
जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जागृत गर्ने उद्देश्यले ४६ दिनअघि महाकालीको दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई सिरहाको लहानमा भव्य स्वागत गरिएको छ । १३०औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बुधबार लहान आइपुगेको पदयात्री टोलीलाई लहानस्थित सहिद रमेश महतो चोकमा अबिर दलेर सम्मान गरिएको हो । पदयात्रा टोलीका पत्रकार तथा सामाजिक अभियन्ता अशोक दर्नाल, रीता परियार तथा होमराज आचार्यलाई हरवा–चरवा अधिकार मञ्च सिरहा र विभिन्न मजदुर संघ–संस्थाका अगुवाले सम्मान गरेका हुन् ।
१३ लाख २३ हजार १३ पाइला
पदयात्राकी अभियन्ता रीता परियारले जातीय छुवाछुत विरुद्धको अभियानमा सिरहामा पाएको न्यानो स्वागतले अझ ऊर्जा थपेको बताइन् । ‘तराईको चर्को गर्मी र हिँडाइले थिलथिलो भएको शरीरमा लहानले गरेको स्वागतले थप ऊर्जा दिएको छ’ उनले भनिन् । ३ चैत ०७५ मा मुलुकको पश्चिमी सीमा दोधारा–चाँदनीबाट थालिएको पदयात्रा लहानसम्म आइपुग्दा १३ लाख २३ हजार १३ पाइला हिँडिएको पदयात्री अशोक दर्नालले बताए ।
‘एक किलोमिटरको १४ सय पाइलाको हिसाबले लहानसम्म आइपुग्दा नौ सय ४५ किलोमिटर हिँडेका छौँ’ उनले भने । पदयात्राका क्रममा ७५ दलित बस्तीमा पुगेको उनले बताए । यसक्रममा टोलीले सात हजारसँग जातीय छुवाछुत तथा भेदभावविरुद्ध प्रत्यक्ष संवादसहित ६५ हजारजनालाई जातीय छुवाछुतविरुद्धका जनचेतनामूलक सामग्री वितरण गरेको छ ।
‘दलितको प्रयासले मात्रै छुवाछुत अन्त्य हुँदैन’
गैरदलित समुदायको भए पनि आफू सानैदेखि सामाजमा जातीय विभेद, छुवाछुतविरुद्ध लागेको अर्का पदयात्री होमराज आचार्यले बताए । ‘परिवारको प्रेरणाले म यो अभियानमा लागेको हुँ,’ आचार्र्यले भने, ‘जातीय छुवाछुतको अन्त्य दलित समुदायको प्रयासले मात्र सम्भव हुँदैन । समाज विकासको बाधकका रूपमा रहेको जातीय विभेद अन्त्यका लागि सबै जात, समुदाय जागरुक बन्नैपर्छ ।’
पदयात्राका क्रममा एक दर्जन गाउँपालिका, तीनवटा उपमहानगरपालिका र ८१ वटा नगरपालिका छिचोलेर लहान आइपुगेको सुनाउँदै दर्नालले भने ‘२५ वैशाखसम्म नेपालको पूर्वी सिमाना झापाको काँकडभिट्टा पुगेर पदयात्रा समापन गरिनेछ ।’
नयाँपत्रिकाबाट
Leave a Reply