तरकारी खेतीबाट मनग्य आम्दानीगर्दै रामपुरका युवा

चितवन,बैशाख १९

वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।

रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी खेती शुरु गरेको दिलबहादुर थापाले बताए । “झण्डै एक दशक जति विदेशमा बसियो, अर्काको देशमा काम गर्न त्यति सहज छैन, गाउँमै बसेर तरकारी लगायो भने विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भने।

तरकारी खेती गर्न थालेको एक वर्ष भयो विभिन्न कृषिजन्य सामग्री अनुदानमा पनि पाइरहेको हुँदा व्यवसायमा झन हौसला बढेको थापाको भनाइ छ । अहिले गोलभेँडा, काँक्रा, सिमी, गाजरको उत्पादन शुरु भएको छ । बजार नजिकै भएको हुँदा बिक्री गर्न युवालाई सहज परेको छ ।

घरपरिवार, साथीभाइ, आफन्तको साथमा रहेर गाउँमा कृषि व्यवसाय गर्न पाउँदा आनन्दको अनुभूति भइरहेको लालबहादुर थापा बताउछन् । उनी पनि करीब आठ वर्ष जति विदेशमा बसे। विदेशको भोगाइले गाउँमै बसेर तरकारी खेती गर्ने मोह जगाएको उनी बताउछन् ।

“विदेशमै लामो समय बिताइयो अहिले पछुतो लागिरहेको छ, विदेश जानुभन्दा अघि नै यहीँ बसेर तरकारी व्यवसाय गरेको भए अहिले ठूलै व्यवसायी भइँदो रहेछ”, थापाले भने। तरकारी व्यवसायबाट राम्रो आम्दानी हुँदै जान थालेपछि जग्गा बढाएर व्यवसायलाई अगाडि बढाउने युवाको सोच छ । यहाँका दुई युवाले शुरु गरेको यो व्यवसाय रामपुर नगरपालिकाकै नमूना व्यवसायका रुपमा चिनिएको छ ।

बाँझो रहेको जमीनलाई सदुपयोग गर्दै युवाले तरकारी लगाएर हराभरा पारेको देख्दा छिमेकी दङ्ग छन् । वार्षिक रु ३० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका हुन् । युवाले गरेको व्यवसायलाई प्रोत्साहनस्वरुप रामपुर नगरपालिका–४ को कार्यालयले थोपा सिँचाइका लागि पाइप, तरकारीको बीउबीजन, स्प्रेलगायतका सामग्री प्रदान गरेको वडाध्यक्ष एकबहादुर नेपाली बताउछन्।

“दुई युवाले विदेशबाट फर्केर अहिले गाउँमा नमूनाका रुपमा व्यावसायिक तरकारी खेती गरेको देख्न पाउँदा खुशी लागेको छ, व्यवसायमा वडा कार्यालयले विभिन्न सहयोग गर्दै जानेछ”, अध्यक्ष नेपालीले बताए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *