ने गर्थिन् ।

विभेदपूर्ण जीवन बाँचीरहे पनि सामाजिक काममा अब्बल रहेका बाबु रूपबहादुर विष्णुमाया कन्भिन्स हुनेगरी जवाफ दिन्थे,‘अध्ययन गर्नुपर्छ । पढीलेखी राम्रो मान्छे बन्नपर्छ, विभेद हुँदैन । दलित भनेर हेय गर्दैनन् ।’

स्व अध्ययन गरी विभेद, राजनीति र समाजबारे बुझेका बाबु रूपबहादुरको उक्त जवाफले विष्णुमायामा अध्ययनको भोक जाग्नु स्वभाविक थियो । उनी स्कुलमा अब्बल हुन थालिन् ।

‘आठ कक्षामा पढ्दा एक जना अमेरिकी शिक्षकले मलाई अझ राम्रोसँग पढ्नका लागि प्रेरणा दिए । म काठमाडौं पनि पढ्नका लागि आउने भएँ’, उनी विगत कोट्याउँछिन्,‘ति शिक्षक अमेरिका फर्किए मलाई अध्ययनका लागि खर्च पठाउँथे ।’

खर्च पठाए पनि काठमाडौंमा आएपछि उनले त्यो रकम हात पारिनन् । उनलाई अध्ययन, बस्न र खानका लागि सकस हुन थाल्यो । जो मार्फत पठाउँथे, त्यसले उनका हातमा पुराउँदैनथ्यो । यसबीच पनि उनले निक्कै कष्टसँग अध्ययन जारी राखिन् ।

‘गार्भेन्टमा काम गर्नेहरूका लागि खाना पकाएर जीविकोपार्जन हुन्थ्यो । निक्कै समस्या भएपछि एक दिन साथीको फोनबाट ति अमेरिकी शिक्षकलाई फोन गरें समस्या सुनाएँ’, उनी सम्झन्छिन्,‘त्यसपछि अमेरिकी महिलाको हातबाट मलाई पैसा आउन थाल्यो ।’

परियारका संघर्षका दौरान यतिमा सकिँदैनन् । पैसा आउन थालेपछि काठमाडौंमा डेरा गरी बसेकी उनी दलित भएको थाहा पाउँदा घरबेटीले हटाए ।

‘बुवा बिरामी भएर काठमाडौं अस्पतालमा ल्याउँदा विष्णुमाया परियार भनेर खोज्दै गाउँबाट मान्छे आए त्यसैबेला घरबेटीले चाल पाउनासाथ म त्यहाँबाट लखेटिएँ ।’

करिब–करिब उच्च अध्ययनका लागि उनी तयार थिइन् । दलित हुनुको कारण हुने विभेदको व्यवाहारिक शिक्षा पनि पाउँदै थिइन् । गैर सरकारी संस्थामा जागिर पाइन् । एउटा कार्यक्रममा काम गर्नेगरी उनी तराई पुगेकी थिइन् । त्यहाँ दलितका नाममा कसरी झूठा विवरण तयार पारिन्छन् भन्ने पनि देखिन् ।

जागिर गर्ने क्रममा आफ्नै साथीहरूबाट पनि उनी अपहेलित भएको महसुस छ । ‘कुनै साथीको जन्मदिन मनाउँदा मलाई अलग्गै खाने चिजदेखिका व्यवस्था गर्ने व्यवाहार भयो’, उनले सम्झिन्,‘यस्ता विभेद धेरै भोगियो जीन्दगीमा । खाना खाएको ठाउँ लिप्नुपर्ने, हामीले खाएको भाडा घाममा सुके पनि फेरि धुनुपर्ने..अनेक छन् ।’

जीवनमा जसले हन्डर खान्छ, उसका लागि भगवानले अवसरको द्वार पनि खुला राखेको हुन्छ । परियार यता संघर्ष गर्दै थिइन्, उता उनका लागि अवसरको ढोका खुल्दै थियो ।

अमेरिकाबाट अध्ययन र शोधका लागि आउने विद्यार्थी मध्ये एउटी साथीका अभिभावकले उनको तिक्ष्णता देखेपछि अमेरिका बोलाए । कागजपत्र बनाइदिए, परियार अमेरिका पुगिन् । अमेरिकी भूमी टेकेको २० बर्षमा उनी अहिले नेपाली समाजमा फरक परिचयमा चिनिन्छिन् ।

उनको बौद्धिक, आर्थिक र सामाजिक सम्पत्तिमा देखिएको बढोत्तरीले त्यहि समाजको व्यवाहारमा धेरै परिवर्तन आएको छ ।

‘अहिले गाउँमा हामीलाई हेर्ने दृष्टिकोण फरक छ । तर, मेरै काका बडाबा या अन्य आर्थिक अवस्था सामान्य रहेका परिवारलाई हेर्ने दृष्टिकोणमा कति परिवर्तन आयो र !’, उनी आफैंसँग पनि बेलामौका यहि प्रश्न गरी घोत्लिन्छिन् । यसैकारण दलित महिलाको उत्थानका निम्ति उनको सक्रियता अझ तिव्र छ ।

एउटा मात्र जात मानवता, एउटामात्र धर्म प्रेम, एउटा मात्र भाषा मुटुको हुनुपर्छ भन्ने मानक स्थापित गरेका थिए सत्य साईले । नेपाली  समाजदे यो मानकप्रति घोत्लिने प्रयास गरेको छैन । विभेद अन्त्य हुन के गर्नुपर्छ ? विष्णुमाया ठान्छिन्,‘शिक्षा, विचार र व्यवाहारमा परिवर्तन आउनुपर्छ । जबसम्म मथिङ्गलमा स्थापित भएको विभेदकारी विचारको अन्त्य हुँदैन, जातीय विभेद कायम रहन्छ । यसको परिवर्तन आवश्यक छ ।’

को हुन् आजकी विष्णुमाया ?

४० वटा भन्दा बढी अन्तर्राष्ट्रिय अवार्ड जितेकी विष्णुमाया परियार न्युजर्सीका मेयरकी सल्लाहकार हुन् ।

सोही कारण उनको पहलमा न्युजर्सी सहरको सिस्टर सिटीका रूपमा नेपालको इन्द्रावती घोषणा गरिसकिएको छ । एकआपसमा सौहार्दताका साथ विकासलगायत अन्य सामाजिक पक्षमा अमेरिकी सहरसँग सिधा हातेमालो गराउने कसी हुन्, विष्णुमाया ।

उनी समाज परिवर्तनमा विश्वास राख्छिन् । विकास र सामाजिक कार्यकर्ता हुन् । नेपालका दलित महिला र बालबालिकाको उत्थानका निम्ति काम गरिरहेकी छन् । उनी ठान्छिन्, ‘परिवर्तन सम्भव छ । र, हामी सबै परिवर्तनका संवाहक बन्नुपर्छ ।’

दैनिकनेपालबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *